
प्रधानमन्त्री केपी ओली फेरि संसद भंग गरेर अगाडि बढ्ने योजनामा रहेको बुझिएको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेटेर फर्केपछि उनले यस्तो योजना बनाएको बुझिएको छ ।
सत्तारूढ दलभित्रकै फुट र विग्रहका कारण संसद्समेत चल्ने अवस्था नभएको परिस्थिति देखाउँदै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विघटन नभनीकन निर्वाचनमा मिलेर जान प्रस्ताव अघि सारेका थिए ।
छलफलमा सहभागी कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार प्रधानमन्त्रीले आफ्नो विषयवस्तु राख्ने क्रममा निर्वाचनतिर जाने परिस्थिति पनि आउन सक्छ भने पनि आफूहरूले वैशाख २७ गते प्रधानमन्त्रीले राखेको विश्वासको प्रस्ताव र कोरोना महामारीका विषयमा छलफल केन्द्रित गरेको बताए ।
‘निर्वाचनमा जाने परिस्थिति पनि आउन सक्छ भन्ने भनाइ प्रधानमन्त्रीको थियो । तर हामीले निर्वाचनमा जाने वा वैकल्पिक सरकार बनाउने विषय वैशाख २७ गतेको परिणामपछि मात्रै थाहा हुन्छ भन्यौं, त्यसैले त्यतातिर छलफल भएन,’ उनले भने, ‘सरकारको अहिलेसम्मको व्यवहार र कदमले सहयोग गर्ने स्थिति छैन । विपक्षमा मतदान गर्छौं भन्ने जवाफ हाम्रोबाट भयो ।’ छलफलमा लामो भनाइ प्रधानमन्त्री ओली आफैंले राखेका थिए भने एमाले संसदीय दलका उपनेता नेम्वाङ संक्षिप्त बोलेका थिए । कांग्रेसका नेताहरू सबैजसोले भनाइ राखेका थिए ।
महतले कोरोना महामारीका बेला सरकारले प्रभावकारी काम गर्न नसकेको र खोप खरिद विवादास्पद बनेको भनाइ राख्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए । उनले कूटनीतिक माध्यमबाट छिटोछरितो खोप खरिद गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए ।
कांग्रेसले तत्काल खोप खरिद गरेर ल्याउन, भेन्टिलेटर, आईसीयू बेडको अभावमा कोभिड संक्रमित मर्ने अवस्था आउन नदिन सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएको थियो ।







