
यो वर्ष चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो शतवार्षिकी मनाउँदैछ ।
चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना (सन् १९२१) देखि सन् १९४९ सम्मको सुरुका २८ वर्षलाई ‘क्रान्तिकारी युग’ पनि भनिन्छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले ‘क्रान्तिकारी युग’ चिनियाँ कम्युनिस्टहरूको लागि ‘उत्कृष्ट पाठ्यपुस्तक’ भएको बताउनुभएको छ । चीनका राष्ट्रपति तथा केन्द्रीय सैनिक आयोगका अध्यक्षसमेत रहनुभएका सी चिनफिङले क्रान्तिकारी युगका विभिन्न क्रान्तिकारी थलोको भ्रमण गर्नुभएको छ । उहाँले भ्रमण गर्नुभएको विभिन्न स्थलहरूको सङ्क्षिप्त चर्चा गरौँ ।
रातो डुङ्गा
“तिमीले किन कुनै पनि काम सुरु गरेको हो, त्यो पनि नबिर्सनु । तबमात्र तिमी आफ्नो लक्ष्यमा पुग्न सक्छौँ”, सन् २०१७ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौँ महाधिवेशनमा बोल्ने क्रममा सीले भन्नुभएको थियो ।
सो महाधिवेशन सकिएको एक सातापछि सीको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन भएको साङ्घाई र चाएसिङका विभिन्न थलोको भ्रमण गर्नुभएको थियो । पार्टी इतिहासको अध्ययनको क्रममा उहाँहरू ती स्थानमा पुग्नुभएको थियो ।
सन् १९२१ जुलाईमा एक दर्जन युवाहरूले साङ्घाईको फ्रान्स नियन्त्रित क्षेत्रको काठ र इँट्टाले बनेको एउटा सानो घरमा पहिलो महाधिवेशन गरेका थिए ।
“कमरेड माओ त्सेतुङले सो स्थानलाई चिनियाँ कम्युनिस्ट पार्टीको कोक्रो भन्नुभएको थियो । यो ज्यादै मिल्दो प्रतीक हो । म यो ठाउँलाई चिनियाँ कम्युनिस्टहरूका भावनाको मिलनबिन्दु मान्छु”, उहाँले भन्नुभयो ।
गुप्तचरहरूले दुःख दिएपछि महाधिवेशनका प्रतिनिधिहरू त्यहाँबाट पूर्वी चीनको चचियाङ प्रान्तको चाएसिङस्थित नानहु तालमा एउटा डुङ्गामाथि बसेर महाधिवेशन सञ्चालन गरेका थिए । प्रतिनिधिहरूबीच पार्टीको कार्यक्रम र प्रस्तावमाथि व्यापक छलफल भएको थियो ।
“प्रथम महाधिवेशनबाट पारित दस्तावेजमा चिनियाँ कम्युनिस्ट पार्टीले माक्र्सवाद–लेनिनवादप्रति कटिबद्ध रहने उल्लेख छ । माक्र्सवाद–लेनिनवाद पार्टीको मार्गदर्शन र आधारस्तम्भ हो”, सीले भन्नुभयो ।
नानहु डुङ्गालाई आजभोलि रातो डुङ्गा भनिन्छ । “त्यो डुङ्गाले नै चिनियाँ क्रान्तिको झिल्को बाल्यो र पार्टीको शताब्दी लामो यात्रा सुरु भयो”, सीले भन्नुभयो ।
एक सय वर्षपछि चिनियाँ कम्युनिस्ट पार्टी एउटा सानो पार्टीबाट ९ करोड १० लाख सदस्य भएको संसारकै सबभन्दा शक्तिशाली माक्र्सवादी सत्तारुढ पार्टी बनेको छ ।
लामो हिँडाइ
चिनियाँ कम्युनिस्ट पार्टीको क्रान्तिकारी इतिहासमा एउटा महत्र्वपूर्ण घटना भनेको ऐतिहासिक लामो हिँडाइ हो ।
सन् १९३४ को अक्टोबरदेखि सन् १९३६ को अक्टोबरसम्म लाल सेनाले १२ हजार ५ सय किलोमिटर लामो पैदल यात्रा गरी १० लाखभन्दा बढी शत्रु सेनालाई पराजित गरी अन्ततः उत्तरपश्चिम चीनमा क्रान्तिकारी आधार स्थापना गरेको थियो ।
त्यही बेलादेखि चीनको क्रान्ति विजयको बाटोमा अघि बढिरहेको छ ।
लामो हिँडाइलाई पार्टी इतिहासको विशाल महत्र्वको घटनाको रूपमा व्याख्या गर्दै सीले लामो हिँडाइका विभिन्न ऐतिहासिक थलोको भ्रमण गर्नुभयो ।
सन् २०१९ को मे महिनामा पूर्वी चीनको चाङ्सी प्रान्तको युतु काउन्टीमा भ्रमणको क्रममा लामो हिँडाइको केन्द्रीय लाल सेनाको बिदाइ गरिएको थलोमा स्थापना गरिएको स्मारकमा सीले सम्मान अर्पण गर्नुभयो ।
“दृढ विश्वास र बलियो इच्छाशक्तिमा भर परेर पार्टी र लाल सेनाले एकपछि अर्को असम्भव अवस्थाबाट अघि बढेर अन्तिम विजय हासिल गरेको थियो”, सीले भन्नुभयो ।
सन् २०२१ को अप्रिलमा दक्षिण चीनको क्वाङ्सी चुआङ स्वशासित क्षेत्रको स्मारक उद्यानमा भ्रमण गरी लामो हिँडाइको क्रममा सियाङचियाङ नदीमा भएको लडाइँको स्मरण गर्नुभयो । सीले क्रान्तिको लागि त्यो लडाइँलाई ‘जीवन–मृत्युको घटना’ भनी व्याख्या गर्नुभएको थियो ।
“क्रान्तिकारी आदर्श जताततै फैलिरहेको थियो । त्यही भएर लाल सेनाले सबै शत्रुलाई पराजित ग¥यो । चिनियाँ क्रान्तिको सफलताको एउटा रहस्य यही पनि हो”, सीले भन्नुभयो ।
लामो हिँडाइको क्रममा लाल सेनाको शत्रुसँग ६ सय पटक आमनेसामने भयो । झण्डै एक सय वटा नदी तरे । ४० भन्दा बढी हिमाल चढे । तीमध्ये २० वटा भन्दा बढी हिमाल चार हजार मिटरभन्दा अग्ला थिए । लाल सेनाले ‘मृत्युको पासो’ भनिने विशाल घाँसेमैदान र धरापिलो मैदानको यात्रा गरेको थियो ।
“हरेक पुस्ताको आफ्नै लामो हिँडाइ हुन्छ र हरेक पुस्ताले त्यो हिँडाइको सामना गर्नुपर्छ”, सीले भन्नुभयो,“हाम्रो पुस्ताको लामो हिँडाइ भनेको राष्ट्रिय पुनःजागरणको चिनियाँ सपना साकार पार्नु हो ।”
परीक्षा
पेइचिङबाट झण्डै ३५० किलोमिटर पर एउटा नगर छ–सिपाइपो । त्यो एउटा क्रान्तिकारी आधारक्षेत्र हो । सन् १९४८ को मेदेखि सन् १९४९ को सुरुसम्म चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व सो स्थानमा बसेको थियो । त्यहीं बसेर चिनियाँ कम्युनिस्ट पार्टीले सत्तारुढ दलको नयाँ भूमिकामा रहेर पार्टीले नयाँ देश कसरी बनाउने भन्ने विषयमा कार्यक्रम तर्जुमा गरेको थियो ।
सन् १९४९ को मार्चमा कम्युनिस्ट पार्टीको नेतृत्वले सिपाइपो नगर छोडेर पेइचिङ जाने निधो गरेको थियो । माओ त्सेतुङले पेइचिङतिरको यात्रालाई ‘राजधानीमा ठुलो परीक्षा जान लागेको’ भनी उपमायुक्त व्याख्या गर्नुभएको थियो ।
माओले सिङ्गो पार्टीलाई धैर्यशील, दृढ र घमण्डबाट मुक्त रहन तथा आफ्नो कार्यशैलीका निपुणता ल्याउन र सादा जीवन–कडा सङ्घर्षको जीवनशैली कायम राख्न आग्रह गर्नुभएको थियो ।
महासचिव सी धेरै पटक सिपाइपो पुग्नुभएको छ । “हरेक पटक म यहाँ उच्च सम्मानका साथ आउने गर्छु र धेरै विचार बोकेर जाने गर्छु”, सीले सन् २०१३ मा सो नगरको निरीक्षणको क्रममा भन्नुभएको थियो । सो भ्रमणको क्रममा सीले सिङ्गो पार्टीलाई पार्टीको इतिहासबाट सकारात्मक ऊर्जा प्राप्त गर्न र जनताले लिने परीक्षामा सफल हुन आग्रह गर्नुभयो ।
जनवादी गणतन्त्र चीनको ७० औँ स्थापना दिवस आउन केही दिनअघि सन् २०१९ को सेप्टेम्बरमा सीले पेइचिङ नजिकैको एउटा क्रान्तिकारी स्मारकको भ्रमण गर्नुभएको थियो । सिपाइपोबाट आएको चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व त्यो ठाउँमा बसेको थियो ।
सीले ७० वर्षअघि ‘ठुलो परीक्षा’ को सन्दर्भ अहिले पनि सान्दर्भिक भएको बताउनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरूले आफ्नो क्रियाशील भावना कायम राख्नुपर्ने, पार्टीको शुद्धता र अग्रगामी चरित्र सुनिश्चित गर्नुपर्ने र नयाँ युगका परीक्षा उत्तीर्ण गर्नुपर्नेमा सीले जोड दिनुभयो ।
“अघि हेर । चीनको लागि विकासको अझ उज्यालो सम्भावना छन्”, उहाँले भन्नुभयो ।







