रोम जलिरहँदा
वाँसुरी बजाइरहने निरो
अनि
देशमा मृत्युको हुरी चलिरहँदा
पब्जी खेलिरहने युवक
तास खेलिरहने पुरुष
सिरियलमा मस्त गृहिणी
टिकटकमा मस्त युवती
र,सांसद किनबेचमा ब्यस्त
पार्टीमा के फरक छ ?

मान्छेहरूलाई
ग्याँस च्याम्बरमा थुनेर मार्ने
कुख्यात हिटलर
अनि ,
बिरामीलाई अक्सिजन विना मार्ने
देशको सरकारमा के फरक छ ?

मरे जवाफदेही हुनु पर्दैन भनेर
मृत्यु-पत्रमा ल्याप्चे ठोकाउने
देशको स्वास्थ्य व्यबस्था
अनि
दुखे ऐया भन्न पाइन्न भन्ने
क्रुर कसाहीमा के फरक छ ?

जागिर पाइन्न भनेर होस
या जागिर खोसिन्छ भनेर होस
बढुवा रोकिन्छ भनेर होस
या भिसा रोकिन्छ भनेर होस
अत्याचारलाई अत्याचार भन्न नसक्ने
सत्यलाई सत्य जसरी प्रेम नगर्ने
मौकामा मुख थुनेर बस्ने
फिटिक्कै नबोल्ने
दैलो थुनेर/ झ्याल थुनेर
सिरक ओढेर सास रोकेर बस्ने
तथाकथित वुध्दिजीवी र मूर्दामा के फरक छ ?

भन के फरक छ ?

२०७८|०१|३०
भक्तपुर

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार