नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली भन्दा अहिले काँग्रेस वामपन्थी भएको बताएका छन् ।

बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले गठबन्धन बनाएर आन्दोलन गर्न थालेपछि ओलीले आफूलाई फोन गरेर ‘तपाई वामपन्थीको सरकार ढालेर काँग्रेससँग मिलेर के गर्न लाग्नुभएको ?’ भनेर सोध्दा आफूले ‘काँग्रेस त तपाइँ भन्दा धेरै वामपन्थी रहेको भन्ने जवाफ दिएको बताए ।

‘काँग्रेस लोकतन्त्रको रक्षाका लागि हिँडेको छ । संविधानको रक्षाका लागि हिँडेको छ । तपाईं लोकतन्त्र र संविधान ध्वस्त पार्न लाग्नुभएको छ । अनि कसरी तपाई वामपन्थी र काँग्रेस दक्षिणपन्थी ?’,  ओलीलाई दिएको जवाफ उधृत गर्दै प्रचण्डले  बताए ।

सम्पादकहरूले गठबन्धनको यात्राबारे सोधेको प्रश्नमा प्रचण्डले यो संविधान र लोकतन्त्रको रक्षाका लागि ५ दलीय गठबन्धन बनेकाले यो नटुट्ने समेत बताए ।
प्रचण्डले गठबन्धन टुटाउन ओलीले प्रयास गरेपनि सफल नहुने समेत दावी गरे ।

‘जुन दिन अदालतले सकारात्मक फैसला गर्ने संकेत देखाएको थियो, त्यस दिन प्रधानमन्त्रीले राती एउटा अपिल निकाल्नुभयो । खासगरी माधवजीलाई संकेत गरेर’, प्रचण्डले ओलीले एमाले एकताका लागि गरेको प्रस्तावलाई संकेत गरेका थिए ।

उनले गठबन्धन प्रधानमन्त्री ओलीका विरुद्ध संघर्षमा उत्रेको भनेर नबुझ्न आग्रह गर्दै लोकतन्त्र बचाउने र नबचाउने बीचको लडाइ भएको पनि प्रचण्डको भनाइ छ ।
प्रचण्डले विगतमा आफूहरुबाट समेत केही गल्ति भएको स्वीकार गर्दै अव सच्याउँदै जान तयार रहेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार