
प्यालेस्टाइनबाट जातीय सफायाको स्मरण गर्न हरेक वर्ष यो दिनलाई नक्बाको दिनको रूपमा स्मरण गरिन्छ । नक्बाको अर्थ अरबी भाषामा निकाला हो । यहुदीहरूले सन् १९४८ मा इजरायल नामको विस्तारवादी राज्य स्थापना गरेबाट प्यालेस्टाइनीहरूलाई आफ्नै भूमिबाट धपाउने काम सुरुमात्र भएन । बरु, त्यो प्रक्रियाको त्यसयता कहिल्यै अन्त्य भएको छैन ।
सन् २००९ मा म नब्लसको अन–नजाह विश्वविद्यालयमा प्राध्यापक थिएँ । तिनताक मलाई पश्चिम किनारा र पूर्वी जेरुस्लम धेरै परिवारहरूसँग भेट्ने मौका जुरेको थियो । ती क्षेत्रहरूबाट प्यालेस्टाइनीहरूलाइ आफ्नै भूमिबाट धपाइएको थियो । त्यत्तिबेला पनि इजरायलीहरू (प्रायशः संरा अमेरिकाबाट आएका)ले त्यहाँ बस्दै आएका परिवारलाई उनीहरूका घरबाट धपाएर कब्जा गरेका थिए । जेरुस्लमको पुरानो सहरको जबेर परिवारदेखि अकराबाको अनास परिवार हुँदै जेरुस्लमको शेख जराहको अल–कुर्द परिवारसम्म प्यालेस्टाइनीहरूले इजरायली हमला र आक्रामकताको विरोधमा लडिरहेका मैले देखेको थिएँ । प्यालेस्टाइनीहरू आफ्ना घर भत्काइएपछि पालमूनि बसेर पनि आफ्नो जमिनमा निर्भिक भएर इजरायली हमलाको प्रतिरोध गरिरहेका थिए ।
नक्बा अहिले पनि चालु छ । त्यही भएर प्यालेस्टाइनमा पछिल्लो लडाइँ चर्किएको हो । जरुस्लाममा मैले दस वर्षभन्दा अघि भेटेको उही अल–कुर्द परिवारको शेख जराहस्थित आफ्नो घर र जमिन नछोड्ने सङ्घर्षले नै ठुलो आकार ग्रहण गरेर लडाइँको रूप लिएको हो ।
तर, इजरायली सेनाले अल–अक्सामाथि कब्जा जमाएको र गाजामा रहेका प्यालेस्टाइनीहरूले इजरायलमाथि हमला गरेपछि भारत र संसारभरकै सञ्चारमाध्यमले त्यसलाई प्रमुख समाचार बनाए । तत्क्षण जातीय सफायाको कुरा भने तपसिलमा सीमित रहन गयो । हमास कुराकानीको मुख्य विषय बन्यो । तर, ऐतिहासिकरूपमा प्यालेस्टाइनमा बस्दै आएका प्यालेस्टाइनी जनता हमलाको विरोधमा सडकमा उत्रेपछि अहिलेको ‘द्वन्द्व’ इजरायल र हमासबीचको झगडा पुष्टि गर्ने प्रयास विफल भयो । पश्चिम किनारामा बेथलेहेम र नब्लसजस्ता सहर र इजरायलभित्रका लिड र जाफाजस्ता प्यालेस्टाइनी सहरका साथै संसारभरका प्यालेस्टाइनीहरू (जसमध्ये बहुमत त सन् १९४८ बाट शरणार्थी छन्) आज एकै स्वरमा बोलिरहेका छन्ः नक्बा तत्काल बन्द गर ।
भारत र संसारभरका धेरै मानिसले अहिले धेरै प्रस्टरूपमा त्यहाँको परिस्थिति बुझ्दै गएको देखिन्छ । अहिले प्रचारमा आए जस्तो यो लडाइँ दुई समान पक्षबीचको ‘लडाइँ’ होइन । यो कुनै ‘गृह युद्ध’ अथवा ‘उपद्रव’ वा ‘साम्प्रदायिक हिंसा’ पनि होइन । यो त उपनिवेशवाद मुक्तिको लडाइँ हो । यो जातिभेदविरुद्धको लडाइँ हो । सन् १९६० को दशकदेखि प्यालेस्टाइनी र दक्षिण अफ्रिकी जनताले यही कुरा भन्दै आएका छन् । अन्ततः संयुक्त राष्ट्र सङ्घीय निकाय र ह्युमन राइटस् वाच र बी’सेलेन जस्ता मानव अधिकारवादी सङ्गठनहरूले यो कुरालाई मान्यता पनि दिए ।
प्यालेस्टाइनका घटनाक्रमलाई म केही समयदेखि नियालिरहेकी छु । त्यसकारण हैफा, जाफा र लिडजस्ता इजरायली प्रहरीको बलियो आधार भएका प्यालेस्टाइनीहरूका सहरमा इजरायली विस्तारवादीहरूको आतङ्कले मलाई द्रवित तुल्याएको छ । उन्नाइसौँ शताब्दीको उत्तराद्र्धमा संरा अमेरिकामा भाग्नुअघि पूर्वी युरोपमा मेरो परिवारले सामना गर्नुपरेको आतङ्कको म स्मरण गर्छु । यिदिस (यहुदी समुदाय) शब्द ‘पोग्रोम’ले त्यत्तिबेला यहुदी समुदायलाई लक्षित गरी भएको नरसंहारलाई सही ढङ्गले अभिव्यक्त गर्नसक्छ । यो साता इजरायलीहरूले मच्चाएको हिंसालाई लिएर केही प्यालेस्टाइनीहरूले पनि यो शब्दको प्रयोग गरेका छन् । इजरायलीहरूले प्यालेस्टाइनीहरूका पसलहरूमा भाँचकुँच गरेको दृश्य सन् १९३८ मा नाजीहरूले गर्ने हमलाभन्दा फरक थिएन ।
भाषा र शैलीको पनि अर्थ हुन्छ । विगतमा भारतीयहरूको बुझाइ अलि फरक थियो । भारतको राहदानीको सुरुवाती पृष्ठमा जातिभेदी दक्षिण अफ्रिका होस् वा इजरायलमा यात्रा गर्नु कानुनको उल्लङ्घन गर्नु हो भनी लेखिएको हुन्थ्यो । यो धेरै अघिको कुरा होइन । दुर्भाग्यवश, भारतले उपनिवेशवादविरुद्ध असंलग्न आन्दोलनको नेताको पहिलेको भूमिका मूलतः त्याग्दै गएको छ । कृषिदेखि हतियार खरिदसम्म इजरायलसँग भारतले प्रत्यक्ष र परोक्ष सम्झौता सामान्य विषय बन्दै छ । इजरायलसँगको सम्बन्ध सामान्य बन्दै गएसँगै धेरै भारतीयहरूलाई बिर्सने रोग लागेको छ र उनीहरू उपनिवेशवादीको पक्षमा उपनिवेशमा परेकाहरूको विरोधमा उभिएका छन् ।
प्यालेस्टाइनमा अहिले वास्तवमा के भइरहेको छ भन्ने कुरा बुझ्न एउटा तुलनात्मक अध्ययन निकै उपयोगी हुनसक्छ । अहिलेको घटनाक्रमलाई सन् १९७६ मा सोवेतोमा भएको दक्षिण अफ्रिकीहरूको विद्रोह, सन् १९४४ मा वारसाका झोपडपटी बस्तीका उठेको विद्रोह र सन् १८५७ मा भारतीय जनताको विद्रोहसँग तुलनामा गर्न उपयुक्त छ । ती सबै ऐतिहासिक घटनाक्रममा सर्वसाधारण जनताले आफूभन्दा सैनिकरूपमा निकै शक्तिशाली शक्तिसँग स्वतन्त्रताको लागि लड्ने निर्णय गरेका थिए । आफ्नो इतिहासमा धेरै ऐतिहासिक महत्वका घटनाबारे जानकार भारतीय जनतालाई बेलायती उपनिवेशवादविरुद्धको विद्रोहलाई बेलायती शासकहरूले ‘डकैती’ को उपमा दिएका थिए । मानौँ भारतीयहरू कुनै विदेशी उपनिवेशवादीहरूको विरुद्धमा नभई आफैविरुद्ध उठेका थिए ।
प्यालेस्टाइनका घटनाक्रमलाई म केही समयदेखि नियालिरहेकी छु । त्यसकारण हैफा, जाफा र लिडजस्ता इजरायली प्रहरीको बलियो आधार भएका प्यालेस्टाइनीहरूका सहरमा इजरायली विस्तारवादीहरूको आतङ्कले मलाई द्रवित तुल्याएको छ । उन्नाइसौँ शताब्दीको उत्तराद्र्धमा संरा अमेरिकामा भाग्नुअघि पूर्वी युरोपमा मेरो परिवारले सामना गर्नुपरेको आतङ्कको म स्मरण गर्छु । यिदिस (यहुदी समुदाय) शब्द ‘पोग्रोम’ले त्यत्तिबेला यहुदी समुदायलाई लक्षित गरी भएको नरसंहारलाई सही ढङ्गले अभिव्यक्त गर्नसक्छ । यो साता इजरायलीहरूले मच्चाएको हिंसालाई लिएर केही प्यालेस्टाइनीहरूले पनि यो शब्दको प्रयोग गरेका छन् । इजरायलीहरूले प्यालेस्टाइनीहरूका पसलहरूमा भाँचकुँच गरेको दृश्य सन् १९३८ मा नाजीहरूले गर्ने हमलाभन्दा फरक थिएन । त्यत्तिबेला नाजी हमलापछि बाटोमा यत्रतत्र छरिएको सिसा टुक्राको तस्वीरसँग अहिलेको इजरायलीहरूको हमलाको तस्वीर मिल्दोजुल्दो छ । प्यालेस्टाइनीहरू आज त्यो निर्ममताको प्रतिरोध गर्दै छन्, जाग्दै छन् । जसले उनीहरूको सङ्घर्षलाई अझ शक्तिशाली बनाएको छ ।
यी ऐतिहासिक तुलनाले वर्तमानलाई अझ प्रस्ट पार्छ । यी तुलनाले सन् १९४८ देखि १९९४ सम्म दक्षिण अफ्रिकामा उपनिवेशवादी जातिभेदको अन्त्यको लागि गरिएको सङ्घर्षजस्तै कदम चाल्न अभिप्रेरित गर्छ । खासमा यस्ता तुलना गर्नुको एउटा मूल ध्येय त हमलाकारी राज्यहरूलाई उत्तरदायी बनाउन विश्वव्यापीरूपमा उस्तै प्रतिक्रियाको अपेक्षा पनि हो । त्यही भएर आज प्यालेस्टाइनीहरू बितेका पन्ध्र वर्षदेखि अन्तर्राष्ट्रिय समुदायसमक्ष इजरायलीहरूलाई बहिष्कार, लगानी रोक र नाकाबन्दी गर्न आग्रह गर्दै आएका छन् । भारतीय समाजमा केही मुट्ठीभर मानिसले बहिष्कार, लगानी रोक र नाकाबन्दीको आह्वानलाई व्यवहारमा लागु गरेका छन् । तर, मूलधार त्योभन्दा निकै टाढा छ । यद्यपि, प्यालेस्टाइनी बहिष्कार आन्दोलन भारतसँग नजिकबाट सम्बन्धित छ, विशेषतः भारतले इजरायली हतियार प्रयोग गरिरहेको र कास्मिरमा प्रयोग गरिरहेको सन्दर्भमा ।
प्यालेस्टाइनलाई अझ नजिकबाट हेर्ने समय आएको छ । अनि उल्लेखित सम्बन्धबारे बुझ्ने अनि पहलकदमी लिने समय आएको छ । बेलायत राजको समयमा उपनिवेशवादीहरूले गरेका अपराधको विरोधमा उभिएका हामीले प्यालेस्टाइनमाथि उपनिवेशवाद थोपर्ने कदमको विरोध गर्नुपर्छ अथवा कुनै पनि त्यसखालका व्यवहारको विरोधमा उभिन आवश्यक छ ।
लेखक ‘द पोलिटिक्स अफ टिचिङ प्यालेस्टाइन टु अमेरिकन्स’ पुस्तकका लेखक हुनुहुन्छ ।
स्रोतः द वायर
नेपाली अनुवादः सुमन</







