
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउँदै वार्ता आह्वानको तयारी गरेको छ ।
महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको बताएका थिए ।
विप्लवको विज्ञप्तिपछि प्रधानमन्त्री र गृहमन्त्रीले चासो दिएको र वार्ताका लागि सकारात्मक रुपमा अघि बढ्ने संकेत गरेको गृहमन्त्रीनिकट स्रोतले बतायो । यसबारे गृहले आन्तरिक गृहकार्य सुरु गरेको बताइएको छ ।
गृहमन्त्रीनिकट स्रोतले भन्यो, “सम्भवतः छिटै विप्लव नेकपामाथिको प्रतिबन्ध हट्छ । गृहमन्त्रीज्यूले क्याबिनेटमा प्रस्ताव लैजाने कुरा छ । प्रतिबन्ध हटाएर वार्ताको वातावरण बनाउने र अरु कुरा संवादमार्फत अघि बढाउने कुरामा प्रधानमन्त्री र गृहमन्त्री दुवै सकारात्मक हुनुहुन्छ ।”
विप्लव नेकपानिकट स्रोतका अनुसार सरकारले वार्ता टोली गठन गरेपछि आफूहरुले कसको नेतृत्वमा समिति गठन गर्ने भन्नेबारे टुंगो लाग्ने बताइएको छ । सरकारले तल्लो तहको वार्ता समिति गठन गरेको अवस्थामा प्रकाण्डबाहेकको टोली बन्ने बताइएको छ ।







