असार १ गते विहान ६ बजे निरन्तर वर्षा भइरहेको थियो । म यो बेला गृहजिल्ला रोल्पा खुंग्री हरिगाउँमा छु । घरमा इन्टरनेटको एक्सेस नहुँदा घरदेखि अलिमाथि दलित वस्तीनेर बिहानैं बर्षाको पानीमा भिज्दैं न्युज अपडेटका लागि उक्लेको थिए ।

मोबाइलको डाटा खोलेर न्युज अपडेटपछि फेसबकु खोले । सम्झना घर्ती असिना दिदीले ‘थबाङका अभिभावक गोरेदाई रहनु भएन’ भनेर फेसबुकमा स्टाटस राखेको देखे । त्यो दिन सम्झना दिदीको स्टाटसमा ‘हार्दिक श्रद्धाञ्जली’ मात्र लेखे ।

त्यसैं दिन नेकपा महासचिव कमरेड विप्लवले गोरे दाईको निधनपछि एक प्रेस विज्ञेप्ती निकालेर ‘थबाङको मात्र नभई सिंगो नेपाली कम्युनिस्ट आन्दोलनको एक धरोहर’ भनेर गहिरो सम्मान व्यक्त गरे ।

मैले पनि फेसबुक स्टाटस लेखेर गोरे दाईको निधनको बारे लेखे, ‘क्रान्तिकारी आदर्श, सिद्धान्त र व्यवहारका प्रतिमूर्ति गोरे दाईलाई इतिहासले सधैं स्मरण गरिरहनेछ ।’

गोरे दाईको बारेमा केही थोरैं मात्र भएपनि लेखौं भनेर योजना बनाईराखे तर यता गाउँमा विभिन्न स्थानीय कामको व्यस्तताले भ्याउन सकिरहेको थिएन । नलेखौं दाईमाथि ठूलो अन्याय हुनेछ भनेर पनि सोचिरहे ।

गृह जिल्ला एउटैं भएपनि लामो क्रान्तिकारी इतिहास बाकेका गोरे दाईलाई मैले ०६७ सालमा काठमाडौंमा उनको किताब प्रकाशित गर्नेबेला मात्र राम्ररी चिन्न मौका पाएको थिए ।

आदरणीय कमरेड सन्तोष बुढामगर र कमरेड विप्लवको सल्लाहअनुसार गोरे दाईको किताव प्रकाशित गर्न मैले सम्पूर्ण पहलकदमी लिएको थिए ।
त्यो बेला एकीकृत माओवादी पार्टी विभाजित भएको थिएन तर दुईलाइन संघर्ष भने उत्कर्षमा पुगेको थियो । सिंगो थबाङ क्रान्तिकारी विचारको पक्षमा रहेको र गोरे दाई आफैं लामो क्रान्तिकारी सिद्धान्त र आदर्श बोकेर आएको व्यक्ति भएपछि मैले उनको किताव प्रकाशित गर्न थप उत्साहका साथ काम गरे ।

निकैं लामो मेहनेत र परिश्रमपछि गोरे दाईको किताब प्रकाशित भयो । नाम रह्यो, ‘क्रान्तिकारी इतिहास बोकेको थबाङ ।’ किताबको प्रमुख भूमिका कमरेड मोहन वैद्य र विप्लवले लेख्नु भएको थियो भने किताबको परिचय सन्तोष बुढामगरले लेख्नु भएको थियो ।

सो किताब प्रकाशनमा मसहित केदारनाथ गौतम, जन्मदेव जैसीलगायत साथीहरुको भूमिका उत्तिकैं महत्वपूर्ण रह्यो । प्रकाशनपछि काठमाडौंमैं मोहन वैद्य किरण कमरेडको प्रमुख उपस्थितिमा विमोचन कार्यक्रम पनि गरियो । गोरे दाई निकैं खुशी हुनु भयो ।

जिन्दगीको सपना एउटा किताव जसरी पनि प्रकाशित गर्ने भन्ने गोरे दाईको थियो, जुन पूरा पनि भयो । किनभने जीवनमा थोरैं पनि औपचारिक शिक्षा हासिल नगरेर झण्डैं पाँच सय पृष्ठको किताव प्रकाशित गर्न सक्नु भनेको त्यो निकैं ठूलो उपलव्धि थियो ।

कयौं डिग्रीधारी मान्छेहरुलाई समेत एउटा लेख लेख्न सकस हुने स्थितिमा कुनैं औपचारिक शिक्षा नलिएका जो स्वअध्ययनको बलमा त्यत्रो किताव प्रकाशित गर्न सक्नु कम चानचुने विषय थिएन । त्यो मुलत गोरे दाईको मालेमावादप्रतिको निष्ठा र अविचल क्रान्तिप्रतिको समर्पणको परिणाम थियो ।

काठमाडौंमा किताव प्रकाशनको क्रममा मेरैं डेरामा पनि कयौंपटक सँगैं बस्दा गोरे दाईको कितावप्रतिको मोह र क्रान्तिप्रतिको समर्पणले मलाई निकैं प्रभावित पारेको थियो ।

रोल्पा थबाङ र सिंगो रोल्पाको कम्युनिस्ट आन्दोलनको इतिहासको बारेमा उनको किताव आफैं बोलिरहेको थियो तर उनी विश्व कम्युनिस्ट आन्दोलनमा हुने विभिन्न उतारचढाव र मालेमावादको गुदी कुराबारे उनको अध्ययन निकैं माथिबाट रहेको मैले पाए ।

सरल र क्रान्तिकारी जीवन, एउटा अमर आदर्श, क्रान्तिकारी सिद्धान्तप्रति अविराम दृढता, क्रान्तिकारी व्यवहारमा उत्तिैंक उदाहरणीय कार्य गोरे दाईबाट आजका क्रान्तिकारीहरुले सिक्ने पाठ हुन् ।

क्रान्तिकारी आन्दोलनको विश्वविद्यालयमा क्रान्तिकारीहरु धेरैंपटक उतिर्ण हुनुपर्छ, जो केही समय उतिर्ण हुने तर बीचमैं धेरैं मान्छेहरु फेल हुने गर्दछन् । तर गोरे दाई कम्युनिस्ट आन्दोलनको विश्वविद्यालयमा सधैं उतिर्ण भएर हामीबाट विदा भएका छन् ।

पहिलो किताव प्रकाशन गरेर अर्को सानो किताव प्रकाशन गर्ने तयारीमा रहेका गोरे दाईले भने त्यो काम पूरा गर्न पाएनन् । केही वर्षअगाडि काठमाडौंमा आएर पाण्डुलिपी तयार पारिसकेको तर कम्प्युटर टाइपिङ र प्रकाशनका लागि आर्थिक व्यवस्थापनको अभावमा किताव प्रकाशन हुन नसकेको उनको भित्री आशय थियो ।

मसँगको थोरैं भलाकुसारीमा केही कुनैं माध्यमबाट आर्थिक व्यवस्थापन गरेर प्रकाशन गरौं भनेर मैले छलफल गरेको थिए । तर अकस्मात गोरे दाई गाउँ फर्केछन्, जुन पछि मात्र मैले जानकारी पाए । अर्कोतिर मपनि काठमाडौंमा विभिन्न आफ्नैं कामले गर्दा उनीसँग त्यो किताव प्रकाशनबारे थप कुराकानी हुन पाएन ।

मेरो मोवाइल सेट हराएपछि गोरे दाईसँग निकैं लामो समय सम्पर्क हुन सकेको थिएन । पछिल्लों समय गोरे दाईसँग कुराकानी गर्न मैले निकैं पहल गरे । छिरिङ दाई (जो उनका सहोदर भाई हुन्)सँग पछिल्लो समय नम्बर मागेर कुराकानी गर्न खोजेको थिए त्यो पनि विभिन्न कारणले नम्बर उपलव्ध हुन नसकेर संभव भएन ।
मंसिरको अन्तिम समयतिर काठमाडौंम छिरिङ दाईसँग भेट हुँदा गोरे दाईलगायत थबाङका पूराना कमरेडहरुलाई मैले चार पाँचवटा न्यानो ज्याकेट किनेर पठाएको थिए । त्योबेला पनि उनीसँग कुराकानी गर्न खोजेको थिए फेरि पनि नम्बर उपलव्ध हुन नसकेर संभव भएन ।

मैले व्यक्तिगत रुपमा सोचिरहेको थिए, क्रान्तिकारी इतिहास बोकेको थबाङका गोरे दाईलगायत कयौं क्रान्तिकारी भेट्रानहरुलाई सम्मान कार्यक्रम गर्नुपर्छ र त्यसले पछिल्लो पुस्तालाई कम्युनिस्ट आन्दोलनप्रति अभिप्रेरित गर्न मद्धत गर्नेछ भनेर ।

तर ती सबैं मेरा सपनाहरु पूरा हुन पाएनन् । गोरे दाईसँग भेट्ने र लामो भलाकुसारी गर्ने, उनको पछिल्लो किताव प्रकाशन गर्ने थप सपना पनि पूरा हुन पाएन ।
प्रकृतिको नियम हो, हामी जन्मेपछि एकदिन यो धर्तिबाट सबैले विदा लिनैपर्छ ।

गोरे दाई हामीलाई छोडेर विदा भएका छन् । हार्दिक श्रद्धाञ्जली गोरे दाई ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार