
नेकपा (माओवादी केन्द्र) ले पार्टीबाट राष्ट्रिय सभा सदस्य भएका गृहमन्त्री रामबहादुर थापालाई कारबाही गर्दै दल त्याग गरेको पत्र संसद सचिवालयलाई पठाएको छ ।
माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले थापाले दल परित्याग गरेकाले सांसदबाट कारबाही गरिएको पत्र संसद् सचिवालयलाई पठाएका हुन् ।
कारबाहीसँगै थापाको पद पनि खारेज हुने भएको छ । राष्ट्रिय सभामा माओवादी केन्द्र दलका नेता दिनानाथ शर्माले दलत्याग गरेकाले राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार गरिएको जानकारी दिए । ‘निर्वाचित भएको दल त्याग गरी अर्को दलमा गएकाले कानुनअनुसार सांसदको पद रहँदैन । प्रष्टिकरण सोधिएको थियो तर चित्तबुझ्दो जवाफ भेटिएन । अब दल त्याग गरेर गएपछि यताबाट भएको सांसद पद त रहँदैन नि !’ उनले भने ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दिएको जानकारीअनुसार राष्ट्रिय सभा सदस्य थापाले दल त्याग गरेकाले सांसद पद खारेज गरिदिन भनेर प्रचण्डले शुक्रबार पठाएको पत्र संसद् सचिवालयमा दर्ता भएको छ ।
यसअघि एमाले प्रवेश गरेका अन्य चार मन्त्रीलाई पनि माओवादीले सांसद्बाट हटाएको थियो । लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई दल त्याग गरेपछि माओवादीले सांसदबाट हटाएको थियो ।







