माधव पक्षको उपस्थितिविनै शुक्रबार बालुवाटारमा बसेको एमाले बैठकले मुख्यतया दुईवटा सन्देश दिएको छ ।

जसलाई वामदेव आफूतिर फर्काउने र माधव समूहलाई थर्काउने ओली नीतिका रूपमा बुझिएको छ । शुक्रबारको उपाध्यक्ष वामदेव गौतमले ओलीसँगै रहेको घोषणा गर्नु र ओलीले माधव पक्षलाई हस्ताक्षर फिर्ता गर्न दिएको चेतावनीले पनि सोही कुराको पुष्टि गरेको छ । साथै यसअघि महाधिवेशन आयोजक समितिले मान्यता नपाउँदा माधव नेपाल सहितका नेताहरूलाई गरेको कारबाही अवैध भएकोमा शुक्रबारको बैठकले ओलीलाई अव नेताहरूमाथि कारबाहीको डण्डा चलाउने बाटो समेत खोलेको छ ।

यो सन्देशले अन्ततः माधव पक्षलाई घाटा र अध्यक्ष ओली पक्षलाई नै फाइदा पुग्ने चर्चासमेत हुन थालेको छ । किनभने, लामो समयदेखि तटस्थ रहेको बताउँदै आएका उपाध्यक्ष वामदेव गौतम बालुवाटार बैठकमै सहभागी भएर अब नफर्कने गरी ओली पक्षमै रहने घोषणा गरिसकेका छन् ।

यस्तो घोषणा गर्दै गौतमले पार्टी एकता अहिलेको प्रमुख आवश्यकता भएको भन्दै अध्यक्ष ओलीले आफूलाई एकताको जिम्मा दिए एकता गराएरै छोड्ने दाबीसमेत गरे ।

उनले एमाले मात्रै होइन, कम्युनिस्ट एकता नै गर्न सक्ने खुबी आफूमा रहेको बताए । ‘अहिलेको प्रमुख आवश्यकता पार्टी एकता नै हो । माधवजीले पनि गल्ती गरेकै हो । अब मलाई जिम्मा दिए म पार्टी एकता गराएरै छोड्छु’, गौतमले बैठकमा भने, ‘तपाईलाई पनि चित्त बुझ्ने गरी नै पार्टी एकता गर्छु ।’

गौतमपछि बोलेका अध्यक्ष ओलीले उनको प्रस्ताव भने सहजै स्वीकार गरेनन् । ओलीले यसअघि गौतमले पार्टी एकता महाअभियान भनेर चलाए पनि त्यसमा असफल भएको र माधव पक्षले कुनै वास्ता नगरेको भन्दै उनीहरू एकताको पक्षमै नरहेको दाबी गरे ।

अध्यक्ष ओलीले आफ्नो सरकार ढाल्न र विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने माधव पक्षको नियत नै ठिक नरहेको आरोप लगाए । त्यति मात्रै होइन, ओलीले आफू पार्टी एकताका लागि प्रयासरत रहे पनि माधव नेपाल आफूसँग भेट्नै नमानेकाले पार्टी एकता नहुने सङ्केत गरे । ‘मैले हिजो मात्रै माधव नेपाललाई फोन गरेँ र भेट्न आग्रह गरेँ । तर, उहाँले मान्नुभएन, भेट्नै खोज्नुभएन’, ओलीले केन्द्रीय समिति बैठकमा ब्रिफिङ गर्दै भने, ‘यदि दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न । काँग्रेसको नेतालाई प्रम बनाउन एमालेका सदस्यलाई छुट छैन ।’

ओलीले चेतावनी शैलीमा भने ‘यो कुरा एमालेलाई किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु पार्टी फुटको घोषणा हो ।’

यसअघि गौतमले माधव पक्षले पार्टी खोले सोही पार्टीमा आबद्ध हुने सार्वजनिकरुपमै घोषणा गरेका थिए । तर, गौतमको यो घोषणा धेरै दिन टिक्न सकेन । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक पुस ५ मा प्रतिनिधि सभा विघटन गरेदेखि नै एकता अभियान चलाउने बताएका गौतम अन्ततः ओलीसँगको सहकार्यमा पुगेपछि माधव समूहलाई थप झट्का लागेको छ । यसले खनाल नेपाल समूह ओलीसँग थप टाढिने सङ्केत पनि देखाएको छ ।

जेठ २ को पार्टी संरचना अनुसार बैठक बोलाउनुपर्ने र प्याकेजमा सहमति गर्नुपर्ने प्रस्ताव अघि सार्दै आएको माधव समूहको शर्तविपरित अध्यक्ष ओलीले जेठ २ मै टेकेर बैठक बोलाएको दाबी गरे पनि माधव पक्ष त्यसमा सहमत हुन सकेको थिएन ।

ओली पक्षले दाबी गरेझैँ जेठ २ को पार्टी संरचना अनुसार शुक्रबारको बैठक थिएन भन्ने कुरा त फागुन २८ मा पार्टी प्रवेश गरेका माओवादी नेताहरूलाई समेत एमालेकै सदस्यका हैसियतमा सहभागी गराएबाटै पनि पुष्टि भइसकेको छ ।

‘हामीले एकताको प्रयास गरिरहेका बेला बालुवाटारमा जे निर्णय गरेर हामीलाई धम्क्याउने प्रयास गरियो, यसले हामी मात्रैले एकता चाहेर नहुने रहेछ भन्ने प्रष्ट भयो । अहिले पनि धम्क्याउने, तर्साउने नीतिमै उहाँहरू हुनुहुन्छ भन्ने देखियो, जसले एकताको वातावरण बन्छ भन्ने लाग्दैन’, नेता नेपाल पक्षका एक नेता प्रश्न गर्दै भन्छन्, ‘जेठ २ को अवस्थाको बैठक भनेर उहाँहरूले फागुन २८ को अवस्थाको बैठक राख्नुभयो । यो कतिसम्म झुट र बेइमानी हो ? अनि कसरी ओलीको विश्वास गर्न सकिन्छ ?’ उनले ओली पक्षले जेठ २ को अवस्थाको बैठक भनेर भने पनि हुनै नसक्ने जिकिर गरे । ‘जेठ २ को पार्टी संरचना र हाम्रो मागअनुसार बैठक राखिएको भनेर जे भनिएको छ । यो अर्को झुट र बेइमानी हो । जेठ २ को अवस्थामा ओली फर्केकै छैनन् ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार