
चीनका दुई दर्जन भन्दा धेरै लडाकू विमान ताइवानको हवाई सीमामा पसेका छन्। ताइवानले सोमबार उसको हवाई क्षेत्रमा ठूलो संख्यामा चीनका लडाकू विमान प्रवेश गरेको जनाएको हो।
ताइवानको रक्षा मन्त्रालयले सोमबार एयर डिफेन्स आइडेन्टिफिकेशन जोनमा चीनका २५ वटा विमान प्रवेश गरेको जनाएको हो। २५ वटा विमान मध्ये केही परमाणु हतियार ओसार्न सक्षम लडाकू विमान पनि रहेको ताइवानको दाबी छ।
याे घटनालाई पछिल्लो एक वर्ष यता चीनका तर्फबाट भएको सबैभन्दा ठूलो अतिक्रमण भनिएको छ। अमेरिकाले हालै चीनले लगातार बढाइरहेको आक्रामक व्यवहारलाई लिएर चेतावनी दिएको थियो।
एक चीन नीति अन्तर्गत चीनले ताइवानलाई आफ्नो एक हिस्सा मान्ने गरेको छ तर ताइवानले भने आफूलाई एक स्वतन्त्र राष्ट्र मान्ने गरेको छ।
ताइवानको दाबी अनुसार सोमबार घुसेका चिनियाँ विमान मध्ये १८ लडाकू जेट, चार बमवर्षक विमान (परमाणु हतियार ओसार्न सक्षम) दुई सबमरिन विमान र समयभन्दा अगाडि नै चेतावनी दिने एक विमान सामेल थियो।
ताइवानकाे रक्षा मन्त्रालयले चिनियाँ विमान चेतावनी दिनका लागि सीमा क्षेत्रमा घुसेकाे आराेप लगाएकाे छ।







