
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बेलुकासम्म माधव नेपाल पक्षका नेताहरु योगेश भट्टराई र गोकर्ण विष्टलाई महत्वपूर्ण मन्त्रालय दिएर आफूतिर तान्ने प्रयत्नमा थिए । सोहीअनुसार प्रधानमन्त्री ओलीले भट्टराई र विष्टसँग कुराकानीसमेत गरेका थिए ।
योगेश मन्त्रिपरिषदमा आए गृहमन्त्रालय नै दिने ओलीको भित्री तयारी थियो । यसरी भट्टराईलाई ल्याउँदा माधव–झलनाथ समूह कमजोर बन्ने र अरु नेताहरु पनि आफ्नो पक्षमा आउन सहयोग पुग्ने ओलीको विश्वास थियो । तर, विहीबार मन्त्रीहरुको नाम घोषणा हुँदा माधव पक्षका गणेश पहाडीको नाममात्रै आयो, योगेश र गोकर्णचाहिँ छुटे ।
पछिल्लो समय भट्टराई र विष्ट पनि ओलीप्रति केही लचक जस्तै देखिएकाले ओली दुवै नेता आफूतिर आउनेमा ढुक्कजस्तै थिए । तर, ओलीसँगको कुराकानीमा भट्टराई र विष्ट महत्त्वपूर्ण मन्त्रालय पाए पनि नजाने भन्दै पछि हटेका थिए । ओली पक्षका नेताहरुको विश्लेषणअनुसार यसको कारक हुन्– उपप्रधानमन्त्री रघुवीर महासेठ ।
भट्टराई र विष्ट दुबै नेकपा एमालेको सचिव भइसकेका पदाधिकारी हुन् । पार्टीको पोर्टफोलियोमा उपप्रधामन्त्री महासेठ एमालेमा योगेश र गोकर्णभन्दा जुनियर नेता हुन् । आफूभन्दा जुनियर महासेठलाई उपप्रधानमन्त्री बनाएकाले पार्टीका सचिवद्वय भट्टराई र विष्टले मन्त्री बन्न अप्ठ्यारो महसुस गरेको ओली पक्षका नेताहरुको बुझाइ छ ।
एमाले नेताहरु भट्टराई र विष्ट नवौं महाधिवेशनमार्फत निर्वाचित पार्टी सचिव हुन् भने महासेठ मनोनित केन्द्रीय सदस्य मात्रै हुन् । प्रधानमन्त्री ओलीले महासेठलाई उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री बनाइसकेपछि सचिवद्वय भट्टराई र विष्टलाई मन्त्री बन्न प्रस्ताव गरेका थिए ।







