
राजनीतिक भेटवार्तालाई निरन्तरता दिनेक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज शुक्रबार पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्।
पार्टीका नेता धर्मेन्द्र बाँस्तोलाका साथ जनयुद्ध कालका सहयोद्धा डा. भट्टराई भेट्न विप्लव शुक्रबार बिहान टोखास्थित भट्टराई निवास पुगेका हुन्।
ओली सरकारसँग ३ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले ओली सत्ताच्युत हुनासाथ अन्य कम्युनिस्ट नेताहरूसँगको भेटवावार्तालाई तीव्रता दिइरहेका हुन्।
यसअघि बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई उनकै निवास (खुमलटार) पुगेर भेटेका विप्लवले हिजो बिहीबार एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग उनकै निवास (कोटेश्वर) पुगेर भेटवार्ता गरेका थिए। त्यस क्रममा प्रचण्ड पनि सहभागी भएका थिए।
सर्वाेच्च अदालतको फैसलापछि प्रतिनिधि सभा पुनःस्थापना एव ओली सरकार ढलेको, नयाँ सरकार बनेको तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा माधव नेपाललाई ठाउँ नभएको घोषणा गरेको पेचिलो राजनीतिक परिस्थितिमा भइरहेको कम्युनिस्ट नेताहरूको यो भेटघाटनलाई महत्त्पूर्ण रूपमा हेरिएको छ।







