ढिलैभएपनि अदालतले हजुरहरुको पक्षमा फैसला गरिदिएको छ, यसलाई कसरी लिनुभएको छ ?

खै मैंले सबै फैसला हेरेको पनि छैन् । म त एकजना साथीकोमा थिएँ त्यहीं थाहा पाएँ । एउटै नाम जुधेर आएकाले बदर गरिपाउँ भनेर भनेको हुँ । अदालतमा साथीहरु जानुभएको थियो । पुरानो एमाले र पुरानो माओवादी केन्द्र कायम रहने भयो भनेर फैसला भयो रे भन्ने थाहा पाएको हुँ ।

अबको राजनीतिक निकास कसरी लिनुपर्ला ?

यसको निकास भनेको पार्लियमेन्ट्री डेमोक्रेसी जो भनिएको छ यसबाट यो देशमा विद्यमान संकटको निकास आउँदैन् । अहिलेका नेताहरुले देश र जनताको बारेमा सोच्दैनन् । गुट बनाउने र आफू खाने मात्र हुन् । यसलाई कन्ट्रोल गर्ने प्रणाली छैन् । भएजति सबै संवैधानिक निकायलाई आफ्नो भागवण्डामा चलाएका छन् । यीनिहरु ‘असनका साँढे’जस्ता भएका छन् । यीनिहरुलाई जनताले पनि सजाय गर्न सकेका छैनन्, ठूला सबै नेतालाई जेल हाल्नुपर्ने हुन्छ ।

यदि ओली-प्रचण्डहरुले तपाईंलाई सँगै मोर्चावन्दी गरेर अघि बढौं भनेर अफर गरे भने के गर्नुहुन्छ ?

यो चाहीं काल्पनिक कुरा भयो । यी प्रतिक्रियावादीमा पतन भएकाहरुसँग सँगै अघि बढ्न सकिन्न । यीनिहरुलाई नेता मान्नै सकिन्न । यदि उनी(ओली-प्रचण्ड)हरु पार्टी सदस्य पाउँ भनेर आवेदन दिनुपर्छ ।

तपाइँको पार्टीको अबको मार्गचित्र वा रणनीति के हुन्छ ?

हामी सडकमा नै छौं । बैकल्पिक व्यवस्थाको खोजीमा छौं । संसदवादीहरुले संसदमा नाटक मन्चन गर्लान, हाँसखेल गर्लान त्यसका विरुद्धमा हामी अडिक छौं । अब विकल्पका लागि सडकबाटै भनिरहेका छौं–एउटा संघर्ष, एउटा क्रान्ति, एउटा जनविद्रोहबाट मात्र निकास निकाल्नुपर्छ भनेर । अहिलेको अवस्थामा चुनाव कसरी लड्ने ? यो व्यवस्थाबाट चुनाव लड्नै नसक्ने अवस्था छ । करोडौं पैसा चाहिन्छ निष्ठा र आदर्शले चुनाव जित्दैन । कालोबजारी र तस्करहरुले चुनाव जित्छन् तर निष्ठा र आदर्शको पराजय हुन्छ । त्यसैले व्यवस्था परिवर्तन हाम्रो मूल रणनीति हुन्छ ।

नेकपाका अध्यक्ष ऋषि कट्टेलसँग हाम्रा कुरा अनलाइनले गरेको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार