सरकारले विप्लव नेतृत्वको नेकपामाथि राजनीतिक गतिविधि गर्न बन्देज गर्ने गरी लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेकपासँग भएको सहमति अनुसार नै प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र विप्लव नेकपाको वार्ता टोलीबिच भएको सहमति अनुसार प्रतिबन्ध फुकुवा गरेको  खानेपानी मन्त्री मणि थापाले जानकारी दिए ।

बैठकले सरकारी पक्ष र विप्लव नेकपाबीच भएको तीन बुँदे सहमतिलाई पनि अनुमोदन गरेको उनले जानकारी दिएका हुन् ।

यसैगरी सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न आजै निर्देशन भइसकेको छ, अन्यको हकमा सहजीकरण हुन्छ ।’

मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव नेकपाका तेस्रो वरियताका नेता धमेन्द्र बास्तोलालाई शुक्रबार रिहा गर्ने तयारी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार