भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को राजनीतिक प्रकाशन पिपुल्स मार्च को पछिल्लो अङ्क फेब्रवरी २०२१ को अङ्क प्रकाशित भएको छ । पार्टीको नेतृत्वमा छापामार जन सेना गठनगरेका २० वर्ष पुगेको सन्दर्भमा  ‘जनमुक्ति छापामार सेना विशेषाङ्क’ का रूपमा प्रकाशित यस अङ्कमा सो पार्टीका केन्द्रीय सैन्य आयोगका इन्चार्ज कमरेड देबजीको अन्तर्वार्ता पनि प्रकाशित छ ।  कमरेड चारु मजुमदारको नेतृत्वमा नक्सलवारी किसान विद्रोहको विरासत बोकेको भाकपा (माओवादी) विस वर्षदेखि जनमुक्ति छापामार सेना गठन गरेर भारतीय फासिवादका विरुद्ध दीर्घकालीन जनयुद्ध लडिरहेको छ । यो अन्तर्वार्ताबाट विस वर्षदेखि दीर्घकालीन जनयुद्ध लडिरहेको भाकपा (माओवादी) का अनुभवहरू र उसले भोगेका समस्याहरू र वर्तमानका उसका योजनाहरूका बारेमा जानकारी प्राप्त हुनेछ । प्रस्तुत छ अन्तर्वार्ताको नेपाली अनुवाद ।

जनमुक्ति छापामार सेनाको २० औँ वार्षिकोत्सव समारोहको अवसरमा छापामार इलाकामा भाकपा (माओवादी) केन्द्रीय सैन्य आयोग (सिएमसी) का इन्चार्ज  कमरेड देबजीसित  ’पिपुल्स मार्च’ को भेट भयो । हामीले यस विषयमा कुराको थालनी गरेसँगै उहाँले जनमुक्ति छापामार सेनाको प्रासङ्गिकता,  लक्ष, सफलता, असफलता र यसको भविष्यको यात्राका सम्बन्धमा विस्तृत चर्चा  गर्नुभयो ।
पिपुल्स मार्चः लाल सलाम कमरेड देबजी ! सबैभन्दा पहिले आजको यस समारोहका बारेमा बताइदिनुहुन्छ कि ।
देबजीः लाल सलाम ! भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले एक वर्षअघि नै २ डिसेम्बर २०२० मा जनमुक्ति छापामार सेना (पिएलजिए) को  २० औँ वार्षिकोत्सब मनाउने निर्णय गरेको थियो । यस अवसरमा हाम्रो गौरवशाली जनमुक्ति छापामार सेनाका बारेमा केही बोल्ने अवसर दिएकोमा म पिपुल्स मार्चलाई धन्यवाद दिन चाहन्छु ।
पिपुल्स मार्चः पियलजिएलाई कसरी परिभाषित गर्नुहुन्छ ?
देबजीः क्रान्ति हिंसात्मक हुनेछ भनेर हाम्रा महान् गुरु कार्ल मार्क्सले  प्रस्ट पार्नुभयो । जनताले भोग्नु परेका मूलभूत समस्याहरूको जड सडेगलेको सामाजिक व्यवस्था हो र यसलाई ध्वस्त पारेर, साम्राज्यवादी शोषक वर्गहरू, दलाल नोकरसाही पुँजीपति वर्ग र सामन्ती जमिनदारहरूको सत्ताका ठाउँमा दीर्घकालीन जनयुद्धको माध्यमबाट सबै उत्पीडित वर्गहरू, सामाजिक तप्का र जातजातिहरूको नयाँ राज्यसत्ता, सही अर्थमा जनवादी सत्ता स्थापना गर्नुपर्छ भनेर हाम्रो पार्टीले निर्णय ग¥यो । पियलजिएको उदय नक्सलबारी किसान विद्रोह,  काङ्शा, सोनारपुर, श्रीकाकुलम, वीरभूम, लखिमपुर–खिरीजस्ता सङ्घर्षका गौरवशाली विरासतबाट भयो ।
मार्क्सवाद-लेनिनवाद-माओवादको पथ प्रदर्शक सिद्धान्तमा आधारित सर्वहारा नेतृत्वअन्तर्गत  हाम्रो पार्टीको पछिल्लो दुई दशकमा सङ्घर्षले सुदृढ र जुझारू स्वरूप लिएसँगै पियलजिएले जनसेनाको आकार ग्रहण गरेको हो । यो पार्टीसित रहेको क्रान्तिका तीन महत्वपूर्ण हतियारमध्येको एउटा हतियार हो । पियलजिए राजनीतिक सेना हो र यसले  मजदुर, किसान, र अन्य उत्पीडित  वर्गहरू, उत्पीडित सामाजिक तप्काहरू र मुलुकका उत्पीडित जातजातिहरूको हितमा काम गर्छ । यो जनमुक्ति सेनाका रूपमा विकसित हुनेछ । यसले छापामार युद्ध, चलायमान युद्ध र मोर्चाबद्ध युद्धमार्फतग्रामिण क्षेत्रमा मुक्त क्षेत्रहरूको स्थापना गर्छ र अन्ततः  सहरलाई घेर्दै सिङ्गो मुलकमा जनसत्ताको स्थापना गर्छ । मुलुकको १७ वटा राज्यमा चलेको क्रान्तिकारी आन्दोलनमा १३ वटा राज्यमा छापामार सङ्गठनका विभिन्न तहहरू छन् । वर्गसङ्घर्ष र छापामार युद्ध तीब्र बनेको छ र राज्यसत्ताको प्रश्न व्यवहारमा नै देखापरेको छ, ती ठाउँमा पियलजिएका उच्च तहका संरचनाहरू छन् ।
पिपुल्स मार्चः भारतीय क्रान्तिमा पियलजिएको भूमिका के भूमिका छ ?
देबजीः भारतीय समाजको विशिष्ट चरित्रका आधारमा  भारतीय क्रान्तिकारी आन्दोलनमा पियलजिएको भूमिकालाई हामी बुझ्न सक्छौँ । भन्ने गरिएको अथवा नक्कली भनौँ, स्वाधीनताको ७२ वर्षमा पनि हाम्रो मुलुकका विविध उत्पीडित वर्ग, सामाजिक तप्का र जातजातिहरूका आधारभूत समस्याहरूको हल गर्न सकेन । औद्योगिक मजदुरलगायत समग्र श्रमजीवी जनतामाथि तीव्र शोषण र क्रुर दमन यथावत छ । करोडौँ कामदारहरू सडकमा छन् । ग्रामीण जनसङ्ख्याको करिबकरिब आधी भाग भूमिहीन अवस्थामा छ । जग्गाजमिन भएका ८५ प्रतिशत गरिब र निम्नमध्यम वर्गीय किसानको हातमा प्रत्येक परिवारसित ५ एकड भूमि मात्र छ । साम्राज्यवादी भूमण्डलीकरणको वितेको साँढे तीन दशकमा मुलुकमा तीन लाखभन्दा बढी किसानले आत्महत्या गरेका छन् । गरिबी तीव्र गतिमा बढेको छ । बढ्दो बेरोजगारीका कारण मुलुकका विद्यार्थी र युवाहरू निरासाको स्थितिमा छन् । साम्राज्यवादीहरू र तिनका दलालहरूको  पक्षमा रहेको मोदी सरकारको आक्रमक नीतिका कारण मुलुकका कुटिर, साना तथा मध्यम किसिमका उद्योगहरू एकदमै मारमा परेका छन् । समाजको उत्पीडित तप्कामा ब्राम्हणवादी हिन्दूत्ववादी फासिवादी नीतिहरूको आक्रमण दू्रततर रूपमा बढेको छ । महिलामाथिको हिंसामा दिनानुदिन वृद्धि भएको छ । दलित जनतामाथि अमानवीय र निर्लज्ज किसिमको आक्रमण भइरहेको छ । लाखौँ आदिवासी तथा किसानहरू फासिवादी राज्य सरकारद्वारा आफूले वर्षौँदेखि उपभोग गर्दै आउको जमिनबाट धपाइएका छन् । सबै उत्पीडित जातिहरू भारतीय विस्तारवादको फलामे जाँतोमुनि छन्, जो आफ्नो आत्मनिर्णयको अधिकारका लागि सङ्घर्षरत छन् ।
पिपुल्स मार्च: यी दुई दशकमा फासिवादी सत्ताद्वारा उसका राज्य र केन्द्रीय तहका भाडाका टट्टुद्वारा  गरिएका प्रतिक्रान्तिकारी आक्रमण अभियानका शृङ्खला विरुद्धको प्रत्याक्रमणमा पियलजिए र जनताको अनुभवबारे केही बताइदिनुहुन्छ कि ।
देबजीः राज्यले  अमेरिकी साम्रज्यवादी एलआइसी नीति पछ्याएर मुलुकको क्रान्तिकारी आन्दोलनलाई सिध्याउने  प्रयास गरिरहेको छ । यसले क्रान्तिकारी आन्दोलन अर्थात् पार्टी, पियलजिए र जनतालाई क्रान्तिको फल प्राप्त गर्ने उद्देश्यबाट विमुख गराउन एकपछि एक गरेर जवाफी आक्रमण गरिरहेको छ । यसले डिआरजी, डिविएफ, डिएफजस्ता जिल्ला स्तरका प्रति–छापमामार फोर्स, ग्रेहाउन्डस्,  र राज्य स्तरमा सि–६०, हक फोर्स, एसटिएफ, एसओजी, जागुर र जगुआर र थन्डरबोल्ट, सिआरपिफको कोबरा जस्ता फोर्सहरू गठन गरेको छ । यो बाहेक पारा–मिलिट्री फोर्सहरू सिआरपिएफ, बिएसएफ, आइटिविपी, यसयसबी, सिआइएसएफ र सेन्ट्रल रिजर्भ बटालियन मिलाएर ६ लाखभन्दा माथिको सङ्ख्या पुग्छ । यी शक्तिहरूको अतिरिक्त सन् २०२० देखि छद्म आवरणमा भारतीय सेनाको विशेष एकाइलाई तैनाथ गरेको छ ।
पियलजिए आम जनताको सहयोगमा यी सबै फोर्सका विरुद्ध साहसपूर्वक प्रत्याक्रमण गर्न सक्षम  भएको छ । बितेका दुई दशकमा भारतमा जनयुद्धलाई अघि बढाउन ४,५२० जना कमरेडहरूले  प्राणको आहुति दिए । यसले क्रान्तिकारी आन्दोलनका क्रममा विभिन्न राज्यहरूमा वर्ग दुस्मनले गठन गरेको मिलिसिया जनजागरण, सेन्द्रा, शान्ति समिति, हर्माद वाहिनी र सलवा जुडुमका विरुद्ध प्रतिआक्रमण अभियान चलायो । मुलुकमा चलिरहेको क्रान्तिकारी आन्दोलनलाई सखाप पार्न चलाइएका विभिन्न प्रतिक्रान्तिकारी आक्रमणहरू व्यर्थमा परिणत भए ।  भारतीय शासक वर्गले एकपल्ट फेरि सन् २००९ मा ‘अपरेसन ग्रिनहन्ट’ नाममा भारतव्यापी आक्रमणको थालनी ग¥यो । पार्टीको अगुवाइ, जनताको साथ र सक्रिय सहभागितामा दुस्मनका हरेक बर्बरतापूर्ण कामाकारवाहीका विरुद्ध पियलजिए जवाफी आक्रमण गर्न सफल भयो ।  जनता र पियलजिएको विरत्वपूर्ण प्रतिरोधले केन्द्र र राज्य सरकारहरू प्रतिक्रान्तिकारी ‘अपरेसन ग्रिनहन्ट’ मार्फत आफ्नो उद्देश्य हासिल गर्न एकपल्ट फेरि असफल भए । मुलुकका थुप्रै भागहरूमा छापामार युद्धको तीव्रतासँगै शासक वर्गले अर्को प्रति–क्रान्तिकारी आक्रमणको आवश्यकता देख्यो ।
विश्वव्यापी आर्थिक अंशका रूपमा साम्राज्यवादीहरू भारतजस्ता मुलुकका प्राकृतिक साधनस्रोतमाथि थप लुट मच्चाउने योजनामा लागे । दलाल शासकहरूले साम्राज्यवादी बहुराष्ट्रिय नियोगहरूसित सयौँ सम्झौताहरू गरे । भारतीय कम्युनिस्ट पार्टीको अगुवाइमा मुलुकका उत्पीडित जनता र यसको सशक्त  हतियार पियलजिएको बढ्दो प्रतिरोधात्मक सङ्घर्ष शासक वर्गको बाटोमा अवरोध बन्नु स्वाभाविक थियो । क्रान्तिकारी आन्दोलनलाई समाप्त पार्न उनीहरूले सन् २०१७ मा बहुउद्देश्यीय  “समाधान” नामको प्रतिक्रान्तिकारी आक्रमणको अभियान आरम्भ गरे । दुष्ट जनविरोधी समाजलाई ध्वंस गरेर  वर्ग दुस्मनमाथि विजय प्राप्त गरी आफ्नो नयाँ राज्यसत्ता स्थापना नगरुन्जेलसम्म आफूहरूले लडिरहनु पर्ने छ भन्ने कुरा जनतालाई थाहा छ । जनता पार्टी र पियलजिएका साथमा छन् । यो नै जनताको वास्तविक शक्ति  हो र यो नै  पार्टी र पियलजिएको वास्तविक शक्ति हो ।
 
पिपुल्स मार्चः पियलजिएका सफलता र असफलतका सम्बन्धमा विस्तृत जानकारी दिनुहोस् न ।
देबजीः पियलजिएको सफलता पार्टीको राजनीतिक–सैन्य लाइनमा आधारित छ । हाम्रो लाइन दीर्घकालीन जनयुमार्फत परीक्षण भएको र इस्पातिलो बनेको लाइन हो । पार्टीको लाइनमा आधारित भएर पियलजिए जनआधारलाई अत्यधिक महत्व दिन्छ र दुस्मनको सफायका लागि युद्ध गर्नुका साथै क्रान्तिकारी शक्तिको रक्षा पनि गर्छ । क्रान्तिको केन्द्रीय कार्यभार राज्यसत्ता कब्जा गर्नु हो र यसका लागि शक्तिको आवश्यकता पर्छ । मुलुकको थुप्रै ग्रामिण इलाकाहरूमा हामीले  स्थानीय सत्तालाई ध्वस्त पा¥यौँ, ती ठाउँमा पियलजिए दुस्मनको फोर्ससित दृढताका साथ लड्यो र जनसत्ताका अङ्गहरूको स्थापना ग¥यो । यो महत्वपूर्ण राजनीतिक सफलता हो । दीर्घकालीन जनयुद्धको सिद्धान्तलाई सिर्जनात्मक ढङ्ले लागु गर्दै पिएलजिएलाई  जनमुक्ति सेनामा रूपान्तरित गर्न यसको विकासमा लागि परेका छौँ । हामीहरू हाम्रो आत्मगत स्थिति बलियो बनाउनका लागि राजनीतिक र सङ्गठनात्मक काममार्फत हाम्रा गतिविधिको विस्तार गर्न र छापामार युद्धको विस्तार र तीव्रताका साथै दुस्मनबाट हतियार कब्जा गर्न निरन्तर प्रयास गरिरहेका छौँ । यस प्रक्रियामा बितेका २० वर्षमा हामीले थुप्रै छापामार कारवाहीहरू ग¥यौँ, जसले चलायमान युद्धको चरित्रको क्षमतालाई दर्शाउँछ । हामीले डीके र बीजेमा मुक्रम र काजारा जस्ता एम्बुसहरू मार्फत दुस्मन सेनाहरूको तुलनात्मक रूपमा ठूलो सङ्ख्यालाई सफाय गर्यौं, जसमा दुस्मन सेनाको एउटा प्लाटुन नै  सखाप भयो र मुकरममा हामीले सिआरपिएफको एउटा कम्पनीलाई नै ध्वस्त पा¥यौँ ।  प्रायः गरेर यस्ता सबै ठूला युद्धहरूमा हाम्रा जनताको फोर्सले सत्रु सेनाबाट ठूलो सङ्ख्यामा हतियारहरू कब्जा गरेर आफूलाई  सशस्त्र बनाएको छ । चलायमान युद्धका केही विशेषताहरू यी ठूला छापामार युद्धहरूमा अगाडि आए ।
बितेका २० वर्षमा पियलजिएले  राज्य र केन्द्र सरकारका सुरक्षा बलका ३,०५८ जनलाई सफाया गर्यो , ३, ६०४ जनालाई घाइते बनायो र ३, २४० हतियार र १५४,२४७ राउन्ड गोलीगट्ठा कब्जा ग¥यो ।  मार्च २०२० को मिनापा एम्बुस पियलजिएका लागि  नयाँ र उच्च अनुभवको थियो, जसमा दुस्मन फोर्सले राज्य र केन्द्रीय फोर्सका रूपमा छद्म रूपमा भारतीय सेनाको एउटा टुकडीलाई पनि समावेश गरेको थियो । यो अर्को महत्वपूर्ण सफलता थियो ।
 कुनै पनि युद्धमा हतियारको प्रश्न महत्वपूर्ण पक्ष हो र यसको विकास पियलजिएले गरिराखेको छ । कमरेड अरविन्द (कमरेड देव सिंह, पिबियम, जो सन् २०१८मा सहिद हुनुभयो) वहाँ यस मामिलामा   उदाहरणीय हुनुहुन्थ्यो ।  वहाँले अन्य छापामार कमरेडका साथ उच्च तहको विष्फोटक हतियार निर्माण गर्नुभएको थियो । वहाँले यसको परीक्षण केमिकलका साथ बिहार-झारखण्डमा छापामार इलाकामा गर्नुभएको थियो र यो मूल्यवान अनुभवलाई अन्य क्षेत्रहरूमा पनि विस्तारित गरिएको थियो । ‘अपरेसन ग्रिनहन्ट’ को समयदेखि नै राज्यले सङ्घर्षका मुख्यक्षेत्रलाई घेराबन्दी गरिरहेको छ, पार्टी र पियलजिएका गतिविधि रोक्न आम नागरिकमाथि आक्रमण गरिरहेको छ तापनि हामीहरू स्थानीय तहबाट नै विभिन्न किसिमका आवश्यक हतियार र बमबारुद निर्माण गरेर छापामार युद्ध लडिरहेका छौँ । राज्यले निरन्तर र निकै जोडका साथ नाकाबन्दी गरेर हातहतियार र सामग्रीको तयारी र उत्पादनमा रोक लगाउन खोजे पनि उत्पीडित जनताको माध्यमबाट सामग्री प्राप्त गरेर युद्ध लड्न सक्षम भएका छौँ । जनयुद्धको यो अर्को उपलब्धि हो । यी नै जनता र पार्टी र पियलजिएका प्रमुख सफलता हुन् । यी सकारात्मक अनुभवका आधारमा दुस्मनका कुनै पनि किसिमका आक्रमणका विरुद्ध आगामी दिनमा प्रतिआक्रमण गर्न सक्छौँ भन्ने कुरामा हामी विश्वस्त छौँ । पियलजिएले छापामार युद्धका नियमहरूलाई सही किसिमले लागू गर्न  लापरवाही गरेका ठाउँहरूमा असफलता पनि हात लागेका छन् । असफलता भनेको अनावश्यक क्षतिबाट आफ्नो शक्तिलाई जोगाउन नसक्नु हो । मुलुकका विभिन्न ठाउँमा भएका ठूलाठूला आक्रमणमा कतिपय ठाउँमा हामीले अत्यधिक सङ्ख्यामा कमरेडहरू गुमाएका छौँ । खास गरेर हामीले सन् २०११ मा ठूलो नोक्सानी व्यहोरेका थियौँ । क्षतिले नकारात्मक असर पार्छ । यसले नयाँ भर्नामा असर पार्छ, कतिपय कार्यकर्तामा निरासा जगाउँछ, कमजोरहरूले दुस्मनका सामु आत्मसमर्पण गर्छन् र कतिपय त गद्दारमा पनि परिणत हुन्छन् । हामीहरू वस्तुस्थिति र समयको समीक्षा गर्दै  व्यवहारमा तिनलाई सच्याउँछौँ । अवश्य पनि हामी हाम्रा कमीकमजोरी र गल्तीमाथि विजय प्राप्त गर्नेछौँ । तर हामी असफलताबाट विचलित भएका छैनौँ । जनयुद्ध अपराजेय छ र जन सेना अपराजेय छ ।
पिपुल्स मार्चः पियलजिए कसरी जनतासित एकाकार भएर काम गर्छ ?
देबजीः पियलजिएको मूल धेय भनेको जनताको सेवा गर्नु र जनसत्ताको स्थापना गर्न दुस्मनका विरुद्ध लड्नु हो । जनसेनाले निरन्तर रूपमा तीनवटा वर्ग— साम्राज्यवाद, दलाल नोकरसाही पुँजीपति र सामन्त वर्ग आम जनताका मुख्य दुस्मनहरू हुन् भनेर जनताबीच भन्दै आएको छ र जनतालाई क्रान्तिकारी राजनीतिप्रति जाग्रत गराउन, उनीहरूलाई वर्गसङ्घर्षमा लामबद्ध गराउन र शोषणबाट मुक्त गराएर सही अर्थको जनवादी समाज निर्माण गर्न उनीहरूलाई सङ्गठित पनि गर्दछ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले अन्तर्राष्ट्रिय सर्वहाराका महान् शिक्षक कमरेड माओले  प्रतिपादन गरेको दीर्घकालीन जनयुद्धको सिद्धान्त, नियम र जिम्मेवारीलाई हाम्रो देशको ठोस परिस्थितिमा सिर्जनात्मक ढङ्गले लागू गरेको छ । यसले जनता र जनताको संस्कृतिको सम्मान मात्र गर्दैन,  बरू जनताका सांस्कृतिक गतिविधिमा सक्रियाताका साथ सहभागी हुन्छ । यसले दृढताका साथ वर्गदिशा र जनदिशाको पालना गर्छ । यसले विभिन्न किसिमले जनताको सेवा गर्छ । यसले स्वास्थ्य सेवा प्रदान गर्छ । यो जनताका कृषि उत्पादनका कार्यमा सहभागी हुन्छ । जङ्गली पैदावर जम्मा गर्न हात बटाउँछ । यसले जनताबाट अथाह  माया र स्नेह प्राप्त गरेको छ । जनयुद्धलाई मजबुत बनाउन र अग्र गति दिन आफ्ना हुर्केका छोराछोरीलाई पियलजिएमा सामेल गराउनु आम जनता आफ्नो जिम्मेवारी ठान्दछन् । जनता पियलजिएसित घनिष्ठ रूपमा गाँसिएका छन् र उनीहरू पियलजिएका गल्तीहरूको आलोचना गर्नपनि  हिचकिचाउँदैनन् । यसरी पियलजिए इस्पातिलो बन्दै गएको छ र कदमकदममा सच्चा र मजबुत जन सेना बनेर अघि बढेको छ । यस क्रममा यसले पार्टी र संयुक्त मोर्चालाई मजबुत बनाएको छ ।
पिपुल्स मार्च: महिला जनमुक्ति छापामार सेनाका विरत्वपूर्ण कार्यका समाचारहरू आउँछन्, यस किसिमको उपलब्धी कसरी तपाईँहरूले हासिल गर्न सक्नुभयो ?

देवजीः महिलाहरू हाम्रो समाजका सबैभन्दा उत्पीडित तप्का हुन् । उनीहरू समाजका आधा हिस्सा हुन् । उनीहरूसित प्रशस्त शक्ति विद्यमान छ । हाम्रो पार्टी र पियलजिएले गरेका चेतनामूलक  कार्यक्रमहरू र  दुस्मनका विरुद्ध नेतृत्व गरेको वर्गसङ्घर्षले समाजमा पितृसत्तात्मक प्रवृत्तिका साथै थुप्रै कुरामा परिवर्तन ल्याएको छ । हाम्रो पार्टीले पितृसत्तात्मक मान्यतालाई कार्यकर्ताबाट मुक्त गराउन तीनवटा मोर्चा पार्टी, पियलजिए र संयुक्त मोर्चामा महिला कार्यकर्तामा निहित शक्ति र सिर्जनात्मकताको अभिवृद्धि र अन्वेषणका लागि निरन्तर प्रयास गर्दै आएको छ । यथार्थ के हो भने समग्र पियलजिएमा देश्व्यापी रूपमा आधी प्रतिशत महिला कमरेडहरूको सङ्ख्या छ र यसले उनीहरूको उत्साहको स्थितिलाई दर्शाउँछ । उनीहरूलाई हरेक मोर्चाको हरेक तहमा नेतृत्वदायी भूमिकामा विकसित गर्नु हाम्रो जिम्मेवारी हो ।

पिपुल्स मार्चः सैन्य कारवाहीका सम्बन्धमा पियलजिएको नीति के हो ?
देबजी: पार्टीले सैन्य कारवाहीमा वर्गदिशा–जनदिशामा आधारित नीतिअँगालेको हुन्छ । पियलजिएले यसको पालना गर्छ । शोषक सत्ताधारी वर्गको सशस्त्र बल प्राय गरेर उत्पीडित जनता भएका ठाउँमा तैनाथ गरिएको हुन्छ । त्यसकारण  पार्टी र पियलजिएले त्यसरी तैनाथ गरिएका सशस्त्र बललाई जनतालाई होइन, जनतामारा आफ्ना मालिकलाई निसाना बनाउन अपिल गर्ने गर्छ । साथै उनीहरूलाई त्यो ठाउँबाट हट्न पनि भन्छ । पियलजिएले आत्मसमर्पण गरेका सत्रु पक्षका सदस्यहरूको सफाय गर्दैन । यसले घाइतहरूको उपचार गर्छ । तर शोषक वर्गको सशस्त्र फौजले जनतामाथि पाशविक आक्रमण गरेको बेलाचाहिँ पियलजिएले निर्मम किसिमले प्रस्तुत हुन्छ । यसले वर्ग दुस्मन र प्रहरीका खुँखार सूचकहरूको पनि सफाय गर्छ । साथै सैन्य नीतिको पालना नगर्नेलाई पार्टी कमिटीले अनुशासनको कारबाही पनि गर्ने गर्छ ।
पिपुल्स मार्च: के अन्य मुलुकका माओवादी पार्टीका जनसेनासित पनि पियलजिएको सम्बन्ध छ ?
देबजी: हाम्रो पार्टी र पियलजिएले सर्वहारा अन्तर्राष्ट्रियतावादलाई आत्मसात गर्दछन् । वैचारिक दृष्टिले हाम्रो पार्टीको विचारसित मिल्ने अन्य कम्युनिस्ट पार्टीहरूका जनसेनासित हाम्रो वैचारिक सम्बन्ध छ । पियलजिएले केही वर्षअघि नेपालका जनमुक्ति सेनाका सदस्यहरूलाई तालिम दिएको थियो । हाम्रो पार्टी भारतको उत्तरपूर्वका सशस्त्र सङ्गठनहरूको सङ्घर्षलाई समर्थन गर्छ । हामी फिलिपिन्स, टर्की, कुर्दिस्तान र यस्तै अन्य सशस्त्र सङ्घर्षहरूका अनुभवहरूको अध्ययन गरिरहेका छौँ । पियलजिए वैचारिक दृष्टिले फिलिपिन्सको नयाँ जनसेना (एनपिए) र टिकेपी (यमयल) को छापामार सेना टिक्कोका साथमा छ ।
पिपुल्स मार्च: पार्टी, पियलजिए र जनताका लागि केही सन्देश छ कि ?
देबजी: सिङ्गो पार्टी र पियलजिएले दीर्घकालीन जनयुद्धको सिद्धान्त र यसका नियमहरू र बोल्सेविक क्रान्ति, चीनको दीर्घकालीन जनयुद्ध, भियतनाम र अहिले दीर्घकालीन जनयुद्ध चलिरहेका मुलुकहरूको अनुभवको अध्ययन गर्नु जरुरी छ, जसबाट जनयुद्ध सञ्चालका लागि, शिक्षा लिन सकियोस्, केही जान्न सकियोस् र क्षमताको वृद्धि गर्न  र अघि बढ्न सघाउ पुगोस् । पार्टी कमिटीहरू र सैन्य कमान्डहरूले दीर्घकालीन जनयुद्धका माओवादी सिद्धान्तका नियमहरूको सिर्जनात्मक किसिमले ठोस क्रान्तिकारी व्यवहारमा लागु गर्ने कुरालाई एकदमै महत्व दिनु पर्छ ।  उनीहरूले हाम्रो ५० बर्से क्रान्तिकारी आन्दोलनको बहुमूल्य अनुभवहरूको पनि अध्ययन गर्नुपर्छ, खास गरेर पियलजिए गठनपछिका २० वर्षका छापामार युद्धका अनुभवहरू, मूल राजनीतिक कार्यहरू, जनकार्य, र सैन्यकार्यका अनुभवहरूको अध्ययन गरेर शक्ति आर्जन गरेर बदलिँदो परिस्थितिमा  दीर्घकालीन जनयुद्धलाई मुलुकको कुनाकुनामा विस्तार गर्नका लागि यी सबै अनुभवको अध्ययन गर्नु पर्छ । यसरी मात्रै हामी तत्कालका बाधाव्यवधान पार गर्न सक्छौँ र महान् सफलता प्राप्तिको दिशामा अघि बढ्न सक्छौँ । उत्पीडित वर्ग, उत्पीडित सामाजिक तप्का र जातजातिहरूले हाम्रो पार्टीको उद्देश्य र राजनीतिक लाइन थाहा पाउनै पर्ने हुन्छ, एउटा शक्तिशाली शक्ति बन्नका लागि उनीहरू सही जनवादी संयुक्त मोर्चामा एकताबद्ध हुनै पर्छ । यही नै देशका  १.३ अरब विशाल जनताको मुक्तिको उपाय हो ।

अनु: ऋषिराज बराल,जनमेलबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार