नेकपा (माओवादी केन्द्र) परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ लाई एकपछि अर्को गरेर धक्का लागेको छ ।

नेकपा हुँदा उनी माओवादी केन्द्रको तर्फबाट गृहमन्त्री बनेका थिए । उनलाई अध्यक्ष पुष्पकमल दाहालकै जोडमा गृहमन्त्री बनाईएको थियो । एमालेसँग एकता गर्नुभन्दा केही पहिलेमात्रै उनी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । लामो समय प्रचण्डसँग टाढा रहेका बादल पछि प्रचण्डकै नेतृत्वमा रहेको नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए ।

प्रचण्डले एमालेसँग पार्टी एकता गर्दासम्म बादल माओवादी केन्द्रमा दोस्रो वरियताको नेता थिए । दाहालले बादललाई नै गृहमन्त्री बनाउने प्रस्ताव ओलीसामू गरेका थिए ।

सुरुमा बादललाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाईनुपर्ने दाहालको प्रस्ताव थियो । तर, दाहालको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएनन् । र, ओली सरकारमा लामो समयसम्म ईश्वर पोखरेलमात्रै उपप्रधानमन्त्रीको जिम्मेवारीमा रहे । नेकपाभित्रको अन्तरसंघर्षमा बादल सुरुमा तटस्थ बसेका थिए ।

तर, जब कित्ताकाट हुने अवस्था आयो उनी खुलेरै प्रधानमन्त्री ओलीको साथमा उभिए । दाहालको यो कदमले पूर्व माओवादी केन्द्रका नेता÷कार्यकर्तामात्रै नभएर पूर्व एमाले पँक्तिपनि झस्किएको थियो । पुष ५ गतेको पहिलो संसद् विघटनदेखि दोस्रो पटकसम्म आईपुग्दा बादल ओलीको मुख्य सारथीको रुपमा उभिए । खासगरी ओलीले पुष ५ गते संसद् विघटन गर्नु अघिल्लो दिन अर्थात् पुष ४ गते प्रचण्ड, बामदेवदेखि पुल्चोकस्थित् मन्त्रीक्वार्टर पुगेर बादलसहित केही मन्त्रीहरुलाई भेटेका थिए । ओलीले सो दिन आफूलाई साथ दिने कि प्रचण्डलाई कित्ता क्लियर गर्न भनेर बादललाई भनेका थिए ।

फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववतः अवस्थामा फर्काउने फैसला गर्यो । जुन फैसला बादलसहित ओली क्याम्पमा प्रवेश गरेका अन्य सांसदहरुको लागि समेत अप्ठ्यारो परिस्थिति थियो । माओवादीले ओलीतिर लागेका सांसदहरुलाई दलमा फर्कनको लागि समय पनि दियो । तर, उनीहरुले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ पनि दिएनन् । र, एमालेमै रहने सन्देश पठाए । पछि माओवादी केन्द्रले पार्टीको विधानअनुसार उनीहरुलाई सांसदसहित पार्टीको जिम्मेवारीबाट हटायो । उनीहरु सांसद नहुँदापनि मन्त्रीमा भने यथावत थिए । तर, पछिल्लोपटक सर्वोच्च अदालतले उनीहरुलाई सांसद नभएको कारण मन्त्रीको जिम्मेवारीमा रहन असंवैधानिक भन्दै जिम्मेवारीबाट मुक्त गरायो । कतिसम्म भने बादललाई त एकै दिन दुई वटा झट्का लागेको थियो । विहान अदालतको आदेशसँगै मन्त्रीबाट मुक्त भएका उनी बेलुका राष्ट्रियसभाको बाग्मती प्रदेशको उपनिर्वाचनमा माधव नेपालनिकट डा. खिमलाल देवकोटासँग पराजित बने ।

मन्त्रीको जिम्मेवारीबाट मुक्त र राष्ट्रियसभाको निर्वाचनमा पराजित भएपछि बादललाई राजनीतिमा ठूलै धक्का लागेको महसुस भयो । आफूनिकट धेरै नेता तथा कार्यकर्तालेसमेत उनको साथ छोडेका छन् । उनीहरु माओवादी केन्द्रमै फर्किएका छन् । हालै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा बादलकी श्रीमती नैनकला थापालाई सञ्चारमन्त्री बनाएका थिए । त्यतिवेला पनि बादलको भूमिकालाई लिएर धेरै आलोचना भयो । पार्टीमा लामो समयसम्म त्याग गरेका र योगदान पुर्याएका व्यक्तिहरुलाई पन्छाएर आफ्नै श्रीमतीलाई मन्त्री बनाएको भन्दै बादलको आलोचना भएको थियो । तर, बादल पत्नी नैनकला मन्त्री बनेको १८ दिन नपुग्दै सर्वोच्च अदालतले उनीहरुलाई पदमुक्त गरिदियो । यसपछि बादललाई झनै ठूलो झट्का लागेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार