
सस्तोमै भएपनि
एउटा गुनियो लगिदिऊँला भनेको थिएँ चाऊरीलाई
कट्टु र टिसर्ट हालिदिऊँला भनेको थिएँ लिखेलाई
आफ्नो हरमा पनि,
वर्षौं भयो धरो नफेरेको
यो वर्षमा त फालुँला
र फेरम्ला भनेको थिएँ
ज्यानमा उनेको
ब्रिटिसे लाहुरेको पुरानो जडौरी ।
लैजाऊँला भनेको थिएँ
अलिकति भएपनि पाडाको मासु
मरमसला र अलिकता तेल
भुलेर सबै कहर जिन्दगीको
एकछाक सहि
मिठो खाने रहर बुनेको थिएँ ।
अँधियामै सहि
मुखियाको बाट
एउटा पाडो ल्याएर पाल्छु ।
ट्याम्केकोबाट
एउटा बंगुरको पाठो ल्याएर पाल्छु ।
आघुम साल
नभए पनि, आघुमको आघुम साल त
यी ब्याऊँछन् र नाफा दिनेछन् पक्कै
साचेको थिएँ
जिन्दगीलाई अलिक भएपनि
सुबिस्ताको बनाउने छन् पक्कै ।
मनमा थियो
वर्षभरि दुख गरियो
एकैछिन थकाई नमारी
खुन पसिना गरियो ।
त्यैसैले सोचियो
जिन्दगीको एकबारमा
यसपालि त नयाँ लाईन्छ
तैबिसेक सहि
अलिकता मिठो खाईन्छ ।
तर, थुईया साला जिन्दगी
यसपाला पनि धोका भयो ।
जीवनका अघिल्ला वर्षहरूमा जस्तै
हाम्रो भागमा त
आँशु र सुस्केरा नै भयो ।
न त गुन्यु चाउरीलाई
न त जाँघेर टिसेट लिखेलाई
न त बुसट नै आँफुलाई ?
सोचेसम्झेका सबै सबै गोलखाडी
हृदयमा दुखी सुस्केराका मात्र भलबाढी ।
हामी गरिबका तक्दिर नफेरिने
हामी दुखियाका जिन्दगी नफेरिने
यस्ता मुला नयाँ वर्ष आएर के भो
गएर के भो हामीलाई ?
दुख त उस्तै छ हरसाल
रोग र भोग त उस्तै छ हरसाल ।
हाम्रो दुख त
हल न चल
अडिएको छ
आँखै मुखेन्जी उभिएको
दारे पहरो जस्तै ।
यति उति
खालि साल फेरिन्छ
तर, हल न चल छ हाम्रो पीडा
जति साल फेरिए पनि उस्तै दुरूस्तै ।
पोहोरको नयाँ वर्षमा
रूखको सेपले जिन्दगी बिग्रेको हो कि भन्ठानेर
घाममा सेकाईयो जिन्दगी
साला, दुखी तक्दिर
त्यही घामले पनि डढायो जिन्दगी ।
भत्भति पोल्दैछ जिन्दगी ।।
खरानीनै पार्छ कि जस्तो छ जिन्दगी ।।।
के पुरानो ?
के को नयाँ वर्ष हुनेरहेछ हामीलाई ?
जिन्दगी त साल, हरसाल,
हरेक साल उस्तै
बेहाल,
बेहालै बेहाल
आँशुमय उस्तै र दुरूस्तै ।







