सरकारले माओवादी पूर्वलडाकुहरुलाई ‘लोकतान्त्रिक योद्धा’को रुपमा सम्मान गर्दै छ । सम्मान कार्यक्रम दिउँसो एक बजे प्रज्ञा भवन कमलादीमा आयोजना गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको सम्बोधनको क्रममा लोकतान्त्रिक आन्दोलन, जनआन्दोलन र सशस्त्र द्वन्द्वमा विभिन्न ढंगले पीडित भएका र योगदान पुर्याएका व्यक्तिहरुलाई प्रतीकात्मक ढंगले सम्मान गर्ने कार्यक्रम शुभारम्भ गर्न लागेको जानकारी दिए ।

१० वर्षे सशस्त्र द्वन्द्वमा संलग्न भए पनि अनमिनबाट अयोग्य ठहरिएका र सेना समायोजनमा नपरेकाहरुलाई केन्द्रित गरेर सम्मान गर्ने निर्णय यसअघि नै सरकारले गरेको थियो । त्यसका लागि सरकारले केन्द्रमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा र जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ‘लोकतन्त्रका योद्धा अभिलेखीकरण तथा सम्मान समिति गठन गरेको छ ।

विभाजित पूर्वलडाकु

बहिर्गमित जनमुक्ति सेनाका एकजना सदस्य राजन थापा ‘सुवास’ले पहिलो चरणमा आफ्नो संगठनका १ सय ७१ जनालाई सरकारले सम्मानपत्रसहित अभिनन्दन गर्न लागेको बताए । उनले भने, ‘हामीले राखेका विभिन्न मागहरुमध्ये एउटा माग सरकारले पूरा गरेको छ, अब अरु मागहरु पनि क्रमशः पूरा हुने विश्वासका साथ हामी सम्मान कार्यक्रममा जान्छौं ।’

सरकारले गर्न लागेको सम्मान कार्यक्रममा असिम लिम्बु (इञ्चार्ज) र रमेश बसेल ‘करण’ (अध्यक्ष) नेतृत्वमा रहेका बहिर्गमित लडाकुहरु सहभागी हुने थापाको भनाइ छ ।

यद्यपि सरकारले आफ्ना विरोधीविरुद्ध प्रयोग गर्ने उद्देश्यले पूर्वलडाकूहरुलाई सम्मानको रणनीति अपनाएको भन्दै पूर्वलडाकुहरुको एउटा खेमा भने  सम्मान कार्यक्रममा नजाने भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार