
नेकपा एमालेका नेता वामदेव गौतमले फागुन २८ गतेको निर्णय फिर्ता नलिए केपी शर्मा ओलीसँग आउन नसक्ने बताएका छन् ।
बिहीबार बेलुका प्रधानमन्त्री ओलीले गौतमसँग डिनर वार्ता गरेका थिए । ओलीले गौतमलाई पार्टी काममा फर्किनका लागि आग्रह गरेका थिए ।
गौतमले नेकपा एमालेका नाममा भएका अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरे पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अस्वीकार गरेको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए ।
“हिजो ९ गते क. केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो । उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो । मैले गत फागुन २८ गते तपाईंले गर्नुभएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ । उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिएँ । डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ,” गौतमको भनाई उद्धृत गर्दै सुवेदीले लेखेका छन् ।







