
कहिले यता कहिले उता! अर्थात नेकपा एमाले उपाध्यक्ष बामदेव गौतममाथि लागेको अस्थीर स्वाभावको ‘ट्याग’ अझै मेटिएको छैन।
नेकपा टुक्रिनुमा अन्य नेताहरुसँगै उनीमाथि लागेको दोष पनि जीवितै छ। नेकपा एमाले र नेकपा माओवादी मिलाएर जन्माएको नेकपा पार्टी स्पष्ट आकार लिनु पहिल्यै मर्नुमा उनको अस्थिर स्वाभावले पनि मलजल गरेको आरोप छ।
चुनावमा पराजित नेता हुन् उनी। तर प्रधानमन्त्री, प्रतिनिधिसभा सदस्य नभए राष्ट्रियसभा सदस्य बन्ने अतृप्त उनको चाहनाले नेकपा आन्तरिक राजनीतिमा खण्डित हुन पुगेको थियो।
तर गौतम, अध्यक्ष ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरुको अन्तरद्वन्द्वले निरन्तरता पाएपछि ढल्नै लागेको नेकपा घरलाई २३ फागुनमा सर्वोच्च अदालतले नै गल्र्यामगुर्लम पार्यो।
सर्वोच्चको यो निर्णय आउनु भन्दा केही अघि माघमा गौतमले आफू एकताको पक्षमा रहेको भन्दै एकता अभियान घोषणा गरेका थिए सार्वजनिकरुपमा।
उनका साथमा नेता हरि पराजुली मात्रै उभिएका थिए। ब्यूँतिएको नेकपा एमालेको आन्तरिक राजनीति नेकपा भन्दा माथि उठ्न सकेन।
झण्डै ४ महिना यता अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच द्वन्द्व कायमै छ। नेकपालाई एक बनाउन असफल गौतमले यता आएर एमाले एकताको पक्षमा उभिएको दाबी गर्दै आएका थिए।
उनले यो बीचमा कहिले नेपाल पक्षको कुरा सुने त, कहिले दूतको रुपमा खटिएका ओलीका नेताहरुका। सार्वजनिकरुपमा उनले दुवै पक्षको गल्ती औँल्याउँदै आएका थिए।
उनको बारम्बार उद्घोष थियो, ‘मलाई अविश्वासका प्रस्तावको तयारीबारे पनि थाहा भएन, संसद विघटन हुँदैछ भन्नेबारे पनि जानकारी भएन। यी दुवै कार्य गलत थिए।’
पछिल्लो पटक उनले आफू एकताको पहलमै रहेको दाबी गर्दै एमाले टुक्रिएमा आफू नेपाल पक्षतिर उभिने सार्वजनिकरुपमै घोषणा गरेका थिए।
तर शुक्रबार ओली पक्षीय केन्द्रीय कमिटी बैठकमा गौतम सामेल भए। त्यसको पूर्वजानकारी उनले लिखितरुपमै गराए।
नेपाल पक्षले आफ्नो मागबिपरीत भएको निष्कर्ष निकाल्दै बहिष्कार गरेको बैठकमा गौतम झुल्किए।
ओली पक्षले नेपाल पक्षको माग अनुसार आफूले गठन गरेको १० औँ महाधिवेशन आयोजक कमिटी भंग गर्दै दुई दिन अघि त्यसलाई २३ जना माओवादी पृष्ठभूमिका नेताहरुसहित केन्द्रीय कमिटीमा रुपान्तरण गरेको घोषणा गरेको थियो।
त्यसैले शुक्रबार ११ बजे केन्द्रीय कमिटी बैठक निर्धारण गरेको थियो। उक्त बैठक रोक्न नेपालले बिहीबार साँझ टेलिफोनबाट र उनी पक्षधर नेताहरुले बालुवाटरमै गएर ओलीलाई आग्रह गरेका थिए।
एकताको प्रयास अन्तिम चरणमा रहेकाले शुक्रबार निर्धारत बैठक स्थगित गर्न उनीहरुले ओलीलाई आग्रह गरेका थिए। तर ओली आफ्ना साथीहरुसँग सल्लाह गर्ने भन्दै उनीहरुसँग बिदा भए र पूर्वनिर्धारित बैठकलाई अघि बढाए।
जहाँ गौतमको पनि उपस्थिति थियो। त्यसपछि ओलीले गौतमलाई स्वागत मात्रै गरेनन्, व्यंग्य पनि हान्न भ्याए।
ओलीले उनलाई लक्षित गर्दै भने, ‘एकताका लागि बामदेव कमरेड पनि बैठकमा आउनु भएको छ। भोलीको बैठकमा अन्य कमरेडहरु पनि आउन आग्रह गर्छु। बामदेव गौतमलाई स्वागत छ।’







