नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकार र विप्लव नेकपाबीच भएको सहमति कार्यान्वय हुने प्रतिबद्धता जाहेर गरेका छन् ।

बुधवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव विप्लवबीच भएको छलफलमा प्रचण्डले यस्तो धारणा राखेका हुन् । भेट प्रचण्ड निवास खुमलटारमा भएको थियो ।

ओली सरकारसँग भएको तीन बुँदे सहमतिअनुरुप विप्लव नेकपाले आफ्ना बन्दीहरूको रिहाइको माग गर्दै आइरहेको छ । भेटमा विप्लव नेकपाका अर्का नेता धमेन्द्र बास्तोला पनि सहभागी थिए ।

‘विप्लव कमरेडले प्रचण्डसँग पूर्ववत् सरकारले आफूहरूसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्छ कि गर्दैन भनेर चासो व्यक्त गर्नुभयो,’ बास्तोलाले भने, ‘धेरै नेता कार्यकर्ता रिहाइ हुन बाँकी छन् । त्यसबारे पनि छलफल भयो ।’ विप्लवको जिज्ञासाको जवाफमा प्रचण्डले वर्तमान सरकारले यसअघि गरेको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको पनि बास्तोलाले जानकारी दिए ।

आजको भेटमा देशमा भएको पछिल्लो राजनीतिक उथलपुथलको बारेमा पनि छलफल भएको उनले बताए ।

प्रचण्ड नेतृत्वको माओवादीबाट विद्रोह गरेर भूमिगत राजनीतिमा लागेका विप्लवले लामो समयपछि प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार