क्युबामा केही दिन अगाडि सडकमा आन्दोलन भए । केही स्वतस्फुर्त रुपमा केही अमेरिकी उक्साउटमा भइरहेका थिए । त्यसपछि क्युबाली राष्ट्रपति आफैं सडकमा पुगे । जनतालाई संवोधन गर्नथाले । उनैं क्युबाली राष्ट्रपति डाएज कानलको क्युवाडिबेटमा प्रकाशित भाषणको सम्पादित अंश ।

हाम्रा (क्युवाली) जनतालाई आजको परिस्थितिको जटिलताबारे बुझाउन हरेक क्षण हामी इमानदार छौँ, हामी पारदर्शी छौँ र हामी प्रष्ट छौँ । म स्मरण गराउन चाहन्छु – आजभन्दा साढे एक वर्षअघि सन् २०१९ को दोस्रो चौमासिकमा क्युवा अब असहज परिस्थितितिर प्रवेश गर्न लागेको भनी हामीले जानकारी दिनुपरेको थियो । … त्यसयता क्युवाको अवस्था संरा अमेरिकाको ट्रम्प सरकारले थप नाकाबन्दी थोपरेको कारण निम्त्याएको जटिल अवस्थामै छ ।

संरा अमेरिकाले क्युवाली अर्थतन्त्रलाई अँठ्याउने हेतुले निषेधात्मक निर्णयहरू सघन बनायो, नाकाबन्दीलाई अझ कडा तुल्यायो र ऊर्जा क्षेत्रमा वित्तीय तगारो तेर्सायो । यसो गर्दा आफूले चाहेको जस्तो ठुलो सामाजिक विखण्डन उछालिने उनीहरूले अपेक्षा गरे । त्यस्तो सामाजिक विखण्डनमार्फत् सत्ता परिवर्तनको सम्भावनाको बिजारोपण गर्ने उनीहरूको लक्ष्य थियो । संरा अमेरिकासँग अन्य देशमा यही तरिकाबाट सत्ता परिवर्तन गरेको अनुभव पनि छ । सत्ता परिवर्तनको शिलशिलामा निम्तिने अवस्थालाई मानवीय सङ्कटको बहानामा सैनिक हमला र हस्तक्षेप गर्ने उनीहरूको सोच हो । जसले क्युवाली जनताका अधिकार, क्युवाको सार्वभौमिकता र स्वाधीनतालाई प्रभावित बनाउँछ ।

यस्तो परिस्थिति अद्यापि चालु छ । ट्रम्पले त्यही बीचमा नाकाबन्दी कडा बनाउने, रेमिट्यान्ट क्युवामा पठाउन निषेध गर्ने आदि २४३ वटा निषेधात्मक निर्णय ग¥यो । अन्ततः उनीहरूले क्युवालाई आतङ्कवादलाई टेवा दिने देशको सूचीमा सूचीकरण ग¥यो । संरा अमेरिकाले आफूलाई संसारकै सम्राट ठानेर क्युवाविरूद्ध त्यस्तो झुटो, अवैध र एकपक्षीय सूची सार्वजनिक ग¥यो ।

यस्ता धेरै निर्णयले क्युवाका वैदेशिक मुद्राका विभिन्न स्रोत जस्तै पर्यटन, क्युवामा आउने क्युवाली–अमेरिकीले गर्ने खर्च, रेमिटेन्स आदि तत्काल बन्द भए । क्युवाली चिकित्सक टोली र क्युवालाई प्रदान गर्दै आएको सहायताको बद्नाम गर्ने योजना बुनियो । चिकित्सक सहायताको लागि आवश्यक खर्च पनि क्युवाले चिकित्सक सहकार्यबाट नै उठाउँदै आएको छ ।

यस्ता सबै अवस्थाले क्युवामा अभावको अवस्था बन्यो । विशेषतः खाना, औषधि, कच्चा पदार्थ र अन्य आपूर्तिमा अभाव भयो । फलतः क्युवाको आर्थिक र उत्पादनशील प्रक्रियामा अवरोध सिर्जना भयो । क्युवाको निर्यात व्यापार पनि प्रभावित बन्यो । दुई वटा क्षेत्रमा प्रस्ट प्रभाव पा¥योः निर्यात गर्ने क्षमता र स्रोत लगानीको क्षमता । उत्पादन प्रक्रियामा पारेको प्रभावले क्युवाली जनताको लागि आवश्यक वस्तु र सेवालाई पनि प्रभावित बनायो ।

हामीसँग इन्धन र अन्य पाटपुर्जा सीमित मात्रामा मात्र उपलब्ध थियो । त्यसले पनि जनताको असन्तोषको उचाइ बढायो । हामीले विगतमा समाधान गर्दै आएका समस्या पनि अहिले समाधान हुन सकेन । त्यही मौकामा क्युवाको बद्नाम गर्ने भयानक प्रचारबाजी गरियो । पार्टी, सरकार र जनताबीचको एकतामा भाँजो हाल्न नयाँ–नयाँ लडाईँका शैली अपनाइए । सञ्चारमाध्यमले क्युवाली जनताका आवश्यकता पूरा गर्न क्युवा सरकार अक्षम र अपर्याप्त भएको भनी चित्रण गरे । संरा अमेरिकाले भने आफ्नो पछि लागेमात्र क्युवाजस्तो देशको भलाइ हुन सक्ने आशय प्रचार ग¥यो ।

यो सबैलाई थाहा भएको पाखण्ड हो । क्युवामा संरा अमेरिकी संलग्नताको इतिहासदेखि नै उसको दोहोरो मापदण्ड सर्वविदित कुरा हो । उनीहरूले कसरी हाम्रो देशमाथि हस्तक्षेप गर्दै आयो । सन् १९०२ मा उनीहरूले हाम्रो देशमाथि कब्जा जमाए, उनीहरूले कसरी हाम्रो देशमाथि नक्कली गणतन्त्रको समयमा आफ्नो कब्जा कायम राखे र क्युवाली क्रान्तिको विजयले उनीहरूको स्वार्थ कसरी छिन्नभिन्न बनायो ?

क्युवाली क्रान्ति उनीहरूको निम्ति बितेका ६० वर्षदेखि आँखामा परेको धुलो बन्दै आएको छ । क्युवाली क्रान्तिमाथि उनीहरूको हस्तक्षेप लगातार बढ्दै गएको छ । उनीहरूले क्युवामाथि अन्यायपूर्ण, आपराधिक र क्रुर नाकाबन्दी त थोपर्दै आएका छन् । महामारीको अवस्थामा नाकाबन्दी अझ सघन बनाइएको छ । नाकाबन्दी नै विभिन्न विकृतिको जड बनेको छ । संरा अमेरिकाले क्युवामा जस्तो नाकाबन्दी अरू कुनै पनि देशविरूद्ध थोपरेको छैन न त उसका प्रमुख शत्रु मानिएको देशमा नै यस्तो नाकाबन्दी थोपर्न सकेको छ ।

प्रस्टतः एउटा सानो टापु देशलाई अँठ्याउने नै उनीहरूको नीति हो । जब कि क्युवाको एउटै चाहना भनेको आफ्नो स्वाधीनता र सार्वभौमिकता रक्षा गर्ने र आत्मनिर्णयको अधिकारसहितको समाज स्थापना गर्ने हो । क्युवामा भएको बृहत् र प्रजातान्त्रिक अभ्यासमार्फत् ८६ प्रतिशतभन्दा बढी क्युवाली जनताले यही कुरामा समर्थन जनाएका छन् । केही वर्षअघि क्युवाली गणतन्त्रको संविधान अनुमोदन गर्ने क्रममा हामीले यी सिद्धान्तमा समर्थन जनाएका हौँ ।

यस्तै परिस्थितिबीच महामारीको लहर आयो । महामारीले क्युवालाई मात्र होइन, संरा अमेरिकालगायत सिङ्गो संसारलाई प्रभावित बनायो । त्यसले धनी देशलाई पनि दुःख दियो । यो कुरा भन्नैपर्छ–महामारीको सुरूवातमा न त संरा अमेरिका न त अरू कुनै पनि धनी देशसँग यसको प्रभावको सामना गर्ने क्षमता थियो । पहिलो विश्वका देशहरूमध्ये अधिकांशसँग प्रशस्त धन थियो । उत्तम स्वास्थ्य प्रणाली थियो । सघन उपचार कक्षहरू थिए । तर, ती कुनैले पनि काम गरेन । गरिबहरू सबभन्दा बढी पिरोलिए किनभने धनी देशहरूसँग गरिब जनताको जीवन सहज बनाउने लक्ष्यसहित कुनै सार्वजनिक नीति थिएन । महामारीको मुखमा धेरै सूचाङ्कले ती देशहरू धेरै पक्षमा क्युवाभन्दा पछि रहेको देखियो ।

हामी यसरी नै अघि बढिरहेका थियौं । हामीले जनता, वैज्ञानिक र स्वास्थ्यकर्मीहरूको त्यागको कारण महामारी र नयाँ लहरहरू सामना गर्न अथाह क्षमता विकास गर्न सफल भयौँ । सिङ्गो क्युवा यो अभियानमा एकजुट भएर लाग्यो । हामीले पाँचथरी खोप बनायौँ । तीमध्ये एकथरी खोपलाई त आवश्यक विश्वव्यापी मान्यता प्राप्त पनि भइसकेको छ । क्युवाले बनाएको त्यो खोप ल्याटिन अमेरिकामै बनेको पहिलो कोभिड–१९ प्रतिरोधी खोप बनेको छ । क्युवाले आप्mना जनतालाई खोप लगाउन थालिसकेको छ । प्रक्रिया पूरा गर्ने क्रममा मात्र केही समय लम्बिएको हो । खोप पनि उत्पादन गर्नुपर्छ । आज संसारमा सबभन्दा बढी खोप लगाएका देशहरूमध्ये क्युवा पनि पर्दछ । केही साताभित्र क्युवाको कुल जनसङ्ख्याको २० प्रतिशतले खोप लगाइसकेको हुनेछ । यद्यपि यो क्रम भने चालु नै रहनेछ ।

पछिल्ला महिना सङ्क्रमण अझ बढी आक्रामक बन्यो । त्यसकारण अझ धेरै मानिसलाई भाइरस सङ्क्रमण फैलिएको छ । यस्तो अवस्थामा जटिलता निम्त्याउने समूह सक्रिय भए । प्रथमतः सङ्क्रमण यति तीव्र गतिमा फैलिरहेको छ जसले हामीसँग भएको स्वास्थ्य पूर्वाधारलाई उछिन्न खोजिरहेको छ । त्यसकारण हामीले नयाँ नयाँ स्वास्थ्य केन्द्रहरू खोल्नुपर्ने भएको छ । त्यस्ता थप केन्द्रहरू खोल्दा हामीसँग उपलब्ध विद्युत् ऊर्जाको खपत पनि तिनलाई नै प्राथमिकताका साथ दिनुपरेको छ । विद्युत् ऊर्जा अभावबीच यसरी विद्युत् खपत बढ्दा हामी थप लोडसेडिङको मारमा परेका छौँ । कोभिडका बिरामीहरूको उपचारको निम्ति हामीले बढी विद्युत्त् उर्जा खपत हुँदा धेरै समस्या निम्तिएका छन् । तीमध्ये पनि लोडसेडिङ सबभन्दा तड्कारो समस्या हो किनभने हामीले विद्युत् उत्पादन क्षमतालाई पुनःस्थापना गर्नै बाँकी छ । पछिल्ला दिनमा यस्तो अवस्थाले जनतालाई आजित बनाएको छ । जनताबीच गलत समझदारी बढेको छ र जनताका चासो र अपेक्षामा धक्का पुगेको छ ।

बिरामीको सङ्ख्या बढेसँगै औषधिको खपत पनि बढेको छ । हामीसँग भण्डारमा रहेको औषधि पनि कम हुँदै गयो । नयाँ औषधि थप्ने सम्भावना पनि क्षीण बन्दै गयो । यस्तो परिस्थितिमा हामीले हाम्रो इच्छाशक्तिको भरमा मात्र काम गर्नुको विकल्प रहेन । सबै कुराको विचार गरी एकअर्काको निम्ति काम गर्ने भावनाले काम गर्न थाल्यौँ । केही प्रान्तमा स्वास्थ्य सेवाको अभावको कारण घरमै बसेर कोभिडका बिरामीको उपचार गर्नुपर्ने अवस्था अनुभव गरिरहेका छौँ । कोभिड–१९ बाट सङ्क्रमित बिरामीको उपचारको निम्ति परिवारका सदस्यलाई नै जिम्मेवार बनाउनुपर्ने अवस्था छ । त्यसो गर्दामात्र महामारीविरूद्धको लडाईँमा जनता थप प्रत्यक्ष र जिम्मेवारीपूर्वक सहभागिता हुनेछन् । क्युवाली जनताले महामारीको प्रतिरोधमा खेलेको रचनात्मक भूमिकाको हामीले जति प्रशंसा गर्दा पनि पुग्दैन । हामीले यी मूल्यमान्यतामा रहेर आपसी जिम्मेवारी र एकता कायम राखी सकेसम्म छोटो अवधिमा खोप लगाएर, जिम्मेवार व्यवहार गर्ने, स्वास्थ्य नियमको पालना गर्ने, सामाजिक दूरी कायम गर्ने नियमको पालना गरे ढिलो चाँडो महामारीको उचाइबाट हामी ओर्लिन सक्छौँ । क्युवामा मात्र होइन, संसारभर यो नियम लागु हुन्छ ।
क्युवामा हामीले गर्न सम्भव सबै काम गरेर महामारीको उचाइलाई केही पछि धकेल्न सफल भएका छौँ । अब हामी छोटो अवधिमा नै यसलाई पराजित गर्नेछौँ । महामारी सघन रूपमा फैलिरहेका प्रान्तमा सबै रणनीति तय गरी फर्केपछि हामी पुगेको निष्कर्ष यही हो ।

मातानजास र सिएगो डी अभिलाजस्ता प्रान्तका जटिल अवस्थाबीच पनि निकै कायरतापूर्वक, बठ्याईपूर्वक, अवसरवादी पारा र षड्यन्त्रमूलक तरिकाबाट नाकाबन्दीलाई समर्थन गर्ने र सडकमा अमेरिकी नाकाबन्दीको मतियारको रूपमा सेवा गर्नेहरू अहिले मानवतावादी सहायता र ‘मानवताको मार्ग’ बोकेर देखापरेका छन् । उनीहरू किन आए हामी सबैलाई थाहा छ । क्युवा सरकारले अवस्था सम्हाल्न सकेन भन्ने दाबी साथ उनीहरू आएका हुन् । मानौँ कि हाम्रा जनताका समस्या समाधान गर्न उनीहरू हाजिर भएका हुन् ।

यदि तिमीहरू वास्तवमै क्युवाप्रति समर्थन जनाउन चाहन्छौ भने, क्युवाली जनताको त्यत्ति नै चिन्ता लाग्छ भने सबभन्दा पहिले क्युवामाथिको नाकाबन्दी फिर्ता गर । त्यसपछि हामीले के गर्न सक्छौँ, देखाउन सक्नेछौँ । उनीहरू किन नाकाबन्दी हटाउन तयार छैनन् ? नाकाबन्दी हटाउने हिम्मत जुटाउन उनीहरू किन सक्दैनन् ? यस्तो प्रतिकूल परिस्थितिमा एउटा सानो देशमाथि यस्तो नीति लागु गर्ने विदेशी सरकारलाई समर्थन गर्ने उनीहरूको नैतिक र कानुनी आधार के हो ?
के यो आम नरसंहार होइन ? के यो मानवताविरोधी अपराध होइन ? उनीहरूले हामीलाई तानाशाहको आरोप लगाउँछन् । कस्तो अचम्मको तानाशाही व्यवस्था जसले आफ्नो सम्पूर्ण जनताको स्वास्थ्योपचारको हेरचाह गर्छ, सबैको भलाई सोच्छ । त्यही भएर प्रतिकूल अवस्थाबीच सबैको भलाइमा आधारित कार्यक्रम र सार्वजनिक नीति क्युवाले बनाउन सफल भएको छ । क्युवामै बनेको क्युवाली खोपबाट क्युवाली जनतालाई कोरोनाबाट जोगाउन चाहना राख्ने तानाशाही ¤ हामीलाई थाहा छ–हामीलाई कसैले पनि खोप दिने छैन । अन्तर्राष्ट्रिय बजारमा गएर खोप किन्न हामीसँगै पैसा पनि छैन ।

आज उनीहरू हामीलाई हत्यारा भन्दै चिच्याइरहेका छन् । क्युवामा हत्या गरिएका मानिस कहाँ छन् ? उनीहरू कहाँ हराए ?

महामारीको उचाईमा क्युवाले जस्तै समस्या सामना गरिरहेका देशहरूलाई कर्पोरेट सञ्चारमाध्यमले किन क्युवालाई जस्तो निशाना बनाएका छैनन् ? उनीहरूले किन ‘मानवीय हस्तक्षेप’को समाधान सुझाइरहेका छैनन् ? उनीहरूले हाम्रोविरूद्ध जस्तो बदनामीको अभियान चलाइरहेका छन्, अरूको विरोधमा त्यस्तो अभियान चलाइरहेका छैनन् ।

जीवन, इतिहास र तथ्यले त्यसका अन्तरनिहित कारण देखाइरहेको छः क्युवाको क्रान्तिको घाँटी अँठ्याएर क्रान्ति समाप्त गर्न यी सबै काम गरिएको हो । त्यसकारण जनतालाई भ्रममा राखेर उनीहरूलाई निरूत्साहित बनाउन खोजिरहेका छन् । हामी जस्तो निर्मम परिस्थितिमा बाँचिरहेका छौं, त्यस्तो परिस्थितिमा आज सान एन्टोनिओ डे लस बानोसमा भए जस्तो घटना हुनु स्वाभाविक हो । (सान एन्टोनिओ डे लस बानोसमा जनताको प्रदर्शन भएको थियो ।)

सान एन्टोनिओ डे लस बानोसमा सहरको मुख्य पार्कमा केही मानिस जम्मा भएर विरोध प्रदर्शन गरे र आफ्ना माग अघि सारे । ती मानिस को हुन् ? ती मानिसहरू केही अभाव र कठिनाइ सामना गरिरहेका जनता हुन् । उनीहरू अलमलमा परेका क्रान्तिकारी जनता नै हुन् । उनीहरू आफ्ना असन्तोष त्यसरी पोखिरहेका थिए । दुई समूहमा मानिसहरूले दुई भिन्न तरिकाले प्रदर्शन गरेका थिए । उनीहरूले आफूले सामना गरिरहेका समस्याका कारणबारे प्रस्टिकरण खोजेका थिए । उनीहरूमाझ गएर मैले भनेको पहिलो कुरा ‘म क्रान्तिकारी हुँ’, ‘म क्रान्तिलाई समर्थन गर्छु ।’

अरू केही मानिसहरू थिए जो सामाजिक सञ्जालमा आएका यस्ता अभियानका पछि लागेर उत्तेजना फैलाउने मानिसको पछि लागेका थिए । एसओएसमातान्ज अथवा एसओएसक्युवाले क्युवाका विभिन्न सहरमा यस्ता खालका प्रदर्शनको अगुवाइ गरेका थिए र उनीहरूले सामाजिक अस्थिरता निम्त्याउन खोजेका थिए ।
यो त ज्यादै आपराधिक भयो । ज्यादै क्रुर । महामारीको समयमा आफूलाई जोगाउन घरभित्र बसेका मानिसको जीवन रक्षा गर्ने समयमा यस्ता गतिविधि हुनु ठुलो अपराध र क्रुरता हो । क्रान्तिले जनताको सेवा गर्छ भन्ने भावनाका साथ सान एन्टोनिओ डल लस बानोसका क्रान्तिकारी, प्रान्तीय सरकार र देशको नेतृत्वमा रहेका कमरेडहरूको समूह आफै सान एन्टोनिओ डे लस बानोसमा सहभागी थिए ।

उनीहरूले प्रतिक्रान्तिकारीहरूको सामना गरे । हामीले क्रान्तिकारी जनतासँग संवाद ग¥यौँ । उनीहरूमध्ये कोही गैरक्रान्तिकारी पनि थिए । हामीले उनीहरूलाई भएको कुरा बतायौँ । अनि हामी मिलेर प्रदर्शन ग¥यौँ । सडकमा प्रदर्शन गर्दै हामीले क्युवा क्रान्तिकारीहरूको भएको देखायौँ ।

यी सबै घटना भइरहँदा क्युवाका अन्य सहर र चोकमा पनि केही मानिसहरू गलत नियतका साथ भेला भइरहेको थाहा पायौँ ।

सरकार संवादको लागि राजनीतिक रूपमा इच्छुकमात्र होइन, आफै प्रदर्शनमा सहभागी बन्न पनि चाहन्छ । हामी हाम्रो सार्वभौमिकता कदापि पनि छोड्ने छैनौं न त यो देशको स्वाधीनता नै त्याग्ने छौँ । क्रान्तिलाई फाल्न उनीहरूले चाहेको हो भने हाम्रो लासमाथि टेकेर उनीहरू अगाडि बढ्नुपर्नेछ ।
नेपाली अनुवादः सुशिला

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार