नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् ।
गोरखा सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि’ वर्तमान सरकारले संसदबाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेको जिकिर गरे ।
‘अहिलेको सरकारले भोलि (सोमबार) विश्वासको मत प्राप्त गर्न सक्दैन’, उनले भने, ‘छिट्टै बहुमतको नयाँ सरकार बन्छ ।’
प्रवक्ता श्रेष्ठले देशको अहिलेसम्म सामाजिक–आर्थिक रुपान्तरणमा सरकारले छिपछिपेपन मात्र देखाएको तथा कोरोना नियन्त्रण र रोकथाममा समेत प्रभावकारी भूमिका खेल्न असफल भएको आरोप लगाए ।
‘अहिले कांग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि बढाउने विपक्षी गठबन्धनको तयारी छ’, प्रवक्ता श्रेष्ठले भने, ‘हाम्रो पार्टीले स्पष्ट रुपमा सरकारलाई विश्वासको मत दिन सक्दैनौँ भनेर निर्णय गरिसकेका छौं ।’







