
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेकपाले जिते आफुहरु पछि लाग्न तयार रहेको बताएका छन् ।
बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा जनयुद्धका सहिद भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता अनिल शर्मा ‘विरही’ले ‘‘शास्त्रार्थ’ गरौँ जसले जित्छ त्यसलाई मानौँ’ भन्ने भनाइलाई लिएर अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले शास्त्रार्थका लागि आफू तयार भएकोे बताए।
‘म शास्त्रार्थका लागि तयार छु, यत्ति भन्न चाहन्छु अहिले’, प्रचण्डले भने, ‘कति दिन बस्नु पर्ने हो, इमान्दारिकताका साथ बसौँ। तपाईंहरुलाई लाग्या होला सबै मैले गुमाइदियो भन्ने। तपाईंहरुले जित्नु भयो भने म पछि लाग्छु।’
उनले आफूले गरेका राम्रा काम र गर्न खोज्दा खोज्दै पनि नभएका कामबारे बुझिदिन आग्रह गरे।
आफू पहिलोपटक प्रधानमन्त्री भएपछि क्याबिनेटको पहिलो निर्णय जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद बनाउने भए पनि राज्यले दबाएको भन्दै उनले यसबारे बोल्न समेत आग्रह गरे।
उनले संविधान बनाउने बेला संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामा आफूले नोट आफ डिसेन्ट राखेको स्मरण गर्दै उनले त्यसलाई भुल्न नुहने बताए।
उनले पछिल्लो आफ्नो लडाईं पनि संसदका लागि मात्र नभएको बताए।
‘अहिले पनि संसदका लागि मात्रै लड्यो भन्ने तर्क तपाईंहरुले गर्नुभयो। संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, उत्पीडित वर्गको जेजति अधिकार प्राप्त भएको छ त्यसलाई निरंकुश बुटले कुल्चन खाज्नेविरुद्धको विद्रोहका रुपमा किन मान्नुहुन्न?’, प्रचण्डले प्रश्न गर्दै भने।
माक्र्सवादले तुलनात्मक रुपले हेर्न हुन्न भनेर नभनेको उनको भनाइ थियो।
उनले माक्र्स, एंगेल्स, माओ सबैले सामन्ती निरंकुश राजतन्त्रभन्दा संवैधानिक राजतन्त्र, संवैधानिक राजतन्त्रभन्दा बुर्जुवा गणतन्त्र र बुर्जुवा गणतन्त्रभन्दा समाजवादी गणतन्त्र प्रगतिशील हुन्छ भनेको उल्लेख गरे। उनले भएको उपलब्धिलाई स्वीकार नगरेर एक्लै बसेर हुन्छ त भन्ने प्रश्न समेत गरे।
‘अलिकति भएको उपलब्धिलाई पनि केही पनि होइन भनेर एक्लै बसेर हुन्छ त’, उनले प्रश्न गरे, ‘हुन्छ भने म शास्त्रार्थ गर्न तयार छु, पूर्वीय दर्शनको शास्त्रार्थमा प्रवेश गरौँ, हप्ता १० दिन जति लाग्छ शास्त्रार्थ गरेर निष्कर्ष निकालौँ। तपाईंहरुसँगै वैज्ञानिक समाजवादका निम्ति लड्न तयार छ।’
उनले आफूहरु सबै एकै ठाउँमा आउनुको विकल्प नभएको बताए। नेपालखबरबाट ।







