
हामीले नेतृत्व हस्तान्तरणको विषयलाई अवरोध गर्नु हुँदैन। त्यसलाई सहज बनाइदिनु पर्छ। यो नक्कल गर्ने विषय होइन। त्यसअनुसार पार्टीपंक्ति पनि तयार हुनुपर्छ। हामीले एमालेभित्र नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेका थियौं। त्यसलाई निरन्तरता दिनुपर्छ। नेतृत्व हस्तान्तरणको प्रक्रियालाई अघि बढाउनु पर्छ। त्यसले पनि पार्टीभित्रको कतिपय समस्यालाई हल गर्न सहयोग पुर्याउछ।
अहिले हाम्रो शीर्ष नेताहरु हुनुहुन्छ। उहाँहरु आफ्नो इतिहास, योगदान र क्षमताकै कारणले यो स्थानमा रहनु भएको हो। त्यही स्थिति सँधै रहिरहन्छ भन्ने हुँदैन। क्षमता र योगदान पनि एउटा निश्चित स्थानमा पुगेपछि पहिलेकै अवस्थामा रहँदैन।
स्पष्ट नीति, विधिको आधारमा अघि बढ्नुपर्छ भन्ने हो। प्रधानमन्त्रीले २०७५ जेठ २ मा पुग्ने भन्नुभएको छ। त्यो भनेको एकताका लागि बोर्डर लाइन हो। त्यसमा अडिनु पर्यो। तर त्यसलाई यान्त्रिक रुपमा मात्रै समातेर हुँदैन। यो तीन वर्षको अवधिमा केन्द्र, प्रदेश र जिल्लामा कति मानिस अन्य दलहरुबाट आउनु भयो। गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि गठन भएको एमाले भए पनि यो एकीकृत रुपमा प्रकट भएको एमाले हो। त्यसलाई स्वीकार गर्नुपर्छ। २०७५ जेठ २ गतेपछि एमाले छाडेका वा एमालेमा आएका कति नेता तथा कार्यकर्ता होलान वा कतिको निधन भएको होला। त्यसैले त्यही स्थानमा पुग्न सकिँदैन। एमालेमा समाहित हुने साथीहरुलाई नकार्ने कुरा हुनु भएन। तर स्प्रिट चाहिँ २०७५ जेठ २ गतेको कमिटीलाई ब्युँयाउने र त्यसबीचमा एकतावद्ध भएको पंक्तिलाई पनि समेट्दै जाने भन्ने हो। अर्को कुरा जहाँजहाँबाट जे जस्ता कामहरु भएका छन् त्यसलाई समीक्षा गर्नुपर्छ। एकैपटक सबै नहोला तर जति सकिन्छ त्यो गर्नुपर्छ।







