
नेकपा एमालेमा माधवकुमार नेपाल समूहका दोस्रो तथा तेस्रो तहका नेताले जारी अन्तर-संघर्षलाई मैदानमै प्रवेश गरेर अघि बढाउनुपर्नेमा जोड दिन थालेका छन्। नयाँ दल गठन नगर्ने हो भने सर्त राखेर बहिष्कार गर्नेभन्दा (अध्यक्ष ओलीले राख्ने) बैठकमै सहभागी भएर फरक मत राख्नुपर्ने धारणा राख्न थालेका हुन्।
‘अन्तर-संघर्ष पनि रिङभित्र प्रवेश गरेर गर्नुपर्छ भन्ने हो। मैदान छाड्ने होइन। आफ्नो विषय बैठकमा राख्नुपर्छ। निर्णयमा चित्त नबुझे नोट अफ डिसेन्ट लेखेर अघि बढ्नुपर्छ,’ एक केन्द्रीय सदस्यले भने, ’अहिले सर्त राखेर मैदान खाली छाड्ने होइन। अहिलेको नीति भनेको ओलीसँग आत्मसमपर्ण पनि नगर्ने र एमाले पनि नछाड्ने भन्ने हो।’
नेपाल समूहभित्र नयाँ दल बनाउने, ओलीको साथमा गएर आत्मसर्पण नगर्ने र एमाले पनि नछाड्ने ३ समूह छन्। ‘अहिलेको हाम्रोतिरको मेन स्ट्रिम भनेको रिङभित्र प्रवेश गरेर लड्ने भन्ने नै हो,’ एक स्थायी कमिटीका सदस्यले भने।
सर्वोच्च अदालतको गत फागुन २३ गते नेकपा खारेज गर्दै यसमा एकीकृत एमाले र माओवादी नै कायम गर्ने फैसला गरेयता एमालेमा प्रधानमन्त्री ओली हावी भएका छन्। उनले फागुन २८ गत आफूनिकट केन्द्रीय सदस्यको मात्रै बैठक राखेर माधव नेपाल पक्षको जिम्मेवारी खोस्ने निर्णय मात्र गरेनन्, गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रबाट आएका २३ नेतालाई एमालेको केन्द्रीय सदस्यसमेत बनाएका छन्।
यो निर्णय नवौं महाधिवेशनबाट पारित विधानविपरीत भएको भन्दै नेपाल पक्षले विरोधमा छुट्टै भेला/बैठक गरिरहेको मात्र छैन, समानान्तर कमिटीसमेत बनाउन सुरु गरिसकेको छ। विभिन्न सर्त राख्दै उसले अध्यक्ष ओलीले राखेका पार्टी कमिटी तथा संसदीय दलको बैठक बहिष्कार गरिरहेको छ।
‘कमजोर भएको अवस्थामा सर्त राखेर बाहिर बस्दा फाइदा छैन,’ नेपाल पक्षका नेताहरूको बुझाइ छ।







