
नेकपाका महासचिव विप्लवले आफ्नो पार्टी सरकारमा जाने भन्ने कुरा निराधार भएको बताउनु भएको छ ।
महासचिव विप्लवले बुधबार कपिलवस्तुस्थित शिवगढीमा केन्द्रीय सम्पर्क कार्यालयको शिलान्यास गर्दै संसदीय व्यवस्थाभित्रको सरकारमा जाने र मन्त्री बन्ने हल्ला दलालहरुले अनर्गल रुपमा फैलाएको झुठो प्रचार भन्दै उक्त कुरा निराधार हल्ला भएको बताउनु भएको हो । उहाँले भन्नुभयो, “हामी ब्यक्तिगत पद, पैसा र प्रतिष्ठा त्यागेर क्रान्तिमा लागेका हौं । क्रान्ति जनताको मुक्तिको लागी हो ।”
महासचिव विप्लवले आफ्नो पार्टी ३ बुँदे सहमतिलाई कार्यान्वयन गर्न दृढ रहेको बताउदै युद्ध र अशान्ति चाहनेहरुले राज्य र नेकपाबीच भएको वार्ता र सहमतिलाई विथाल्न खोजेको बताउनु भयो । उहाँले भन्नुभयो, “हामी ३ बुँदे सहमति कार्यान्वयन गर्न दृढ छौं । ३ बुँदे सहमति युद्ध र अशान्ति नचाहनेहरुले वार्ता बिथोल्न खोजिरहेका छन् ।” महासचिव विप्लवले जनताले निकै लामो समयदेखि न्याय र मुक्तिको आवाज उठाउदै आएको भन्दै जनताको न्यायपूर्ण आवाजमाथि दमन गरिएकोले पार्टीले निरन्तर संघर्ष गर्दै आएको बताउनु भयो । महासचिव विप्लवले भन्नुभयो, “जनताको न्यायपूर्ण आवाजमाथि गरिएको दमनविरुद्ध हामी लड्दै आएको छौं र वैज्ञानिक समाजवाद प्राप्त नहुँदासम्म अविराम लडिरहन्छौं ।”
महासचिव विप्लवले जनता इतिहासको निर्माता भएको र जनताले नै इतिहास बदल्ने भन्दै न्यायपूर्ण संघर्षमा जनता कहिल्यै पराजित नहुने बरु जनताका सपनामाथि धोका, गद्दारी गर्ने र अपमान गर्ने गद्दारहरुलाई इतिहासले कुल्चेर अगाडी बढ्ने बताउनु भयो । उहाँले नेपाली जनताले पाइला–पाइलामा दलाल पुँजीवाद र साम्राज्यवादको थिचोमिचो विरुद्ध संघर्ष गर्दै अगाडी बढिरहेको र वैज्ञानिक समाजवादी व्यवस्था खोजिरहेको बताउनुभयो ।
उहाँले ४० बर्षे संसदीय पुँजीवादी व्यवस्था असफल भएकोले जनताको प्रत्यक्ष सहभागितामा वैज्ञानिक समाजवाद कि दलाल संसदीय पुँजीवाद ? भनेर जनमतमा जानुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “नेपालमा ४० बर्ष लामो संसदीय अभ्यास जनताले देखे, निर्वाचन मार्फत् नेता र दलहरु चुनिए तर नेता र दलहरु चुनिएर मात्रै जनताको समस्या समाधान हुन सकेनन् । देश झन् रस्सातालमा पुग्यो । किनकी संसदीय व्यवस्थाबाट देश र जनताको मुक्ति सम्भव पनि थिएन । त्यसकारण एकपटक व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्छ ।”
पार्टीको केन्द्रीय सम्पर्क कार्यालय शिलन्यासबारे चर्चा गर्दै महासचिव विप्लवले आफ्नो पार्टी झुपडीमा बस्ने गरिब, दुःखी, सुकुम्बासी, किसान, मजदुर तथा श्रमजीवी वर्गको पार्टी भएको भन्दै जनताकै सहभागिता र लगानीमा पार्टी सम्पर्क कार्यालय स्थापना गर्न लागिएको बताउनु भयो । उहाँले पार्टीको आफ्नै श्रम, सहयोग र जनताको सहकार्यमा पार्टी कार्यालय बनाइने बताउदै जनतासँगै पार्टी, नेता, कार्यकर्ताहरु अनिवार्य श्रममा जोडिने बताउनु भयो ।
शिलन्यास कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं कार्यालय निर्माण समितिका इन्चार्ज सञ्जीवले जनताको बीचमा बसेर जनताकै सहकार्यमा निर्माणका नयाँ अभ्यास र संस्कृतिको सुरुवात गरिएको बताउदै उहाँले केन्द्रीय सम्पर्क कार्यालयको निर्माण लक्षित समयभित्रै सम्पन्न गरिने बताउनु भयो ।
उहाँले निर्माण कार्य सम्पूर्ण पार्टी पंक्ति र जनसमुदायको पहलमा सम्पन्न गरिने बताउँदै सबैमा सहयोगका अपिल समेत गर्नुभयो । समितिका अध्यक्ष नन्दलाल पुरीले तोकिएको समयभित्रै कार्यालय भवन निर्माण गर्न पार्टी निकाय र जनताको तर्फबाट सहकार्य हुने बताउनु भयो ।







