
केपी ओली समुहमा रहेका रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट र टोपबहादुर रायमाझी मन्त्रिपरिषद्बाट हट्ने संकेत देखिएको छ ।
जनवर्गीय संगठनमा उत्पन्न पदाधिकारी चयनको विवाद समाधानमा हालसम्म ओली गम्भीर नभएको र यस्तै अवस्थाले निरन्तरता पाइरहे सरकार छोड्नुपर्ने विकल्पबारे तीव्र छलफल भइरहेको उनीहरु निकट स्रोतले बतायो।
पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै नेकपाका एक अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा एउटा समूह ओलीबाट अलगिएको थियो।
त्यसलगत्तै ओलीले माओवादी पृष्ठभूमिका रायमाझी, मणीचन्द्र थापा, प्रभु शाह, गौरीशंकर चौधरीलाई मन्त्री बनाएका थिए। विवाद चुलिएपछि रायमाझीसँगै भट्ट र बादलबीच ओलीको दूरी बढ्दै गएको स्रोतले बतायो। तर मणिचन्द्र थापा, शाह र चौधरी भने ओलीलाई नछाड्नेमा दृढ रहेको बुझिएको छ।
ओली पक्षले एकलौटी नियन्त्रण गरेको र पूर् माओवादी समूहलाई कुनै स्थान नदिएको भन्दै विवाद बढेको हो। स्रोतले भन्यो,‘जनवर्गीय संगठनमा उत्पन्न विवाद समाधान हुने सम्भावना निकै न्यून छ। विवाद समाधान नभए बादल, भट्ट र रायमाझी सरकारबाट बाहिरिने सम्भावना देखिएको छ। तर दुई पक्षीय छलफल भने भइरहेको छ।’
यसअघि उपप्रधानमन्त्री भइसकेका रायमाझी एक तह झरेर मन्त्री बनेपनि ओली समूहमा अपेक्षाकृत सम्मान नपाएपछि असन्तुष्ट बनेको स्रोतले बतायो।
मन्त्री बनेदेखि ओलीले निर्धारण गरेका पार्टीका कार्यक्रममा मात्रै भाग लिन परेको र त्यहाँ पनि आफूलाई सम्मानजनक उपस्थिति नगराइएको भन्दै रायमाझी असन्तुष्ट बनेका छन्।
माघ २३ गते ओलीद्वारा आयोजित नारायणहिटी दरबार संग्रहालय अघिको विरोधसभा मञ्चमा रायमाझीले बस्ने कुर्सीसमेत नपाएको गुनासो आफू निकट नेताहरुलाई गरेका छन्।







