गृह जतिको वजनदार मन्त्रालय मैले पाउँदा मेरो समकक्षी ठान्ने वा सिनियर सम्झनेहरूले आफ्नो राजनीतिमा असर पर्ने देखेर घेराबन्दी र लविङ गर्नुभयो ।

मेरो चाहनाले भन्दा पनि आवश्यकताले गृह मन्त्रालय दिने भन्ने थियो । प्रधानमन्त्री सहित शीर्ष नेता बसेर नाम टुंगो लगाउनुभएको थियो । आन्तरिक रूपमा बधाई पनि लिइसकेको थिएँ । पछि मेरो नाम आएन । तर यसलाई स्वाभाविक रूपमा लिएको छु ।

कसरी काटिएछ, तपाईंको नाम ?

एमालेभित्रका कतिपय साथीलाई आफ्नो राजनीतिक भविष्य अन्योलमा पर्छ भन्ने लागेको हुनुपर्छ । महेश बस्नेत गृहमन्त्री बन्दा आफ्नो भविष्य संकटमा पर्ने देखेर चलखेल भयो । तर म द्वन्द्वात्मक भौतिकवादमा विश्वास राख्ने भएकाले पार्टीभित्र हुने आन्तरिक जीवनको प्रतिस्पर्धालाई स्वीकारेर आएको हुँ । जसको दक्षता, क्षमता र जनतामा लोकपि्रयता हुन्छ, उसले जालसाजीको प्रक्रिया अपनाउनुपर्दैन । आफ्नो कार्यशैलीलाई प्रभावकारी ढंगले बढाए पुग्छ । कामबाट नै स्थापित हुनेमा जोड दिनुपर्छ । तर जो साथीहरूमा ती गुणहरू हुँदैनन्, उनीहरू चाकडी, जालसाजी र घेराबन्दीको कार्यशैली अपनाउँछन् ।

चुनावका बेला महेश बस्नेत मन्त्रालयमा सीमित नरहेर देशभर पुगोस् भन्ने दृष्टिकोणले पनि काम गरेको हुनसक्छ । विगतको संकटहरूमा पनि देशभर कुदेर जनपरिचालन गरें, त्यो महसूस फेरि भएको हुन सक्छ ।

यसको अर्थ संकट पर्दा सडकमा महेश बस्नेत चाहिन्छ, गृह मन्त्रालयमा होइन भन्ने हो ?

पार्टी मोर्चा एउटा र सत्ता सञ्चालनको मोर्चा अर्को हो । कहिलेकाहीं राजकीय र शासकीय भन्दा पार्टी मोर्चामा बढी आवश्यक हुन सक्छ । त्यसबाहेक मेरो हित चाहने साथीहरूको घेराबन्दी त माथि भनिसकें ।

उहाँहरूको नाम भन्न मिल्छ ?

नामै त नभनौं । तर प्रधानमन्त्रीको वरिपरिका साथीहरू हुन् । गृह जतिको वजनदार मन्त्रालय मैले पाउँदा मेरो समकक्षी ठान्ने वा सिनियर सम्झनेहरूले आफ्नो राजनीतिमा असर पर्ने देखेर घेराबन्दी र लविङ गर्नुभयो । त्यो त मेरोबारे उहाँहरूको सही मूल्याङ्कन हो ।

सेवा, सुविधा र पदका लागि अभियान चलाउने र लविङ गर्ने नेचर मेरो छैन । मन्त्री पाउने वा नपाउने ठूलो कुरा पनि होइन । जनताको बीचमा कति स्थापित भइरहेको छु भन्ने प्रमुख कुरा हो ।

मन्त्रिपरिषद् पुनर्गठन भएपछि प्रधानमन्त्रीसँग भेट भयो ?

प्रधानमन्त्रीज्यू व्यस्त हुनुभयो । म पनि अलिक व्यस्त भएँ । भेटघाट भएको छैन । तर सुझाव पठाएका छौं । उहाँको जुन खालको सल्लाहकारको समूह छ, त्यसमा विचार गर्नुपर्छ । जुन सल्लाहकारले उहाँलाई बचाउने भन्दा पनि विवादित गराउने भूमिका खेलिरहेका छन् । ती साथीहरू बारेमा प्रधानमन्त्रीले सोच्नुपर्छ भन्नेमा पूर्व सांसदहरूको ठूलो संख्या छ । त्यो कुरा प्रधानमन्त्रीसम्म पुर्‍याएका छौं ।

बस्नेतसँग अनलाइनखबरले गरेको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार