
सद्दे मान्छे पनि
जव पागलटारको रैथाने बन्छ
त्यसपछि काम गर्न छोड्छ दिमागले
बिस्तारै बिस्तारै त्यो पागलमा बदलिन्छ
अब पागलटारमा वालुवा छैन
छ त केवल पागलहरूको चहलपहल ।
पागलटार
मान्छेको आशुको चिया पिउँछ
पसिनाको खाजा खान्छ
र रगतको खाना खान्छ ।
पागलटारका पागलहरू
हरेक दिन जाल बुन्छन्
मान्छे फसाउने जाल
चारैतिरबाट खेरेर
कसरी शिकारलाई जालमा पार्ने
धेरै पुरानो अनुभव छ ऊसँग ।
पागलटारका पागलहरू
दिनभरी शिकार गर्छन्
साँझ शिकार गनेर सुत्छन्
बिहान फेरि शिकार खेल्न
साइरन बजाउदै हिड्छन् ।
पागलटारको पाकशालामा
देशको गिदी पाक्छ
गरीवका सपनाहरू पाक्छन्
मान्छेका मुटु, कलेजा र ह्याकुला
भुटन ,साँप्रा र राजखानी
थरी थरीका परिकार पाक्छन्
ती सबै परिकारहरूले घेरिएर
पागलटारमा दैनिक भोज भतेर चल्छ ।
पागलटारका पागलहरू
कहिले झण्डा उचालेर गीत गाउँछन्
कहिले झण्डाकै लगौंटी लगाउँछन्
कहिले लगौंटी खोल्छन्
र त्यसैले मुख छोप्छन् ।
पागलटारका पागलहरू
कैले दक्षिण फर्केर ढोगिरहेका हुन्छन्
कैले उत्तर फर्केर
कैले पश्चिम फर्केर ढोगिरहेका हुन्छन् ।
पागलटारका पागलहरू
जनताका भावनामाथि
एउटा खुट्टा उचालेर पिसाव फेर्छन् ।
पागलटारका पागलहरू
कैले देशको नक्सा फिँजाउछन
र नक्शामा नाक जोड्छन्
कैले नक्शा फिँजाउछन्
र नक्शाबाट नाक झिक्छन्
कैले नक्शा घर घरमा टाँस्नु भन्छन्
कैले नानी बाबुहरूलाई हेर्न नदिनु भन्छन्
पागलटारका पागलहरू अनेकविधि गर्छन् ।
देश, बिग्रिएको घडीझैं भएको छ
पागलटारका पागलहरू
घडीका सुईहरू हातले घुमाउँछन
र देश चलाएको गफ दिन्छन्
पागलटारका पागलहरू
कैले बेस्सरी हँसाउँछन्
कैले बेस्सरी रुवाउँछन्
कैले चङ्गा कैले गंभीर
कैले शान्त कैले क्रुध्द बनाउँछन् ।
पागलटारका पागलहरू
अरुलाई पाखे र पागल सोच्छन्
आफूलाई संसारकै सद्दे संझन्छन् ।
२०७७-०६्-०८
भक्तपुर







