
मुलुकको हित र अस्मितामाथि गम्भीर खेलबाड गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन आफै नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएर नेपाली कांग्रेस, बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य तीव्ररुपमा आलोचित भइरहेका बेला नेकपा एमाले विद्रोही पक्षका नेता मेटमणि चौधरी उनको अभिव्यक्तिको पक्षमा बलियो गरी उभिएका छन्।
गलत अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न वैद्यलाई उनकै पार्टीले निर्देशन दिइसकेको र उनलाई आफ्ना अभिव्यक्तिमा संयम र सजगकता राख्न सचेत समेत गराइसकेको अवस्थामा एमाले माधवकुमार नेपाल पक्षका नेता चौधरीले वैद्यको अभिव्यक्ति शत प्रतिशत ठिक भएको बताएका छन्।
उनले शनिबार एक अनलाइनसँग भने, ‘नेता वैद्यको अभिव्यक्तिको म समर्थन गर्छु। उहाँले बोलेको कुरा प्रत्येक नेपाली जनताको मनोविज्ञान बनेको छ। केपी ओली अब सच्चिएनन् भने एउटा, दुइटा मात्रै होइन सयौँ नाथुराम गोडसे जन्मिन सक्छन्।’
उनले थप भने, ‘आक्रोश त्यस्तै छ। दुईदुई पटक प्रतिनिधिसभा भंग गर्ने। प्रणाली खारेज गर्न लागेको लाग्यै छन्। संविधान के हो, मतलब छैन। अध्यादेशमार्फत देश चलाउन खोज्दै छन्। मुलुकमा फेरि एक पटक तानाशाह बन्ने सपना ओलीले बोकेका छन्। आफूले लाखौँ गल्ती गर्दा पनि माफी माग्न तयार हुन्नन्। यसबारे धेरै सोचे पछि न अभिव्यक्तिका रुपमा बाहिर आएको हो। वैद्यले बोलेको कुरा एकदमै ठिक छ।’
चौधरीले अब वैद्यको अभिव्यक्तिलाई मध्यनजर गरेर शासकहरुले आफूहरुलाई अनुशासित बनाउनु पर्ने बताए। उनले भने, ‘शासकले आफ्नो आनीबानीमा परिवर्तन ल्याउनु पर्याे, अनि मात्रै नाथुराम जन्मिनुपर्छ भन्ने भनाइहरु कमजोर हुन्छ। तर यहाँ आफू सच्चिनु नपर्ने, अरु मात्रै सच्चिनु पर्याे भनेर मात्रै हुन्छ?’







