विश्वको एक भाग खान नपाएर भोकले छटपटाउँदै प्रत्येक घण्टा ४०० को हिसाबले संसार छोडिरहेका छन् । अर्को ठुलो क्षेत्रमा पिउने पानी नपाएर हाहाकार छ । कतै न्यूनतम स्वास्थ्य सुविधा नपाएर छटपटाएर मरिरहेका छन् । यसको विपरीत विश्वको कुनै भागमा उपरोक्त कुनै समस्या छैन (साधारणतया) । ती देशमा चारैतिरबाट पैसाको खोलो बग्ने गर्छ–असीमित नाफा वा शोषणबाट । त्यस पैसालाई सुकार्यको साथसाथै निकृष्ट कार्यमा पनि उपभोग गरिन्छ । विशेषगरी हतियारको अनुसन्धान, निर्माण एवम् भण्डारमा यी कार्यमा संयुक्त राज्य अमेरिका र सोभियत रुसको भूमिका प्रमुख छ । यी दुई देशलाई महाशक्ति देश पनि भनिन्छ । महाशक्ति भन्नाका कारणहरूमध्ये एउटा यी देशसँग विश्वलाई कैयौँपटक ध्वस्त पार्न सक्ने वा पुग्ने हतियारको निर्माण गरी भण्डार गरिएकोले पनि हुनसक्छ ।
हतियारको पहिलो र अन्तिम लक्ष्य प्राणीको हत्या गर्नु हो । संसारभरका माग्ने र थाङ्नेहरूबाट पैसा–पैसा सोहरेर थुपारिएको रकमले ती हतियार निर्माण गरिन्छ । ती हतियारलाई छातीमा थाप्नेहरू पनि भोलि ती माग्ने र थाङ्ने नै हुन्छन् । दक्षिण अफ्रिकाको काला होस् वा निकारागुआली या कम्पुचियालीमात्र ठाउँ फरक हुनेछ ।
आज हिरोशिमा र नागाशाकीको भयानकताभन्दा धेरै चर्को हाहाकार मच्चाउन सक्ने हतियारहरू निर्माण र सङ्ग्रह भइसकेका छन् । विश्वको सचेत वर्ग यसबाट चिन्तित छ । यी नै चिन्तालाई ध्यानमा राखेर संयुक्त राष्ट्र सङ्घले सन् १९८६ लाई अन्तर्राष्ट्रिय शान्ति वर्षको रूपमा मनाउन आह्वान गरेको थियो ।
विडम्बना
लाखौँ करोडौँ वर्ष लगाएर आजको अवस्थामा पुगेको मानव सभ्यतालाई क्षणभरमा नष्ट पार्नसक्ने हतियार त्यो विश्वमा प्रचुर मात्रामा सङ्ग्रह भइसकेका छन् । यस सन्दर्भमा अन्तर्राष्ट्रिय शान्ति वर्ष १९८६ को ठुलो महत्व छ । तर तथ्यले यस शान्ति वर्षलाई विडम्बनामा परिणत गरेको छ ।
यहाँनिर अमेरिकी शास्त्र नियन्त्रण एवम् निशस्त्रीकरण संस्थाका एक भूतपूर्व अधिकारी श्री रुथ सिवार्डको प्रतिवेदनको केही अंश उल्लेख गर्नु सान्दर्भिक हुनेछ । ‘विश्व सैनिक तथा सामाजिक व्यय’ शीर्षकमा श्री सिवार्डले तयार पार्नुभएको प्रतिवेदनमा भनिएको छ, “अन्तर्राष्ट्रिय शान्ति वर्ष–१९८६’ मा हतियारमा पहिलेभन्दा बढी खर्च हुने सम्भावना छ । गत वर्ष रक्षामा ८,१०,००,००,००,००० (आठ खरब दस अरब) डलर खर्च भएको थियो । यस ‘शान्ति वर्ष’ मा त्यो रकम बढेर ९,००,००,००,००,००० (नौ खरब) डलर खर्च हुने सम्भावना छ । यस हिसाबले विश्वमा आज प्रत्येक मिनेटमा १७,००००० (सत्र लाख) डलर खर्च हुनेछ ।”

मिखाइल गोर्भाचेभ र रोनाल्ड रेगन

विश्वमा हतियारमा खर्च हुने कुल रकमको ६० प्रतिशत अमेरिका र सोभियत रुसले खर्च गर्ने गरेको कुरा पनि उक्त प्रतिवेदनमा उल्लेख छ । विश्वमा भएको परमाणु हतियार भण्डारको कुल विस्फोटक ऊर्जाको ९७ प्रतिशत त अमेरिका र सोभियत सङ्घको कब्जामा छ ।
हतियार निर्माणमा त्यत्रो परिमाण रकम खर्च गरिने यो विश्वमा अर्को विडम्बना स्वास्थ्य क्षेत्रमा देखापरेको छ । विद्वानहरूको मत छ कि विश्वमा एक घण्टा हतियारमा गरिने खर्चको रकमबाट विश्वव्यापीरूपमा बिफरलाई उन्मूलन गर्न सकिन्थ्यो । हतियार होडबाजीमा १२ घण्टामात्र खर्च गरिएन भने त्यसबाट बचत भएको रकमले पृथ्वीका सम्पूर्ण केटाकेटीलाई सरुवा रोगबाट जोगाउन पर्याप्त हुनेछ । विश्व स्वास्थ्य सङ्घले विश्वबाट औलो उन्मूलन गर्न ७ अरब ५० करोड डलर माग गरेकोमा उसलाई मात्र ३ करोड डलर प्राप्त भयो । जबकि विश्वले ३ दिन २ घण्टा हतियारमा खर्च नगरिदिएको भए हाम्रो घर–यो विश्व बिफरझैँ औलोमुक्त बनाउन सकिन्थ्यो ।
हतियार निर्माण र सङ्ग्रहमा अमेरिका र सोभियत रुस अग्रणी भएकोले हतियार नियन्त्रण गर्ने दायित्व पनि तिनीहरूमाथि नै छ । त्यसैले ती देशका प्रमुखहरू एउटै टेबुलको दुई छेउमा बस्दा विश्वको ध्यान तान्ने गर्छ । तर, त्यसरी बस्ने स्थितिको वातावरण तिनीहरूको स्वविवेकले भन्दा विश्व जनमतको दबाबबाट श्रृजना हुने गर्छ । जनता नै विश्वको सबभन्दा बलियो शक्ति हो ।
रेक्याभिकतिर
यसै क्रममा गत अक्टोबर ११ र १२ का दिन सोभियत सङ्घको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव मिखाइल सेर्गेयेभिच गोर्भाचेभ र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगनबीच वार्ता भएको थियो । यो वार्ता आइसल्यान्डको राजधानी रेक्याभिकको होपदी भिल्लामा भएको थियो । रेक्याभिकमा भएको यस वार्तालाई दुई शिखर सम्मेलनबीचको बैठक, कार्य बैठक, तयारी बैठक, आकस्मिक बैठक, लघु शिखर सम्मेलन, शिखर सम्मेलन आदि नाम दिइएको छ । जनुसुकै नाम दिइए तापनि शीत युद्धपछि सोभियत रुस र अमेरिकाका नेताहरूबीचको यो बा¥हौँ मुखेन्जी बसाई हो ।

रेक्याभिकमा वार्ता गर्ने समत्न्दा अगाडिको स्थिति हेर्दा तनावपूर्ण देखिन्थ्यो । संयुक्त राष्ट्र सङ्घमा कार्यरत एक रुसी गेन्नाडी जाखारोभलाई अमेरिकी प्रशासनले अगस्त २३ मा पक्राउ ग¥यो । त्यसको केही दिनपछि अर्थात् अगस्त ३० मा रुसमा कार्यरत अमेरिकी पत्रकार निकोलस डानिलोफलाई मास्कोमा पक्राउ गरियो । ती दुवैलाई जासुसीको आरोपमा पक्राउ गरिएको थियो । रुस, अमेरिका या अन्य देशमा जब विदेशीलाई जासुसीको आरोपमा पक्राउ गरिन्छ ती सबै तथ्य नै हुन्छ भन्न सकिन्न ! विश्व जनमतको ध्यान मोड्न या तनावलाई बढाउने पनि त्यस्ता आरोप प्रत्यारोपका खेल महाशक्ति देशहरू खेल्ने गर्छन् । उक्त दुवै व्यक्ति सेप्टेम्बर १२ मा रिहा भए र सेप्टेम्बर १७ मा अमेरिकी प्रशासनले फेरि संयुक्त राष्ट्र सङ्घमा कार्यरत २५ जना रुसी कूटनीतिज्ञहरूलाई निकाला ग¥यो । त्यसको केही दिनपछि अर्थात् सेप्टेम्बर ३० मा मस्को, वाशिङ्टन र रेक्याभिकमा शिखर नेताहरूको वार्ताको घोषणा गरियो । यो बैठक सोभियत रुसको अग्रसरतामा भएको थियो । यो घोषणापश्चात् रुसले आफ्नो प्रतिष्ठालाई केही दिनको निम्ति स्थगित ग¥यो । आफ्ना नागरिकलाई कुनै देशले निकाला गर्नासाथ ती देशका नागरिकलाई पनि निकाला गर्ने गरिन्थ्यो । तर, परम्पराविपरीत रुस चुप लागेर बसिदियो–पृथ्वीवासीको व्यापक हितको निम्ति । यसरी चुप लाग्नु विश्वको पहिलो समाजवादी राष्ट्र सोभियत सङ्घले अमेरिकी पक्षलाई वार्ताको निम्ति दिएको पहिलो सहुलियत मान्न सकिन्छ । यदि वार्ता सफल भएको भए के हुन्थ्यो त्यो भन्न सकिन्न तर वार्तापछि अक्टोबर १९ मा ५ अमेरिकीलाई रुसबाट निकाला गरेबाट उक्त सहुलियतको पुष्टि हुन्छ । त्यसपछि अक्टोबर २१ मा अमेरिकाबाट फेरि ५५ जना रुसीलाई निकाला गरियो । अनि अक्टोबर २२ मा रुसबाट ५ जना अमेरिकी निकाला र रुसस्थित अमेरिकी दूतावासमा कार्यरत २६० जना कामदारहरू झिकेर दूतावासका अमेरिकीहरूलाई आच्छुआच्छु पारेपछि मात्र अमेरिकी प्रशासन ठाउँमा आएको थियो ।
रेक्याभिकमा
रेक्याभिकमा दुई शिखर नेताबीच वार्ताका लागि चार मुख्य विषय थिए । १) निशस्त्रीकरण २) मानवाधिकार ३) क्षेत्रीय विवाद ४) द्विपक्षीय सम्बन्ध ।
यी चार विषयमध्ये सबभन्दा बढी चासोको विषय निशस्त्रीकरण हो । शस्त्रास्त्रको ‘डेमोकल्सको तरबार’ मुनि अन्य विषय निश्चय पनि गौण छन् । यद्यपि, रेक्याभिकमा ती विषयले पनि वार्तामा राम्रो वातावरण पाएको थियो ।
रेक्याभिकमा वार्ताको पहिलो दिनको साँझसम्ममा हतियार नियन्त्रण, द्विपक्षीय सम्बन्ध, क्षेत्रीय विवाद र मानव अधिकारबारे दुईवटा कार्यसमूह गठन गरिएको थियो । ती समूहमा अमेरिकी र सोभियत प्रतिनिधिहरूले निकै जोडतोडले सहमतिमा पुग्न वार्तालाई अगाडि बढाउँदै थिए ।
रेक्याभिकमा महासचिव गोर्भाचेभ र राष्ट्रपति रेगनबीच के के कुरा भए त्यो स्पष्ट छैन । त्यहाँ दुवै नेता र उहाँहरूको द्वेभाषेमात्र थिए । वार्ता भइरहँदा कुनै पनि कुरा प्रकाशमा नल्याउन (News Black out) दुबै नेताको सहमति भएको थियो । पछि उहाँहरूले गर्नु भएको पत्रकार सम्मेलन र टी.भी. भाषणबाट मात्र वार्तालापबारे प्रकाशमा ल्याइएको थियो ।
रेक्याभिकमा सोभियत पक्षले आणविक (Nuclear) हतियार घटाउने ऐतिहासिक प्रस्तावहरू राखेका थिए । ती प्रस्तावअनुसार पहिलोमा भूमिकाबाट प्रक्षेपण गरिने अन्तर महाद्विपीय सामरिक क्षेप्यास्त्र, पनडुब्बीबाट प्रक्षेपण गरिने सामरिक क्षेप्यास्त्र र सामरिक बम वर्षकहरूलाई आधा घटाउने थियो । त्यस्तै दोस्रोमा युरोपमा स्थापना गरिएका सोभियत र अमेरिकाको मध्यम दूरीका क्षेप्यास्त्रहरू पूर्ण उन्मूलन गर्ने प्रस्ताव राखिएको थियो । स्मरणरहोस्, केही पश्चिमी युद्धविद्हरूका अनुसार मध्यम दूरीका क्षेप्यास्त्रहरूमा सोभियत रुस अगाडि छ । यसै प्रस्तावअनुसार दुवै पक्षले आ–आफ्नो देशमा १००–१०० वटा मात्र मध्यम दूरीमा क्षेप्यास्त्रका युद्धास्त्र (War heads) राख्न पाउनेछन् । यसअघि सोभियत रुसको एसिया क्षेत्रमा ठुलो मात्रामा त्यस किसिमका हतियारहरू थिए । सोभियत पक्षले राखेको तेस्रो प्रस्ताव थियो– सन् १९७२ मा भएको क्षेप्यास्त्रविरोधी सन्धि (ABM–Anti Ballistic Missiles) लाई दुवै पक्षको सहमतिमा सशक्त बनाउने र १० वर्षसम्म हट्न पाउने अधिकार प्रयोग नगर्ने अर्थात् कोही पनि नहट्ने । त्यस १० वर्षमा आणविक परीक्षणहरूमाथि प्रतिबन्ध लगाइनेछ ।
पहिलो, दोस्रो र तेस्रो प्रस्तावमा दुवै नेताहरू सहमतिको बिन्दुमा पुग्नु विश्वको लागि निकै हर्षको कुरा थियो । तेस्रो प्रस्ताव सम्बन्धमा सोभियत पक्षले १५ वर्ष समय तोकेको र अमेरिकी पक्षले ५ वर्षमात्र पालना गर्ने भनिएको थियो । तर, १० वर्षमा दुवै पक्षको सहमति भयो । यहाँसम्मको वार्ता सफलतामा टुङ्गिने आशा जो कोहीले गर्नसक्थ्यो र तथ्य पनि त्यही थियो । त्यसको पुष्टि तीन पटक हुने भनिएको वार्ता पूर्वनिर्धारित कार्यक्रम नभए पनि चौथोपटक वार्ता भएबाट हुन्छ । यदि वार्ता सफलतामा टुङ्गिएको भए सन् १९९६ को अन्त्यसम्ममा सोभियत सङ्घ र अमेरिकासँग भएको सामूहिक प्रहारात्मक शस्त्रास्त्रहरू पूर्णतः उन्मूलन हुने थियो ।
वार्ताकै सिलसिलामा महासचिव गोर्भाचेभले राष्ट्रपति रेगनलाई सम्झाउनुभयो कि क्षेप्यास्त्रविरोधी सन्धिअनुसार आक्रामक हतियारहरूको अनुसन्धान र परीक्षणलाई प्रयोगशालाभित्र मात्र सीमित गरिनुपर्छ । यो नीतिलाई कडाइसाथ दुवै पक्षले पालना गरिनु अनिवार्य छ । स्वीकारिसकेको प्रस्तावलाई प्रयोगशालाभित्र सीमित गर्ने कुराले सायद राष्ट्रपति रेगन होसमा आउनुभयो । उहाँको अनि प्रिय SDI अर्थात् क्तचबतभनष्अ म्भाभलअभ क्ष्लष्तष्बतष्खभ (सामरिक सुरक्षा अग्रसरता) लाई पनि क्षेप्यास्त्रविरोधी सन्धिले प्रयोगशालाभित्र सीमित गर्नसक्छ भन्ने उहाँले सायद बिर्सनुभयो । तब वार्तामा गर्मागर्मी चल्यो । महासचिव सन्धिलाई पूर्ण पालना गराउन खोज्ने र राष्ट्रपतिबाट सन्धिको अनुकूल धारा मान्ने र अरू नमान्ने वा छुट पाइनुपर्ने बेमेलका कुरा भए । त्यसो त गोर्भाचेभले रुसलाई हानि पु¥याउन सक्ने फरवार्ड बेस्ड प्रणालीहरूलाई बेवास्ता गर्नु र फ्रान्स र बेलायतको आणविक सामथ्र्यलाई वार्तामा उल्लेख नगर्नुजस्ता सहुलियत दिएकै हो । तर, अमेरिकी पक्षको स्वार्थले रेक्याभिक वार्ता गएगुज्रेको अवस्थासम्म असफल हुन पुग्यो– कारण वाशिङ्टन शिखर सम्मेलनको निम्ति मितिसम्म पनि निश्चित हुन सकेन ।
यो असफलताको लागि एकले अर्कोलाई दोष दिएका छन् । तथ्यले के भन्छ त ?
दोष कसको ?
राष्ट्रपति रेगनको तर्क छ– रेक्याभिकमा हामी शान्तिको प्रयासलाई अघि बढाउन हातहतियार नियन्त्रण गर्न ऐतिहासिक टुङ्गोमा पुग्नै लागेका थियौँ । तर, महासचिवले अस्वीकार गर्नुभयो । महासचिवले के कुरामा अस्वीकार गर्नुभएको थियो ? राष्ट्रपति रेगनकै शब्दमा उहाँले स्वतन्त्र विश्वका जनतालाई आणविक (Nuclear) क्षेप्यास्त्रबाट सुरक्षा गर्ने हाम्रो ढाल (SDI) अर्थात् ‘स्टारवार’ को १० वर्षसम्म अनुसन्धान, परीक्षण र प्रयोग गर्ने अधिकारबाट वञ्चित गर्न सम्झौता गराउन खोज्नुभयो ।
राष्ट्रपति रेगनको यो भनाइ गलत छ । महासचिव गोर्भाचेभले ‘स्टार वार’ माथिको अमेरिकी अधिकारलाई वञ्चित गर्न खोज्नुभएको थिएन । उहाँले त प्रयोगशालामा सीमित गरिनुपर्ने मात्र भन्नुभएको थियो, जुन नयाँ थिएन । सन् १९७२ मा भएको क्षेप्यास्त्रविरोधी सन्धि (ABM) भित्रकै कुरो हो ।
अमेरिकी पक्षले हास्यास्पद तर्क पनि प्रस्तुत ग¥यो–वार्तामा ।
सन् १९८६ जनवरी १५ मा महासचिव गोर्भाचेभले सन् २००० सम्ममा विश्वबाट आणविक हतियार उन्मूलन गर्ने घोषणा गर्नुभएको थियो । त्यसै ध्येय पूर्तिको निम्ति सोभियत पक्षले एकपछि अर्को छुट दिइएको थियो– वार्तामा, राष्ट्रपति रेगनले झैँ लिँडेढिपी लिइएको थिएन । तर, ती छुटहरूलाई अमेरिकी पक्षले गलत ढङ्गले लिएको देखिन्छ । एकातिर आणविक हतियारहरू उन्मूलन गर्न राष्ट्रपति रेगन सहमतिमा पुग्नुहुन्छ । अर्कोतिर उन्मूलन हुन गइरहेका हतियारबाट बच्ने ‘ढाल’ बनाउँदैे जाने छुट पनि चाहनुहुन्छ । त्यत्रो शक्तिशाली राष्ट्रका राष्ट्रपतिको कुरा केटाकेटीको जस्तो भन्दा नमज्जा लाग्न सक्छ । तर, संसारबाट लोप भइसकेको डायनोसरबाट बच्ने उपाय खोज्नेलाई बुद्धिमानी भन्न पनि त सकिन्न ! जब आणविक हतियार उन्मूलन गर्न सहमति छ भने त्यसैबाट सुरक्षा गर्ने ‘स्टार वार’ को आवश्यकता नै किन ? ‘स्टार वार’ को विकासबाट के प्रस्टिन्छ भने अमेरिकी पक्ष हतियार उन्मूलन गर्न चाहँदैन । बरु अझै प्रलयकारी हतियार निर्माण गर्न चाहन्छ–शान्तिको नाममा । यद्यपि, राष्ट्रपति रेगनको बुद्धिमानी एउटा कुरामा देखिन्छ । अमेरिकाले ‘स्टार वार’ प्रगति गरेझैँ सोभियत रुसले पनि त्यो अवधिमा त्यस्तै हतियार बढाओस् ! तर, यो बुद्धिमानी कुरा शान्तिकामी जनताको लागि होइन, बुद्ध जन्मेको नेपालीलाई त झनै होइन । राष्ट्रपति रेगनको बुद्धिमानी उपदेश हतियार होडबाजी चर्काएर युद्ध गर्न मनपराउनेहरूको लागि हो । अर्को शब्दमा भन्ने हो भने युद्धप्रेमीहरूको निम्ति स्वर्ण वाक्य हो, हतियार निर्माताहरूको निम्ति स्वर्ण अवसर । त्यसैले गोर्भाचेभले राष्ट्रपति रेगनको ‘स्टार वार’ लाई छुट दिने काम बहुलाबाट मात्र सम्भव छ भनेर स्पष्ट गर्नुभयो ।

‘स्टार वार’ के हो ?
‘स्टार वार के हो ? यसको कार्यविधि के हो ? यसबारे वर्ष ३ अङ्क १० र ११ को मासिक पञ्चायतमा विस्तृत जानकारी प्रकाशित भइसकेको छ । सङ्क्षेपमा भन्ने हो भने शत्रु पक्षले हानेको आणविक क्षेप्यास्त्रलाई बीचैमा नष्ट गर्नसक्ने हतियारलाई नै राष्ट्रपति रेगनको सामरिक सुरक्षा अग्रसरता ९क्म्क्ष्० या ‘स्टार वार’ हो । शत्रु पक्षले कुनै बेला कहाँबाट क्षेप्यास्त्र प्रक्षेपण गर्छ त्यो थाहा पाउने काम र त्यसलाई कसरी नष्ट गर्ने भन्नेजस्ता यावत कुरा कुनै व्यक्ति या व्यक्ति समूहले गर्न सक्दैन । त्यसको निम्ति यस्तो एउटा सुपर (उच्च स्तरको) कम्प्युटरको विकास गरिँदै छ जसले प्राप्त सूचनाको विश्लेषण र तत्काल प्रहारको आदेश दिन सक्ने अर्थात् युद्ध सञ्चालन गर्न सकोस् । तर, कम्प्युटर विशेषज्ञहरूको राय छ कि यसको सफल परीक्षण महायुद्धमा मात्र गर्न सकिन्छ । कुरा स्पष्ट छ, सुपर कम्प्युटरको सफलताको निम्ति निकट भविष्यमा एउटा महायुद्ध आवश्यक छ । यसैबाट कम्प्युटर क्षेत्रमा अमेरिकी श्रेष्ठता प्राप्त हुनेछ । शत्रु पक्षको क्षेप्यास्त्र नष्ट गर्ने भएकोले यसलाई ढाल भनिएको हो । तर, आकाशमा बेतोडले उडिरहेको क्षेप्यास्त्रलाई नष्ट गर्नसक्ने ‘स्टार वार’ कम्प्युटरले निश्चल रहेको कारखाना, सहरलाई नष्ट गर्नसक्दैन ? उडिरहेको चरा मार्न सक्ने शिकारीले सुतिरहेको जनावरलाई मार्न सक्दैन वा मार्दैन भन्ने अमेरिकी प्रचार छ ।
‘स्टार वार’ योजना ढाल भनी जतिसुकै प्रचार गरे पनि यो आक्रामक हतियार हो । आणविक हतियार क्रमशः पूर्ण उन्मूलन गर्ने अवसर त्यागेर पनि अमेरिकी पक्ष ‘स्टार वार’ लाई नचाहेबाट आक्रामक हतियार नै हो भन्ने तर्कलाई बल पुग्दछ ।
त्यसो त, सोभियत पक्ष र नेताले ‘स्टार वार’ को ज्यादै तीव्र आलोचना गरेकोले अमेरिकी पक्षलाई के भान पर्न गएको छ भने कम्युनिस्टहरूले विरोध गर्नुको अर्थ यो राम्रो कुरा हो । त्यसैले पनि अमेरिकी पक्ष ‘स्टार वार’ प्रति लिसोझैँ टाँसिएको देखिन्छ । तर कुरा त्यतिमै टुङ्गिदैन ।
संयुक्त राज्य अमेरिका उद्योग, उत्पादन, प्रविधि हतियार आदि क्षेत्रमा पुँजीवादी राष्ट्रहरूको नाइके मानिन्छ । आफ्ना सम्बद्ध राष्ट्रहरूको सुरक्षा र विकासमा संरक्षक रहेको अमेरिका आज त्यो पदमा रहन नसक्ने स्थितिमा पुगेको छ । ऋणदाता राष्ट्रबाट ऋणी अवस्थामा पुगेको छ । औद्योगिक राष्ट्रमा गनिएको अमेरिकाले आज उत्पादन प्रतिस्पर्धामा आफ्नो स्थान गुमाएको छ । सोभियत रुससँग मात्र होइन आफ्नै सम्बद्ध राष्ट्रहरूसँग पनि श्रेष्ठता हासिल गर्न अमेरिकालाई धौ धौ परिरहेको छ । पश्चिम जर्मनी र जापानजस्ता देशले औद्योगिक, प्रविधि, आर्थिक र व्यापार प्रतिस्पर्धामा ओरिकालाई उछिन्नै आँटेको छ । जताततै ¥हासोन्मुख स्थितिमा पुगेको अमेरिकालाई कुनै पनि राष्ट्रले टेर्नेछैन । यस्तो विकट परिस्थितिमा आफ्नो शक्ति र श्रेष्ठताको प्रभुत्व कायम गर्ने विकल्प अमेरिकासँग एउटै बाँकी छ, त्यो हो– ‘स्टार वार’ ! अमेरिकी सीनेटका एक नेता रवर्ट बिय्र्डका अनुसार, ‘स्टार वार’ माथि राष्ट्रपति रेगनको जोड वस्तुतः आयात र कृषि मूल्यबाट ध्यान हटाउने प्रयास हो । त्यसैले रेगन प्रशासनले ‘स्टार वार’ मा अन्धाधुन्ध रकम खर्च गरिरहेको छ । वार्षिक ३ अरब डलर खर्च छुट्याइएको ‘स्टार वार’ योजनाका वैज्ञानिकहरूलाई ठुलो लोभ पनि देखाइएको छ । कति प्रतिभाशाली युवा वैज्ञानिकहरूलाई त्यस योजनामा कार्य गर्न विवश पारिरहेछ । तर, अमेरिकाका थुप्रै भौतिकविदहरू ‘स्टार वार’ योजनाका विरोधी छन् । १५ जना नोबेल पुरस्कार प्राप्तसहित सात हजारभन्दा बढी वैज्ञानिकहरूले ‘स्टार वार’ योजनालाई अनैतिक र अव्यावहारिक भनेर काम गर्न अस्वीकार गरिसकेका छन् । सन् १९८३ मा निर्धारित योजनाभन्दा आजको योजना धेरै फरक भइसकेको र निरन्तर हेरफेर गरिरहेबाट अव्यावहारिक भन्ने कुरा पुष्टि हुन्छ ।
अमेरिकाको सहुलियत ?
अमेरिकी राष्ट्रपति रेगनका अनुसार सोभियत सङ्घसँग मोलतोल गर्न सकिने पश्चिमी विश्वको राम्रो उपाय ‘स्टार वार’ हो । सोभियत पक्ष वार्तामा आउनुको कारण पनि स्टार वार नै हो । पश्चिमी विद्वानहरू पनि त्यस्तै सोच्छन्–रेक्याभिकमा सोभियत पक्षले दिएको भारी सहुलियत रुसको कमजोर स्थितिको कारण हो । सोभियत सङ्घले हतियार होडबाजीलाई आर्थिक दृष्टिले सहन गर्न सक्नेछैन । त्यसैले स्टार वार सम्बन्धमा रेगनले अडी लियो भने अन्ततः गोर्भाचेभ झुक्नेछन् र युद्धप्रेमीहरूको अनुकूल सम्झौता हुनेछ । स्टार वारलाई मानेपछि मात्र अन्य हतियारसम्बन्धी सम्झौता गरिनुपर्छ । यस्तो ठम्याइ राख्नेहरूमा विद्वान’ हेनरी किसिञ्जर पनि थिए ।
तर वार्ता टुङ्गिएकै दिन रेक्याभिकमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महासचिव गोर्भाचेभले, “सामरिक सुरक्षा अग्रसरताले हामीलाई तर्साउँदैन” भन्नुभयो । उहाँले भन्नुभयो, “सामरिक सुरक्षा अग्रसरताको जवाफ दिइनेछ ।” त्यसको घोषणा पनि भइसकेको छ ।
रुसका वैज्ञानिकहरूको एक विशेष समितिले अमेरिकी ‘स्टार वार’ कार्यक्रमविरुद्ध सोभियत रुसले प्रतिरोधी र अप्रतिरोधी दुवै प्रकारका उपाय गरिनेछ । यसको स्पष्ट अर्थ हतियार होडबाजीको नयाँ चरण सुरु भइसकेको छ । यो चरणको सुरु पनि फेरि एकपटक अमेरिकाले नै गरेको हो ।
“अमेरिकाले सबभन्दा पहिलो आत्मरक्षाको लागि भनेर परमाणु हतियार बनाएको थियो । आज विश्वको सम्पूर्ण परमाणु हतियार समाप्त पार्न भनी अन्तरीक्ष युद्धको निम्ति हतियार बनाइरहेछ ।” यो भनाइ नोबेल पुरस्कार विजेता जर्ज बाल्डको हो ।
सोभियत सङ्घ ‘स्टार वार’ विरुद्धको प्रतिरोधी र अप्रतिरोधी उपायबारे बेलायतका शस्त्रास्त्र विशेषज्ञ बर्नाड ब्लेकका अनुसार रुसको यो उपाय सोचेभन्दा धेरै नै अगाडि छ । अमेरिकाको स्टार वारको तुलनामा रुसको पक्ष कमजोर छ भन्ने सोचाइ राख्नेहरूले पुनः एकपटक सोच्नै पर्ने भएको छ भनेर ब्लेकले जोड दिएका छन् ।

यी कुराको सुईँको पाएर हो वा के कारणले हो रेगनको स्टार वार प्रविधिमा रुसलाई पनि साझेदारी गर्न दिने कुरा प्रकाशमा आएको छ । अमेरिकाको यो बौद्धिक टाटपल्टाइबाहेक अरू हुनैसक्दैन । रुसी क्षेप्यास्त्रविरुद्धको ढाल, रुसभन्दा श्रेष्ठता हासिल गर्नुपर्ने हतियार, जुन हतियारको कारण रुस वार्तामा आएको छ । त्यस्तो सर्वश्रेष्ठ हतियार प्रविधिमा रुसलाई साझेदारी गराउनु–कति हास्यास्पद कुरा ! यो कतै रुसलाई दिइएको घुस त हैन ? अथवा सहुलियतमात्र ?
असफलताको परिणाम
रेक्याभिक वार्ता असफलतामा टुङ्गिएपछि विश्व जनमतको न्यायालयमा रेगन अति फितलो देखिएका छन् । सुरक्षित विश्वको निम्ति प्राप्त हुनै लागेको ठुलो मौका गुम्यो । यसको कारण ‘स्टार वार’ र यसका ‘बाबु’ राष्ट्रपति रेगनप्रतिको जनआस्था घटेको हो ।
रेक्याभिकमा आणविक खतरा समाप्त पार्ने मौकालाई लात मारेर अमेरिकामा पुगेपछि राष्ट्रपति रेगनले ‘शान्ति र हातहतियार नियन्त्रणको नयाँ सुरुवात’ भनी जोडतोडले प्रचार गर्नुभयो र ‘आफू आशावादी’ भएको र ‘वार्ताद्वारा खुला’ भएको जानकारी दिनुभयो । तर, अमेरिकी जनताले राष्ट्रपति रेगनको प्रचारमा विश्वास गरेझैँ लाग्दैन । अमेरिकाको दुवै सदनमा डेमोक्राय्टहरूको बहुमत भयो जुन राष्ट्रपति र रिपब्लिकन पार्टीको निम्ति प्रतिकूल छ । यसको पहिलो सङ्केत ‘स्टार वार’ योजनाको लागि रकम घटाइने भएको छ ।
सन्तुलन–भण्डार या उन्मूलनमा ?
रुसीहरूले हतियार होडबाजीमा थुप्रै रुबल लगानी गरे–सन्तुलनको निम्ति ! अमेरिकाले पनि हतियार होडबाजीमा थुप्रै डलर लगानी ग¥यो–सन्तुलनको निम्ति ! तर महाआश्चर्यको कुरा यो सन्तुलन कहिल्यै आउँदैन । विश्व जनतालाई धोखा दिनमात्र प्रयोग गरिने बहुप्रचारित सन्तुलन आफैमा असन्तुलित देखिन्छ । त्यसैले वास्तविक सन्तुलन उन्मूलनमा छ, निर्माण र भण्डारमा होइन ।
अन्तर्राष्ट्रिय सामरिक अध्ययन संस्थाले ‘सैन्य सन्तुलन १९८६÷८७’ शीर्षकमा प्रकाशित गरेको तथ्याङ्कअनुसार “सोभियत सङ्घ अन्तर महाद्वीपीय क्षेप्यास्त्रमा अमेरिकाभन्दा अगाडि छ । अमेरिका पनडुब्बीबाट प्रक्षेपण गरिने आणविक क्षेप्यास्त्रमा दोब्बरले (२ः१), विमानबाट प्रक्षेपण गरिने आणविक क्षेप्यास्त्रमा चौब्बरले (४ः१) सोभियत सङ्घभन्दा अगाडि छ ।”
रुसको कुल वार्षिक बजेटको ४.६ प्रतिशत र अमेरिकी सङ्घीय बजेटको ३३.३ प्रतिशत रक्षामा खर्च हुने कुरा यहाँनिर उल्लेखनीय छ । फलस्वरूप विश्वव्यापीझैँ अमेरिकी सैनिक आधार क्षेत्रहरू फैलिएका छन् ।
अमेरिकीहरूको एक प्रचारअनुसार सोभियत सङ्घलाई आणविक हतियार आवश्यक छ जसले उसलाई महाशक्ति बनाउँछ ।
अर्को प्रचारअनुसार गोर्भाचेभ कुनै टुङ्गोमा पुग्नेछैन मात्र मोलतोलको स्थितिमा छ ।
नाटो ९ल्ब्त्इ० देशका मन्त्रीहरूले युरोपमा क्षेप्यास्त्रहरू एकैचोटि उन्मूलन नगरी बिस्तारै हटाउनुपर्ने राय व्यक्त गरेका छन् । एकैचोटि हटाइएमा रुसको छोटो दूरीका आणविक क्षेप्यास्त्र खतरनाक हुनेछ । यस ‘खतरा’ लाई गोर्भाचेभले युरोपबाट हटाउन सहमति जनाउनुभएको छ ।
अमेरिकी रक्षामन्त्री क्यास्पर वाइनवर्गरको भनाइ छ, “अमेरिकाले कुनै पनि स्थितिमा ‘स्टार वार’ कार्यक्रम र युरोपमा परम्परागत हतियारको क्षेत्रमा शक्ति सन्तुलन राख्ने नीति त्याग्ने छैन । जबकि अमेरिकाको युरोपीय मित्र देशहरू युरोपमा तैनाथ गरिएका परमाणु क्षेप्यास्त्रहरू अत्यधिक सङ्ख्यामा घटाइयोस् भन्ने चाहन्छन् ।”
गैरकम्युनिस्ट देशहरूमा परम्परागत शस्त्रको क्षेत्रमा लगातार वृद्धि गरिनुपर्ने तर्क दिने विद्वानहरू पनि अमेरिकामा छन् ।
एक अमेरिकी उच्चाधिकारीका अनुसार ‘राष्ट्रपति रेगन जनताको सुरक्षा गर्न चाहनुहुन्छ । यदि रुसी हतियार कटौती गर्नसके अमेरिकी जनताको सुरक्षा राम्रोसँग गर्न सकिन्छ’ भन्ने छ । यहाँनिर अमेरिकी पक्षको हतियारमा कटौती गर्न सके सोभियत पक्षको सुरक्षा हुने तर्क स्वाभाविक छैन र ? तर, विश्व जनमत दुवै पक्षको हतियार कटौती र उन्मूलनलाई मात्र तर्कसङ्गत मान्दछन् ।
उपरोक्त कुराहरूबाट के स्पष्ट हुन्छ भने अमेरिकी पक्षको शान्ति प्रयास वास्तवमा हात्तीको देखाउने दाँत हो । वास्तविक दाँत त उसको अर्कै छ जुन विश्वमा खतरनाक युद्धको निम्ति उध्याउँदै छ ।
यसको विपरीत वस्तुगतरूपमा रुसी पक्ष देखापरेको छ । रुसले सन् १९८५ अगस्तमा परमाणु अस्त्र परीक्षणमा एकतर्फी प्रतिबन्धको घोषणा गरेको थियो । त्यो घोषणा शान्ति वर्ष सँगसँगै समाप्त गर्ने भएको प्रकाशमा आइसकेको छ । त्यस अवधिमा अमेरिका र उसका सम्बद्ध राष्ट्रले धेरैपटक आणविक परीक्षण गर्दै आएको छ । कसीमा घोट्दा रुसी पक्षले आज भाषण र वक्तव्यले होइन व्यवहारद्वारा शान्ति स्थापना गर्न उद्यत रहेको देखिन्छ । उपरोक्त व्यवहारयुक्त घोषणा र रेक्याभिकमा दिइएको सहुलियत नै त्यसको यथेष्ट प्रमाण हो ।
‘स्टार वार’–विश्व शान्तिको बाधक
सन् १९८५ नोभेम्बर १९ र २० मा जेनेवामा शिखर सम्मेलन भएको थियो । त्यहाँ आणविक युद्धमा कसैले जित्न सकिन्न र यो युद्ध लडिनु हुन्न भन्ने टुङ्गोमा दुवै नेता पुगेका थिए । त्यस शिखर सम्मेलनको सफलतामा पनि ‘स्टार वार’ बाधाको रूपमा देखापरेको थियो । जब कि राष्ट्रपति रेगन मानवलाई भन्दा क्षेप्यास्त्रलाई नस्ट पार्नु धेरै वेश ठान्नु हुन्छ । यस सम्बन्धमा रक्षामन्त्री क्यास्पर वाइनवर्गरले ‘स्टार वार’ सम्बन्धमा कुनै पनि सहुलियतको विरोध गरिने विचार व्यक्त गर्नुभएको थियो । जेनेभा सम्मेलनबाट के उपलब्धि होला भन्ने कुनै निश्चित विचार राष्ट्रपति रेगनसँग नभएको ठम्याइ बेलायतको साप्ताहिक अब्जर्भरले प्रकाशित गरेको थियो ।
यस्तै हालैको रेक्याभिक वार्ताबाट पनि कुनै ठुलो आशा नराख्ने रेगन प्रशासनका अधिकारीहरूले प्रचार गरेका थिए । जबकि रुसी पक्षले गहकिला प्रस्तावहरूको भारी नै बिसाएका थिए । तर, ती प्रस्तावकोे जवाफमा अमेरिकी पक्षले जेनेभाको फाल्तु चिज नै नयाँ शीशीमा प्रस्तुत ग¥यो । यसको कारण राष्ट्रपति रेगन र उहाँको प्रशासन अमेरिकी सैन्य उद्योगको नियन्त्रणमा छ । त्यसैले हतियार नियन्त्रण गर्ने जस्तोसुकै राम्रा प्रस्ताव आए पनि निर्णयमा पुग्न राष्ट्रपति रेगन स्वतन्त्र हुनुहुन्न । यस सम्बन्धमा महासचिव गोर्भाचेभले भन्नुभएको थियो, “अमेरिकीहरू रेक्याभिकमा रित्तो हात आएका छन् । सम्झौतामा पूरा राष्ट्रपति रेगनले अनुमति नै पाउनुभएको थिएन । फलस्वरूप वार्ता भङ्ग भयो ।
हतियार होडबाजीमा नयाँचरण सुरु भयो । राष्ट्रपति रेगन वार्ताद्वारा खुला छ भन्नुहुन्छ र महासचिव गोर्भाचेभ हाम्रो प्रस्ताव यथावत छ र अर्को वार्ता सार्थक भएमात्र गरिने स्पष्ट गरिसक्नुभएको छ । सारमा, विश्वलाई संहारक हतियारबाट मुक्त गर्न अमेरिकी अधिकारीहरूमा मानवीय विवेक आवश्यक छ । त्यतिञ्जेल खतरा विद्यमान नै रहने देखिन्छ ।
सहयोग सामग्री
१)न्युजवीक(१९८६) अक्टोबर १३, २०, २७ ।
२) पेइचिङ रिभ्यू (१९८६) सङ्ख्या ४५ ।ण्
३) न्यू टाइम्स (१९८५) सं ४८, (१९८६) सं. ४१, ४३, ४४, ४५ ।
४) मस्को न्युज (१९८५) सङ्ख्या ४७ (१९८६) सङ्ख्या ४२,४४ ।
५) टाइम्स अफ इन्डिया (१९८६) अक्टोबर १२, १४, १५, २३ नोभेम्बर ६, २०, २६ ।
६) हिन्दुस्तान टाइम्स (१९८५) नोभेम्बर २० ।
७) नव भारत टाइम्स (१९८५) नोभेम्बर २३, (१९८६) अक्टोबर १२, १३ नोभेम्बर ७, १७ ।
८) हिन्दुस्तान (१९८६) नोभेम्बर २०, २१, डिसेम्बर ५ ।
९) दैनिक समाज (२०४३) मार्ग ६, १९ ।
१०) सोभियत भूमि (१९८६) अङ्क २० को परिशिष्ट र सोभियत सूचना केन्द्र, काठमाडौँको समाचार ।
स्रोत : पञ्चायत मासिक
विसं २०४३ वर्ष–५, अङ्क–३ पूर्णाङ्क–४

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार