
भारत पश्चिम बंगालको विधानसभा चुनावमा आफ्नो पार्टीलाई शानदार जित दिलाउने ममता बेनर्जी भने आफ्नो चुनाव क्षेत्रमा पराजित भएकी छन् ।
विधानसभाको नन्दीग्राम क्षेत्रबाट उम्मेदवार बनेकी मुख्यमन्त्री तथा तृणमुल कांग्रेसकी नेतृ बेनर्जी पराजित भएकी हुन् । सुरुमा उनले भारतीय जनता पार्टी (भाजपा)का शुभेन्दु अधिकारीलाई १२ सय मतले पराजित गरेको खबर भारतीय सञ्चारमाध्यममा आएको थियो ।
तर निर्वाचन आयोगले आइतबार अबेर जारी गरेको आधिकारिक मत परिणाममा बेनर्जी पराजित भएकी हुन् । तृणमुल कांग्रेसकी प्रमुख बेनर्जीका पूर्व सहयोगी रहेका तथा चुनावअघि भाजपामा प्रवेश गरेका अधिकारी नन्दीग्राममा विजयी भएका हुन् ।
अधिकारीले बेनर्जीलाई १९ सय ५६ मतले पराजित गरेका हुन् । सन् २०१६ को विधानसभा चुनावमा पनि नन्दीग्राम क्षेत्रमा अधिकारी नै विजयी भएका थिए, त्यो बेला उनी बेनर्जीका विश्वास पात्र तथा तृणमुल कांग्रेसका महत्वपूर्ण नेता थिए ।
आइतबार भएको मतगणनामा नन्दीग्राम सिटलाई लिएर अन्त्यसम्मै अवस्था स्पष्ट थिएन ।
बेलुकातिर बेनर्जी १२ सय मतले जितेको खबर आयो । त्यसको केही समयपछि अधिकारी १६ सय मतले विजयी भएको खबर आउन थाल्यो । अन्ततः निर्वाचन आयोगले जारी गरेको अन्तिम परिणाममा शुभेन्दुले बेनर्जीलाई १९ सय ५६ मतले पराजित गरे ।

घरी अधिकारी घरी बेनर्जीको अग्रताको शिलशिला जारी रहँदा राति सवा ११ बजे निर्वाचन आयोगले अन्तिम नतिजा जारी गर्दा अधिकारी विजयी भए । अधिकारीले एक लाख ९ हजार ६७३ तथा बेनर्जीले एक लाख ७ हजार ९३७ मत पाएकी छन् ।
विधानसभाका २९४ मध्ये २९२ सिटको मतपरिणम पूर्ण वा लगभग अन्तिम चरणसम्मको आइपुग्दा तृणमुल कांग्रेस (टिएमसी) ले २१३ सिटमा जित या अग्रता कायम राखेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री अमित शाह एवम् उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहितको उपस्थितिमा पूरा शक्ति लगाएर ममता विरुद्ध चुनावी अभियान चलाएको भाजपा भने पश्चिम बंगालमा स्तब्ध भएको छ । उसले ७७ सिटमा जित या अग्रता कायम गरेको छ ।
यस्तै तमिलनाडूमा २३४ सिट मध्ये डिएमकेले १५८ तथा एडिएमकेले ७६ सिटीमा जित या अग्रता बनाएका छन् । केरलका १४० सिट मध्ये एलडिएफले ९९ तथा कांग्रेसले ४१ सिट जितेका छन् ।
असममा भाजपाको सरकार कायम रहने भएको छ । १२६ सिटमध्ये भाजपाले ७५ तथा कांग्रेसले ५० सिट जितेका छन् । यस्तै पुद्दुचेरीका ३० सिट मध्ये एनआरसीले १६, कांग्रेसले ९ तथा अन्यले पाँच सिटमा जित हाँसिल गरेका छन् ।







