
केपी ओली सत्ताबाट बाहिरिएसँगै उनको समूहका सांसदले कित्ता परिवर्तन गर्न थालेका छन् ।
यही सिलसिलामा ओली क्याबिनेटका एकजना पूर्वमन्त्री आफूलाई मन्त्री बनाउन माग गर्दै शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेको खुलासा भएको छ ।
बूढानीलकण्ठ पुगेका ती एमाले सांसदले देउवालाई भने, ‘तपाईले विश्वासको मत त लिनैपर्छ, त्यसबेला म केपी ओलीतिरका ८ जना सांसदलाई फ्लोर क्रस गराएर भोट हाल्न लगाउँछु, यस वापत मलाई पनि सरकारमा सहभागी भएर जनताको सेवा गर्ने अवसर मिलाइदिनुपर्यो ।’
ओली क्याबिनेटमा काम गरेका ती पूर्वमन्त्रीले देउवासँग भने, ‘तपाईलाई एमालेका सांसदको मत चाहिन्छ भने ठिकै छ, चाहिँदैन भने म केही भन्दिनँ ।’
ओली समूहबाट कित्ता परिवर्तन गरेर मन्त्री बन्ने दौडमा लागेका ती एमाले सांसद ओली क्याबिनेटको मन्त्री बनेका बेला विभिन्न अभिव्यक्तिका कारण विवादमासमेत तानिएका थिए ।
प्रधानमन्त्री देउवाले नेकपा एमालेको कोटाबाट मन्त्री बनाउँदा माधव नेपालको सिफारिसअनुसार मात्रै मन्त्रीको छनोट गर्ने भएकाले ओली पक्षका ती सांसदले मन्त्री खान पाउने सम्भावना चाहिँ न्यून छ ।







