
१३२ औं मजदुर दिवसको अवसरमा नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलले विषेश छलफल कार्यक्रमको आयोजना गरेको छ । अवैतनिक नेपाली वाणिज्यदुत मकर हमालको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
पोर्चुगलमा आइपुगेका नेपालीहरु विविध तवरबाट नेपालीहरुबाट नै उत्पिडित भइरहेकाले उक्त कृयाकलापहरुलाई न्युनिकरण तथा नियन्त्रण गर्न नेपाली समुदायले खेल्न पर्ने भुमिकाको विषयमा छलफल केन्द्रित भएको थियो ।
कार्यक्रममा नेपाली जनप्रगतिशील मोर्चा युरोपका विभिन्न देशका अध्यक्षहरु, मोर्चाका अमेरिकाका अध्यक्ष,पोर्चुगलस्थित वैचारिक, सामाजिक तथा क्षेत्रीय समितिका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । वक्ताहरुले श्रमिक दिवसको चर्चा गर्दै पोर्चगलमा लक्ष्मी ट्राभल्सका संचालक विक्रम जंग कुवरले गरेको ठगि प्रकरण र उनलाई कानुनी कारवाहीभित्र ल्याउनपर्ने र पिडितहरुले क्षतिपुर्ति पाउन नेपाली समुदायले खेल्न पर्ने भुमिकाको वारेमा व्यापक छलफल भएको हो ।
मन्तव्य राख्नेहरुमा प्रवासी नेपाली एकता मन्चका अध्यक्ष मदन लिम्बू, नेपाली जनसम्पर्क समितीका कार्यवाहक अध्यक्ष ओकिल केसि, नेपाली जनप्रगतिशिल मन्चका प्रतिनिधि राजेन्द्र गौतम, नेपाली समाजका महासचिव इश्वर पान्डे, नेपालि नारि समाजका अध्यक्ष सीता श्रेष्ठ ूसिवानीू, नेपाली महिला समाजका महासचिब सरिता शर्मा, नेपालि जनप्रगतिशिल मोर्चा, अमेरिकाका अध्यक्ष विश्व शाह थिए ।
मन्तव्यको क्रममा गैह्रआवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले विक्रम जंग कुंवरलाई कार्वाहीको दायरामा ल्याउन आफु प्रतिवद्ध रहेकाले आफुप्रति शंका नगर्न आग्रह गरेका थिए ।
नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेलले यो ठगि प्रकरणका अभियुक्तलाई कारवाहीको दायरामा ल्याउन पोर्चुगलको नेपाली समुदायमा देखिएको एकता धेरै सकरात्मक रहेको र यदि एक दुई पीडितलाई मात्र क्षतिपुर्ति दिने, पिडितको बीचमा विभाजन ल्याएर दोषीलाई उम्काउने षडयन्त्र कतैवाट भयो भने त्यसको भण्डाफोर गर्दै मोर्चाले सम्पुण पीडितले क्षतिपुर्ति नपाएसम्म यो मुद्धा उठाइरहने कुरा राखेका थिए ।
उक्त अवसरमा वाणिज्यदुत हमालले भने, ‘यो ठगी प्रकरणमा पीडितहरुलाई न्याय दिलाउनका लागि म आफैं लागेको छु र हाम्रो सामुहिक प्रयास जारी छ, यदि यस्मा कसैले अझै प्रभावकारी उपाय ल्याउनु हुन्छ भने यो अभियानको नेतृत्व गर्न अनुरोध गर्दछु ।’
नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलका अध्यक्ष पूर्ण वि.कको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन उपाध्यक्ष टंक खड्काले गरेका थिए भने मोर्चाका सचिव प्रकाश वस्यालले स्वागत मन्तव्य राखेका थिए ।







