
सरकार र विप्लव नेतृत्वको नेकपाबीच बुधबार नै दुई चरणको वार्ता भएको छ ।
सरकारी टोलीले वार्ता सकारात्मक रुपमा अघि बढेको बताए पनि विप्लव नेकपाको वार्ता टोलीले भने कुनै प्रतिक्रिया दिएको छैन ।
मंगलबार बिहान बालुवाटारमा पहिलो चरणको र साँझ दोस्रो चरणको वार्ता भएको थियो । सरकारी वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराई छन् भने विप्लव नेकपा बाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने छन् । दुवै पक्षबाट मंगलबार वार्ता टोली गठन गरिएको थियो ।
वार्ताका क्रममा गृहमन्त्री थापाले विप्लव नेकपालाई तत्काल हतियार राज्यलाई बुझाउन आग्रह गरेका थिए । गृहमन्त्रीको भनाई उद्धृत गर्दै विप्लव नेकपाका एक नेताले भने,“बादलले तत्काल हतियार बुझाउन भन्नुभयो । हाम्रो टोलीले हतियार भए पो बुझाउनु भन्ने प्रतिक्रिया दियो ।”
वार्ताका क्रममा बादल निकै कम बोलेका थिए, भट्टराई नै बढी सक्रिय रहेको बताइएको छ ।
वार्ता निरन्तर जारी रहने बताइएको छ । वर्तमान केपी ओली नेतृत्वको सरकारले नै ०७५ फागुन २८ गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थियो ।







