नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच अब सम्वाद नहुने भएको छ । पार्टी एकताको लागि दोस्रो तहका नेताहरुले गरेको प्रयास पनि खेर गएको छ ।

खासगरी कर्णाली प्रदेशका सांसदहरुको पूनर्वहाली गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध एमाले अध्यक्ष ओली पक्ष भ्याकेटमा गएपछि दुई पक्षबीचको वार्ता भंग भएको हो । नेता नेपालले आफ्नो तर्फबाट विज्ञप्ती जारी गर्दै ओलीले नै एकता नचाहेको स्पष्ट पारेका थिए । त्यसको उदाहरणको रुपमा पनि उनले भ्याकेटमा जाने ओलीको निर्णयलाई उल्लेख गरेका थिए ।

खासगरी यो बीचमा एकताको लागि ओली पक्षबाट विष्णु पौडेल र नेपाल पक्षबाट घनश्याम भुषाल वार्तामा थिए । ओली पार्टी एकताको लागि २०७५ जेठ २ गतेनै फर्कन तयार थिए । तर, उनले पार्टीमा विग्रह हुनुको कारण नेपाल पक्षधर सांसदहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर नै मुख्य कारणको रुपमा पेश गरेका थिए । र, अदालतमा दिएको रिट निवेदनबाट नेपाल पक्षधर सांसदहरुले हस्ताक्षर फिर्ता लिनुपर्ने पनि उनले शर्त राखेका थिए । ओलीको उक्त शर्तलाई नेता नेपालले ठाडै अस्विकार गरिदिएको उनीनिकट नेताहरुको दाबी छ ।

हिजो साँझबाट दुवै पक्ष अब एकताको सम्भावना टरेको निश्कर्षमा पुगेका छन् । तर, वार्ताको ढोका भने खुल्लै रहने दोस्रो तहका नेताहरुले जनाएका छन् । नेता नेपालले अब ओलीसँग कुनैपनि हालतमा सम्झौता गर्न नसकिने भन्दै सोहीअनुसार मानसिक रुपमा तयार रहन आफूनिकट नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।

नेता नेपालनिकट नेता युवराज ज्ञवालीले पनि एकताको सम्भावना अब टरेको नै दाबी गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले ओलीकै कारण एकता टरेको पनि दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार