अहिले सत्तासीन नेकपा फुटाएर सत्ताबाट, सरकारबाट र सदनबाट कम्युनिस्टहरुलाई हटाउन लागे, माओवादी पनि फुटिहाल्यो, हुँदाहुँदा धेरै अघिदेखी नफुटेर देशको सबैभन्दा ठूलो पार्टी बनेको एमाले पनि फुट्नै लाग्यो आदि-इत्यादि भनेर जनता-कार्यकर्ता अत्यन्त चिन्तित छन् ।

साथै, अब आउने चुनावमा त काङ्ग्रेस, जसपा, राप्रपाजस्ता प्रतिकृयावादी, दलाल र प्रतिगामी शक्तिहरुले जित्लान् र शोषण, दमन र अत्याचार चर्काउलान्, राजा ज्ञानेन्द्र र राजतन्त्र फर्काउलान् र देशैं भारत-अमेरिकाका पोल्टामा पार्लान् भनेर पनि धेरै सन्ताप मानिरहेको अवस्था छ ।

यसैगरी, यस्तो अति भएपछी त कम्युनिस्टहरु पनि समाप्त हुन्छन्, क्रान्ति पनि हुँदैन र देशैं पनि रहँदैन कि भनेर पनि धेरै शोकसन्तप्त भएको स्थिती समेत छ भने साम्राज्यवादी, विस्तारवादी र प्रतिक्रियावादी शक्तिहरु र तिनका दलालहरु भने कम्युनिस्टहरु सिद्धिन लाहेको ठानेर हर्षोल्लास मनाइरहेका छन् । तर, सत्य के हो भने शोषण, दमन, अन्याय, अत्याचार र असमानता रहेसम्म कम्युनिस्ट सिद्धिने कुरा त प्रतिक्रियावादीहरुको मृगतृष्णा र आत्मरती मात्रै हो । सत्ता, सरकार, सदन र यिनको सेरोफेरोबाट हटाएपछि यी कम्युनिस्टहरु सिद्धिन्छन् भन्ने पनि होइन ।

बरु क्रान्तिकारीहरु त पुरानै प्रतिक्रियावादी सत्ता, सरकार र सदनमा गएपछि वा जाने सम्भावना भएपछि पो बिग्रिएर सकिन्छन् र सकिएका छन् र यहाँ पनि अहिले यही भैरहेछ अर्थात् सिद्धिने प्रकृयामा छन् ।यदि यी कम्युनिस्टहरु सच्चा कम्युनिस्ट नै हुन् भने र यिनीहरु सत्ताको सेरोफेरोमा भएनन् भने त यिनीहरु सडकमा र संघर्षमा जान बाध्य हुन्छन् अनि त यी खारिन्छन्, सुदृढ हुन्छन् र सबल हुन्छन् । तत्पश्चात बल्ल यिनले क्रान्ति गर्छन् र साम्राज्यवादी, विस्तारवादी र प्रतिकृयावादी लगायतका शक्तिहरुको लूटको स्वर्ग ध्वस्त पार्छन् ।

हो, एउटा कुरा के हो भने हाल सत्ताको रसास्वादन गरेकामध्ये केही अत्यन्त अवसरवादी, भ्रष्ट-दुष्ट र दलाल-गद्दारहरु भने क्रान्तिमा आउने छैनन् र त्यस्ता त रुपान्तरण हुन पनि सक्तैनन् । यदी शुद्धीकरण नभएरै क्रान्तिमा आए भने त तिनले फेरि पार्टी र क्रान्तिलाई प्रदूषित र भ्रष्टीकृत गर्दछन् । त्यसैले ती नआएकै राम्रो । तथापि अत्यधिक ठूलो संख्या शुद्धीकरण र रुपान्तरण भएर क्रान्तिमै आउने छन् । क्रान्तिको बाटो नै बाङ्गोटिङ्गो, उतारचढावपूर्ण र दुसाध्य हुन्छ र छ नै । त्यसैले सकेसम्म कोही पनि यो अप्ठेरो बाटोमा सहजै आउन्नन् तर जब बाध्यता आइलाग्छ तब अत्यधिक मानिसहरु जस्तोसुकै खतरा मोलेर समस्याबाट मुक्त हुन चाहन्छन् । त्यसैले ढुक्क होऔं नेकपा लगायतका कम्युनिस्टहरु अहिले विचलित, विभाजित र विघटित भएर विसर्जित हुन्छन् कि भनेर रत्तिभर नडराऔं ।

आज यी कम्युनिस्ट भनिएकाहरु फुटेका क्रान्तिकारी नभएकाले, देसभक्त नरहेकाले र जनवादी न बनेकाले अर्थात् लोभी-पापी, स्वार्थी-सन्की, भ्रष्ट-दुष्ट, दलाल-गद्दार र बेमान-बदमास भएर अनि सजिलो बाटो मात्र खोज्नेहरु धेरै भएर हो । तिनीहरु नै पार्टीमा हावी भएर हालीमुहाली हुने गरेरर पो यस्तो विकृति-विसंगतिर विचल्ली भएको हो ।

त्यसैले अब त नयाँ शिराबाट यी भित्रका र बाहिरका सच्चा, स्वच्छ र स्वाभिमानी क्रान्तिकारीहरुको एकैसाथ ध्रुवीकरण, शुद्धीकरण र रुपान्तरण भएर एउटा सशक्त क्रान्तिकारी, देसभक्त र जनवादी कम्युनिस्ट पार्टी बन्छ । यस्तो पार्टीले नै देशमा भीषण क्रान्तिकारी आन्दोलनको आँधिबेहरी ल्याउँछ र क्रान्ति पूर्णरुपले सम्पन्न हुन्छ ।

त्यसपछि त क्रान्तिकारी कम्युनिस्ट सत्ता, क्रान्तिकारी कम्युनिस्ट सरकार र क्रान्तिकारी कम्युनिस्ट जनप्रतिनिधिसभा र सदन बन्छ र देशमा सामाजिक न्याय, आर्थिक समानता, आत्मिक सुख, दिगो शान्ति र समग्र समृद्धि हुन्छ, हुन्छ । तसर्थ अब सत्ताधारी नेकपाका न्याय, समानता, स्वतन्त्रता र समृद्धिका पक्षधर सम्पूर्ण सच्चा देसभक्त र क्रान्तिकारी कम्युनिस्ट नेता, कार्यकर्ता, जनसमुदाय, संघसंस्था र संगठनहरुसहित देश विदेशमा छरिएर रहेका नेपाली कम्युनिस्ट क्रान्तिकारीहरु नयाँ ढङ्गले एकताबद्ध र सुदृढ बनौं ।

साहस, समर्पण र सकृयताका साथ संकल्पबद्ध भै संघर्षरत होऔं । नेपालमा हामी कम्युनिस्ट क्रान्तिकारीहरुको भविष्य जरुर उज्ज्वल छ । क्रान्तिकारी चेतना भया ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार