
म साहित्यिक होइन, साहित्यको विद्यार्थी पनि होइन । साहित्यको पारखी त हुँदै होइन । जब नारायण ढकालजीले मेरो किताबको विमोचनमा केही बोलिदिनुपर्यो भन्नुभयो, मचाहिँ असमञ्जसमा परेँ । किनभने, उहाँको म पाठक हुँ, धेरै कालदेखिको पाठक । उहाँको ‘इरफान अली’ भन्ने कथा पढेर उहाँप्रति एकदमै आकर्षित भएको मान्छे हुँ । त्यो बेलादेखि अहिलेसम्म, पाएसम्म उहाँका कृतिहरू पढ्छु । तर गहन रूपले पर्गेल्ने क्षमता मसँग छैन । त्यसले गर्दा साहित्यिक कुरा म गर्दिनँ ।
खालि, नारायण ढकालको यो ‘हजार माइलको बाटो’ पुस्तकले मलाई पारेको प्रभाव, उहाँ र उहाँको कृतित्वबारे मलाई लागेका केही धारणाहरू मात्रै राख्न चाहन्छु ।
तीनवटा कुरामाथिमात्रै बोल्छु । पहिलो कुरा के भने, नारायण ढकाल काठमाडौं उपत्यकाको काँठको सबैभन्दा (मैले जानेसम्म) विशिष्ट आख्यानकार हुन् । मेरो विचारमा, नेपालमा काँठलाई त्यसको मनोविज्ञान, समाज, अर्थनीति, चलढल, परिवर्तनका साथै त्योभित्रका पीर, पीडा, कुण्ठासहित गतिलोसँग बुझ्ने र अभिव्यक्ति दिने एकदम प्रखर, सबभन्दा जानिएका स्रष्टा नारायण ढकाल हुन् ।
म भूगोलको विद्यार्थी, योजना पनि मेरो क्षेत्र हो । भूगोल पढाउँदा काठमाडौं उपत्यकाभित्र हामी सर्भेहरू गर्छौं । त्यस क्रममा विद्यार्थीहरूलाई नारायण ढकालको किताब पढेर जानु भनेर भन्थेँ । काठमाडौंको काँठको जुन अनौठो प्रकारको व्यक्तित्व छ, त्यसलाई उहाँले जति राम्रोसँग उजागर कसैले गरेको छैन । एउटा पक्ष त्यो छ, उहाँको काँठ बुझाइको ।
अर्को पक्ष, काँठभित्रको समाजको प्रवृत्ति छ, बाहुनक्षेत्रीको बसोबास, बाहुन क्षेत्री र दलितबीचको अन्योन्याश्रित खाडलको परिधि र गहिराइसहितको, त्यो ढकालजीले जस्तो कसैले बुझेको छैन । त्यो अन्योन्याश्रित पनि छ, तर गहिरो खाडल पनि छ । त्यो अहिलेदेखिको होइन, सदियौंदेखिको छ । एकातिर त्यो परम्परा कसरी बदलिँदो छ, अर्कातिर त्यो कसरी बदलिइरहेको छैन, यी दुईटै कुरालाई उहाँले जति राम्रोसँग कसैले अभिव्यक्त गरेको छजस्तो मलाई लाग्दैन ।
म एउटा पहाडको गाउँबाट आएको मान्छे, काँठको होइन । गाउँ र सहर हुन्छ, ती दुइटाको बीचमा काँठ छ, काठमाडौं उपत्यकाको काँठ । काँठको संसार एउटा गोधूलीको संसार हो । छायाँको संसार हो । दिन गइसकेको छैन, रात पनि परिसकेको छैन । त्यो बीचको अवधिमा काँठ बाँच्छ । काँठ आधुनिक र पुरातन, सहर र गाउँ, परिवर्तन र यथास्थितिमा लगातार तानिएर विभक्त संसार हो । त्यो संसारलाई उहाँले जति राम्रोसँग केलाउने अर्को मान्छे मैले देखेको छैन ।
काँठ सहरमा आउँदा गाउँले लखेट्छ, गाउँमा जाँदा सहरले लखेट्छ । निरन्तर लखेटिएको, अस्तित्व, परिचय सब कुरामा लखेटिएको मान्छे काँठे । फेरि काँठ उपेक्षित छ, सहरले उपेक्षा गर्छ काँठलाई, गाउँले उपेक्षा गर्छ काँठलाई । एउटा बीचको त्रिशंकुको स्थितिमा काँठ बाँचेको हुन्छ । र, त्यो त्रिशंकुको वर्णन नारायण ढकालजीले जस्तो राम्रो कसैले गरेकोजस्तो मलाई लाग्दैन ।

लेखक प्रा.डा पिताम्बर शर्मा
काँठको त्यही प्रकृतिका कारण विद्रोही बागी जन्माउँछ । तर कस्तो बागी भने वर्गीय बागी होइन, व्यक्तिगत बागी । समाजको मनोविज्ञानको कारणले होस्, सामाजिक–आर्थिक कारणले होस्, जुनसुकै कारणले भए पनि समाजमा भइरहेको विभेद उत्पीडन काँठेलाई चित्त बुझ्दैन । र, ऊ त्यसका विरुद्ध उठ्छ, वर्गका रूपमा होइन, व्यक्तिका रूपमा । र, त्यो व्यक्तिको चित्रण उहाँको विशिष्टता हो जस्तो मलाई लाग्छ । यसैले आफ्नो सम्पूर्ण साहित्यिक जीवनमा काँठप्रति समर्पित भएर त्यहाँको मनोदशालाई बाहिर उद्घाटन गर्न चाहने यति राम्रो स्रष्टा अर्को छैन । उहाँले मलाई पार्नुभएको प्रभाव यो हो ।
दोस्रो, नेपालका धेरै उपन्यास त मैले पढेको छैन । साहित्य पनि पढेको छैन । तर इतिहास र युगको बोधको सचेतना जति नारायण ढकालमा छ, त्यति धेरै कम स्रष्टामा होला भन्ने म ठान्छु । उहाँले मलाई यो उपन्यास ‘ट्रायलोजी’को भाग हो भन्नुभयो, ‘प्रेतकल्प’, ‘वृषभ वध’ र ‘हजार माइलको बाटो’ । त्यसपछि मलाई खसखस लाग्यो । उहाँले ‘हजार माइलको बाटो’ पढ्न उहाँले दिनुभयो, तर त्यसअघि मैले ‘वृषभ वध’ पढेँ । ‘प्रेतकल्प’ त मैले पहिले नै पढिसकेको थिएँ । यसरी उहाँको ‘ट्रायलोजी’को तीनवटै किताब मैले पढेको आधारमा के भन्न सक्छु भने एउटै सामाजिक र भौगोलिक परिवेशभित्र भिन्न युगका बागी, विद्रोहीलाई नायकका रूपमा प्रस्तुत गर्ने जमर्को नेपालका कसैले गरेको छैन । त्यो गर्ने स्रष्टा नारायण ढकालमात्रै हो ।
तपाईंले ‘प्रेतकल्प’ पढ्नुभएको छ भने त्यसमा बालकृष्ण, राणाकालीन बागी; ‘वृषभ वध’को देवेन्द्र पञ्चायतकालीन बागी; ‘हजार माइलको बाटो’को धीरेन्द्र, अहिलेको समसायिक बागी । यी तीन बागीहरूको समाज र परिवेश त्यही छ । कहिले दुःखपुर, कहिले आनन्दपुर त कहिले हरिहर तीर्थ हुन्छ । ठाउँ त्यही हो, परिवेश त्यही हो । त्यही परिवेशमा उहाँले तीन युगका तीन बागीलाई ल्याएर उभ्याउनुहुन्छ । ती बागीहरूको मनोदशा, उनीहरूको स्थिति, परिवर्तनको उनीहरूको चाहनालाई पाठकअगाडि राखिदिनुहुन्छ । जुन धेरै कम नेपाली स्रष्टाहरूले गरेका छन् । यसैले नारायण ढकालको यो लेखन एक प्रकारले समाजको ऐतिहासिक अभिलेख पनि हो, खालि उपन्यासमात्रै होइन । उहाँले राणाकालीन समाज कस्तो थियो, के प्रकारले कुराहरू हुन्थे, बसोबास कस्तो थियो भन्ने कुरासमेत राम्रोसँग पर्गेल्नुभएको छ ‘प्रेतकल्प’मा । त्यही रूपले यसमा अहिलेको समकालीन समाजलाई पर्गेल्नुभएको छ । प्रत्येक युगको चेतनालाई खालि एउटा उपन्यासकारले जस्तो आख्यान बुनेरमात्रै होइन, त्यसको समाज, त्यहाँको अर्थतन्त्र, राजनीति सबैलाई बुझेर प्रस्तुत गर्नुभएको छ । त्यसले गर्दा आजभन्दा पचास–सय बर्षपछि उहाँको लेखन पढ्ने मान्छेलाई अहिलेको नेपालदेखि सय बर्षअघिको चन्द्र समसेरको पालाको नेपालको तस्विर पनि दिन्छ । धेरै कम लेखकहरूले त्यो प्रयत्न गरेका छन् ।
उहाँको लेखन चर्चा गर्दा पढ्दाखेरि सन् १९६८ मा बनेको क्युबन फिल्म ‘लुसिया’को याद आयो । फिल्ममा ‘लुसिया’ भन्ने केटी छ । त्यो केटीलाई तीन स्थितिमा चित्रण गरिएको छ । नाम लुसिया नै हो, एउटा लुसिया स्पेनविरुद्ध क्युबाको स्वतन्त्रता संग्राममा हुन्छे । अनि सन् १९३० तिर अर्की केटी लुसिया हुन्छे र सन् १९६० मा क्युबाले परिवर्तन गरिसकेपछि लुसिया भन्ने अर्की केटी हुन्छे । यी एउटै नाम भएका तर तीनवटा युग भोगेका केटीहरू, उनीहरूको चेतनालाई साह्रै मजासँग देखाइएको छ फिल्ममा । मलाई के लाग्यो भने नेपालमा कुनै गतिलो ‘फिल्ममेकर’ हुन्थ्यो भने ‘प्रेतकल्प’, ‘वृषभ वध’ र ‘हजार माइलको बाटो’लाई उनेर यस्तै बागी नायक राखेर एउटा फिल्म बनाउन सक्थ्यो होला ।
अब अन्तिम र तेस्रो कुरा । नारायण ढकालले यो उपन्यासमा सामाजिक– राजनीतिक रूपान्तरण र क्रान्तिको कुरा गर्नुभएको छ । उपन्यासको करिव–करिब आधा भाग माओवादी जनयुद्धसँग सम्बन्धित छ । जनयुद्ध नै यसको भावभूमि हो, पृष्ठभूमि हो । जनयुद्धकै सेरोफेरोमा छ यसको कथा । तर यो जनयुद्धको मूल बाटोको कथा होइन, यो मूल बाटो खोजेका गोरेटाहरूको कथा हो । प्रत्येक पात्र गोरेटो हो, दलबहादुर होस् या धीरेन्द्र होस्, सबै गोरेटाहरू हुन् । ती सब गोरेटाले एउटा मूल बाटो खोज्दैछन्, परिवर्तनको, क्रान्तिको, रूपान्तरणको । त्यो मूलबाटोको कथाचाहिँ यो उपन्यास हो । यसले माओवादी कार्यकर्ताको उद्गमथलो के थियो, कहाँबाट तीनीहरू आए, कसरी ती आएर समाजमा मिसिए भन्ने कुराको पनि सारगर्वित चित्रण यसले गर्छ ।
उहाँ एउटा खास राजनीतिक दलसँग सम्बद्ध हुनुहुन्छ, त्यसका बाबजुद जनयुद्धको औचित्यप्रति लेखकको असहमति छैन । उहाँको असहमति जनयुद्धको परिणतिसँगमात्रै हो । जुन कारण अर्थात विभेद देखाएर जनयुद्ध भयो, जुन विभेदका विरुद्ध उहाँको ‘प्रेतकल्प’देखिका बागी नायकहरू जुध्छन्, त्यो अहिले पनि छ । अहिले पनि एउटा कामीले बसेर बाहुन क्षेत्रीसँग चिया खाने स्थिति छैन । त्यसलाई उहाँले चित्रण गर्न खोज्नुभएको छ । त्यसहिसाबले उहाँको असहमति जनयुद्धको औचित्यसँग होइन, उहाँको असहमति जनयुद्धको परिणतिसँगमात्रै हो ।
उहाँले उपन्यासको अन्तिम सय पृष्ठलाई उपसंहार अर्थात एक संक्षिप्त अधिगल्प भन्नुभएको छ, त्योचाहिँ मेरो विचारमा पूरा पुस्तकको राजनीतिक सार हो । पूरा पुस्तक पढिसकेपछि यो भाग पढ्दा पहिलाका पात्र तपाईंको मनमा आइबस्छन् । तिनले गरेका कुराहरू खेल्न सुरु गर्छन् । अनि मलाई के लाग्यो भने यो अन्तिम सय पेजचाहिँ नेपालका प्रत्येक राजनीतिक कार्यकर्ताले, राजनीतिक नेताले, खास गरेर माओवादी नेताहरूले र एमालेका नेताहरूले पनि पढ्नुपर्ने छ ।
उपन्यासको मूख्यपात्र धीरेन्द्रमा जनयुद्धको परिणतिप्रति साह्रै वितृष्णा छ । उसले एकप्रकारले पश्चाताप गरेजस्तो पनि देखिन्छ । तर त्यो पश्चाताप धीरेन्द्रको पश्चातापमात्रै होइन, त्यो पश्चाताप त एमाले, माओवादीको पनि पश्चाताप हो । रूपान्तरण चाहने सबैको पश्चाताप हो । किनभने माओवादीले जुन राजनीतिक–आर्थिक स्थान निर्माण ग¥यो नि आन्दोलनको सुरुको अवस्थामा, त्यसको फाइदा कसैले पनि लिएन । माओवादी आफैं त्यो स्थानप्रति उपेक्षा गरेर रहे । एमाले, नेपाली कांग्रेस वा रूपान्तरण चाहने नेपालका कुनै दलले पनि त्यसको प्रयोग गरेनन् । त्यसले गर्दा कसैलाई लाग्ला कि यो माओवादीप्रतिमात्रै औंला ठड्याएको हो, तर होइन ।
भनाइ छ नि, एउटा औंलाले अर्कातिर देखाउँदा तीनवटा औंलाले आफैंतिर देखाइरहेको हुन्छ । यो पढ्दा प्रत्येक पाठकलाई पनि तीनवटा औंलाले देखाइरहेको हुन्छ । त्यस्तो मलाई लाग्यो । मलाई के पनि लाग्यो भने स्वैरकल्पनामा आश्रित उपसंहारचाहिँ एक प्रकारले सबै नेताहरूलाई कठघरामा उभ्याएर केरेको जस्तो छ । जति प्रेतहरू, पहिलाका पात्रहरू बाहिर आउँछन्, ती सबले केर्छन् नेताहरूलाई । ‘तिमीले के दियौ ? हामीलाई के सपना तिमीहरूले बेचेका थियौ, ती सपनाहरूको परिणति के भयो ? यसैले गर्दा गणतन्त्र, समाजवाद भूत गणतन्त्रमा परिणत छ’ भनेर । त्यो भूत गणतन्त्रमा अहिलेका मात्रै पात्र छैनन्, बाजेपुस्तादेखिका पात्र छन् । त्यो भूत गणतन्त्रमा आशामा, त्यसको सपनामा बसेका मान्छे छन् । त्यसैले, यो उपसंहार नेपाली उपन्यासमा मेरो विचारमा सर्वथा नयाँ प्रयोग हो । त्यो प्रयोगले यस्ता राजनीतिक प्रश्नहरू उठाउँछ, जुन राजनीतिक प्रश्नहरूको जवाफ नदिइ हुँदैन र त्यसप्रति चुप लागेर बस्न कसैलाई पनि मिल्दैन ।
‘चरैवेती, चरैवेती’ भन्ने धेरै ठाउँमा प्रयोग भएको छ उहाँको उपन्यासमा ।
‘चरैवेती’ भनेको बाटो हिँडिराख हिँडिराख भनेको हो । तर हिँडिराख्नुको पनि एउटा ध्येय, उद्देश्य हुन्छ । यो संस्कृत शब्द जहाँबाट उद्दरण गरिएको हो, त्यहाँ चरैवेतीभन्दा तिमी हिँड्दै गयौ भने मधु प्राप्त गर्छौं; हिँड्दै गयौ भने तिमीले सुस्वादु फल प्राप्त गर्छौ; हिँड्दै गयौ भने सूर्यजस्तै संसारलाई प्रज्वलित पार्दै हिँड्दै जान्छौ भन्ने उल्लेख छ । यसैले क्रान्ति यदि चरैवेती हो भने त्यो चरैवेतीको उद्देश्यको सार्थकता कसरी भेट्टाउने ? सार्थकता कुन बेलामा हुन्छ, कसरी हुन्छ भन्ने प्रश्न नारायण ढकालजीको प्रमुख प्रश्न हो । क्रान्ति त चाहिन्छ, अहिले पनि आवश्यक छ । गर्नुपर्छ । तर त्यो क्रान्ति गर्ने भनेको खाली क्रमभङ्ग गर्नमात्रै हो कि क्रमभंगपछि हुने कुरालाई सुनिश्चित गर्न पनि क्रान्ति गर्ने हो ? त्यसले गर्दा क्रान्तिको विधि र बाटो क्रान्तिपछि सम्भव हुने समाज, रूपान्तरण हुने समाजको परिकल्पनाविना अधूरो हुन्छ भन्ने उहाँको मुख्य सन्देश हो जस्तो लाग्छ ।
अन्त्यमा, एउटा प्रश्न सोध्न मन लाग्छ, के प्रत्येक क्रान्तिको नियति क्रान्तिकै पुनरावृत्तिमात्रै हो ? के प्रत्येक क्रान्तिको नियति क्रान्तिलाई नयाँ दृष्टिले हेर्ने, क्रान्तिको बाटो र लक्ष्य नयाँ प्रकारले निर्धारित गर्ने, अगाडि भएका भूलबाट सिक्ने होइन ? यो प्रश्न पाठकअगाडि आइपर्छ । अर्को प्रश्न के आउँछ भने के क्रान्ति मुखियाको भ¥याङ चढ्ने माध्यममात्रै हो ? नेतृत्वको अर्थात क्रान्तिको नेताले कार्यकर्तालाई चढ्ने माध्यम भ¥याङ बनाउँछ । कार्यकर्ताको सपनाको कुनै अर्थ छैन ? कुनै मूल्य छैन ? यो प्रश्न एकदमै टड्कारो रूपले, साह्रै मर्मश्पर्शी रूपले उहाँले ल्याउनुहुन्छ । यो प्रश्न अहिलेका माओवादीका नेताहरूलाई मात्रै होइन, भोलि आउने माओवादीका नेताहरूलाई, हिजो भएका माओवादीका नेताहरूलाई र अहिले परिवर्तन चाहने सबैलाई हो । यो प्रश्नका साथसाथै अर्को पनि के आउँछ भने के प्रत्येक क्रान्तिमा मुखिया नै चाहिन्छ ? के मुखियाविनाको क्रान्ति सम्भव छैन ? के रूपान्तरण र क्रमभंग सुधारले हुन सक्दैन ? सुधारप्रति प्रतिबद्धता चाहिँदैन, क्रान्तिपछिको प्रतिबद्धता चाहिँदैन ? यस्ता प्रश्नहरू आउँछन् । तपाईंहरू जो यहाँ बसिराख्नुभएको छ, धेरैजसो नेपालका वामपन्थी पार्टीहरूसँग संलग्न हुनुहुन्छ, यहाँहरूले गतिलोसँग सोच्ने प्रश्नहरू हुन् यी ।
यो आख्यानमा जति पात्रहरू छन्, ती पात्रहरू भयंकर ठूलो आशा र सपना लिएर आफ्नो जीवन उत्सर्ग गर्छन्, मर्छन् । केही पनि परिवर्तन हुँदैन । त्यसैले गर्दा रोजा लक्जेम्बर्गको एउटा सानो भनाइ राखेर मेरो भनाइ सिध्याउँछु् । रोजा लक्जेम्बर्गले क्रान्तिको सन्दर्भमा के भनेकी छन् भने A world must be overturned, but every tear that has flowed and could have been wiped away is an indictment. अर्थात् ‘संसारको कायापलट गर्नुपर्छ, तर प्रत्येक थोपा आँसु जुन चुहियो र जसलाई पुछ्न सकिन्थ्यो । त्यो एउटा आरोप हो ।’ यो आरोप मेरो विचारमा उहाँको उपन्यासको अन्तिम प्रश्न हो ।
केही समयअघि प्रा.पिताम्बर शर्माले पुस्तक विमोचनमा बोलेको मन्तव्यलाई कला अनुरागीले प्रस्तुत गरेको सामाग्री ।







