आज नाम्लोको सिरानी हालेर सडकपेटीमा
सुतिरहेको भोको सुर्यबहादुरको
हत्या गर्न लडेका थिएनन्
मेरा बा !

निर्मला, भागिरथी र सम्झनाहरुको
बलात्कार गर्ने व्यवस्था ल्याउन
लडेकी थिइनन्
छिमेकी दिदी सन्तमाया तामाङ !

प्रेम गरेकै कारण नवराज विकहरु
मारिने अवस्थाको निर्माण गर्न
सहिद भएका थिएनन्
पल्लो गाउँको बर्जबहादुर सार्की पनि !

युवाहरुलाई देश छोडाउनको निम्ति
संसार छाडेका थिएनन् उनीहरुले
तिम्रा सन्तानलाई ब्रान्डेड स्कुल पठाएर
आफ्नालाई गिट्टी कुट्न पठाउन
लडेका थिएनन् उनीहरु

मेरा बा, सन्तमाया अनि बर्जबहादुरहरु
लडेका थिए त
सामन्तीको किल्ला भत्काउन
लडेका थिए
जातीय अहंकारमा उम्लिएकाहरुलाई
तह लगाएर समानताको एउटै विस्कुनमा
पछार्न लडेका थिए
हलो समाउने हत्केलोमा फूल फुलाउन
अनि
उपचारकै अभावमा छट्पटीएकाहरुको
घाउमा मलम लगाउन
लडेका थिए
मेरा बा, सन्तमाया अनि बर्जबहादुरहरु ।।।

तर तिमीले त प्रयोगशाला बनाएछौ
उनीहरुको भावनालाई
उनीहरुको उर्जाशील जवानीलाई
र प्रवेश गरेछौ तिमी आफैं
त्यो सामन्तीको किल्लाभित्र
पोतिदिएर हलो समाउनेहरुको
हत्केलामा रगतका रङ्गहरुले

ओ शासक हो
ओ शोषक हो
हिजो मेरा बाहरुले गणतन्त्र भन्दैगर्दा
तिमीहरु
कोहि शहरमा बसेर मुठी बटार्दैथियौ
कोहि गाउँगाउँमा धम्किका तोपहरु पड्काउँदै थियौ
त कोहि दिल्लीमा हिसाबकिताब मिलाउँदै

आज सत्ताको प्यासले निथ्रुक्क छौ तिमी
शक्तिको उन्मान्दले मात्तिएका छौ तिमी
अनि धनको थुप्रोले पनि सगरमाथा चुम्नै लागिसक्यो
त्यसैले होला
तिमीलाई कसैको मतलब छैन

तर अब तिम्रो मातलाई तह लगाउन
सडकमा निक्लिएका छन्
उही बर्जबहादुर अनि सन्तमायाका सन्तानहरु
बोकेर विचारका बम
लिएर हत्केलामा कलमका भालाहरु
अनि मुसार्दैछन् बिद्रोही पैताला
कुल्चिन तिम्रा हुकुमी भाषालाई

हो, निक्लिएका छौँ हामी
शोषकहरु विरुद्धको यो लडाइँमा
जहाँ जित्नेछौँ हामीले
ढाल्नेछौँ तिम्रा अहंकारको धरहरा
बाल्नेछौँ देशैभरी समानताको दियो
र छर्नेछौँ बर्जबहादुरहरुको
घरका कुनाकुनामा पनि समृद्धिका किरणहरु

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार