नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी विवादमा आफू अध्यक्ष केपी शर्मा ओलीतिर नगएको बताएका छन् । गत हप्ता गौतम अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी भएका थिए ।

‘एमाले पुनर्स्थापित भएपछि एमाले रोज्नैपर्यो । एमालेको सदस्य हुँ । त्यसो भएर म केही समय पहिले केपीजीले जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा भाग लिन गएँ’ गौतमले भने, ‘धेरै मनिसहरुले बामदेव केपीतिर गयो भने । यो सभामार्फत म जानकारी गराउन चाहन्छु म कुनैतर्फ गएको होइन । म एमाले भएको प्रमाण पेश गर्नको निम्ति गएको हुँ ।’

उपाध्यक्ष गौतमले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसला आएपछि पार्टी एकढिक्का हुने बताएका छन् । पार्टी विवाद समाधान गर्न गठित कार्यदलले त्यसअघि नै सहमति जुटाउन सके अझ राम्रो हुने बताए ।

नेता गौतमले आफ्नो पार्टीभित्रको विवादलाई ‘ठूलो घरको ठूलै चहलपहल’ भनी टिप्पणी गरे । ‘ठूलो घरको ठूलै चहलपहल । राम्रो भए पनि राम्रो नराम्रो भए पनि । ठूलो पार्टी भएको नाताले कहिले नेकपा एमाले, कहिले नेकपा, अहिले नेकपा एमाले भएर प्रकट भएका छौं’ उनले भने ।

तथापि, एकपछि अर्को अराजनीतिक क्रियाकलाप, संविधान र ऐन नियमहरु कुल्चिने काम भएकाले शिर निहुर्‍याउनुपर्ने अवस्था आएको पनि उनले बताए ।

पार्टी विवाद समाधानका लागि आफूले भूमिका निर्वाह गर्न नसकेको गौतमले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार