
प्रधानमन्त्री केपी ओलीले प्रचण्डले आफ्नो निहीत स्वार्थका लागि देशको राजनीति धमिल्याउन खोजेको आरोप लगाएका छन् ।
सत्तास्वार्थका लागि प्रचण्डहरुले भाँडभैलो मच्चाएका भन्दै उनले भने, ‘के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ?’ मंगलबार रिपोर्टस् क्लबको वार्षिकोत्सव कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेपछि अर्काको नाममा पार्टी दर्ता गरेको भन्दै उनले त्यही नामका लागि ढिपी नगर्नसमेत प्रचण्डलाई आग्रह गरे । ‘अर्काको नाममा पार्टी दर्ता गर्ने ? उनले अघि भने, ‘उहाँले कुटे पनि हुने, मारे पनि हुने भएकाले बानी बिग्रियो, अब चल्दैन प्रचण्डजी, ती दिन गए ।’
विगतमा माओवादीसँग हतियार र लडाकू भएकाले मात्र धेरै मानिस डराएको उनले बताए । ‘एउटा समय थियो म मात्र बोल्थेँ, मानिसहरु हतियार र लडाकुसँग डराउँथे’ उनले भने, ‘आज तपाईंका सो कल्ड सेना पनि छैनन्, हतियार पनि छैनन् । ती दिन त गए ।’
उमेर ख्याल नगरी छेलो फाल्न खोज्दा कम्मर सड्किएको बुढो मान्छेको कथा सुनाउँदै ओलीले भने, ‘प्रचण्डजीलाई उमेर सम्झिन आग्रह गर्न चाहन्छु । उहिले सम्झिएर छेलो फ्याल्न नखोज्नुस्, ढाड सड्किन्छ । त्यो जमाना गयो ।’







