बलकै आगो ताप्छन् सबैले !
निभेको वा निभ्नै लागेकोलाई त
पानी नै खन्याएर निभाउँछन् तिनैले !तर विडम्बना,
आफू बडो कर्मठ र कर्तब्यनिष्ठ करार गर्छन् आफूलाई आफै तिनैले !
अझ त्यागी, तपस्वी, तेजस्वी र यशस्वी
समेत दावी गर्छन् आफै तिनैले !
अनि आफूलाई निकै जान्नेसुन्ने र अगुवापछुवा ठान्ने-भन्नेले पनि
तिनै कथित त्यागी, तपस्वीलाई हाई हाई गर्छन्
र निभेको आगोलाई बाल्न खोज्नेहरुलाई नै
उल्लू ठान्छन्,
जोकर सम्झन्छन्
र मूर्ख नै करार गरिदिन्छन् !
तर साँच्चिकै मूर्खलाई,
असली उल्लूलाई
र वास्तविक जोकरलाई भने
भगवान ठानिदिन्छन्,
नायक-महानायक भनिदिन्छन्
र बार-बार तिनको पूजा, प्रशंसा, प्रमोसन र पदस्थापनमा भजन पनि गाइदिन्छन् !
अनि आफूलाई
हनुमान, गणेश र दलालहरुमा परिणत गरेर बादशाहको पछि-पछि लावालस्कर लागेर जयजयकार गरिदिन्छन् !

किनकी ती वादशाहहरुले कुरा मीठा गर्छन् र राम्रा पनि गर्छन्,
चिल्ला गर्छन् र चर्का पनि गर्छन्,
ठुला गर्छन् र प्रतिबद्धता पनि गर्छन्
र तर्क, वितर्क, कुतर्क गरेर भ्रमित र चकित पनि पार्छन्
अनि कथित तथ्यांक-मिथ्यांक प्रस्तुत गरेर
मोहित नै पार्ने गर्छन्
तर काम भने उल्टा गर्छन्
विकृत र विसङ्गत गर्छन्
तथापि तिनीहरुकै बोलीमा लोली मिलाउँदै
सोझा भक्तजनहरु,
इमान्दार अनुयायीहरु,
तिनैलाई चन्द्रमा ठानेर आफूलाई चकोर बनाइदिन्छन्
तिनैलाई देवता र राजा-महाराजाहरु मानेर
भक्ती-स्तुति, मानसम्मान र शानशौकत
समर्पण गर्छन् !
र तिनै ढाँट र धूर्तहरु नै
तिनै छलीकपटीहरु नै
तिनै ढोंगीपाखन्डीहरु नै
कुरो र कुलोलाई जता पनि मोड्न सक्छन् !
त्यसैले त यहाँ चोरलाई चौतारी चढाइन्छ र साधुलाई शूली चढाइन्छ
र दुष्टको प्रशस्ती गाइन्छ
र इष्टको धज्जी उडाइन्छ !
यसैलाई न्याय, समानता र स्वतन्त्रताको दुहाइ दिइन्छ !
यसैलाई जनवाद र जनतन्त्रको जामा पहिर्‍याइन्छ
र लोकतन्त्र विधिको शासनको उपमा भिराइन्छ !

यसैमा तिनै ढाँट र धूर्तहरुले,
तिनै ढोंगी र पाखण्डीहरुले,
तिनै छली र कपटीहरुले,
तिनै जाली र झेलीहरुले,
तिनै स्वार्थी र षड्यन्त्रकारीहरुले
अर्थात् तिनै भ्रष्ट, दुष्ट र निकृष्टहरुले नै
उल्टै आफू नै
महा ज्ञानी-दानी भएको,
त्यागी-तपस्वी ऋषि-महर्षी भएको,
असल र सफल सन्त-महन्त भएको
र महान् भगवान् भएको दावी गर्छन् !
तर विडम्बना !
त्यही दावीलाई
हामी पत्याइदिन्छौं
र तिनकै वरिपरि
प्रदक्षिणा गर्छौं र दानदक्षिणा दिन्छौं
अनि त्यसैमा आत्मरती र आत्मसंतुष्टी गर्छौं
र त्यसरी नै मुक्ती र मोक्ष प्राप्त गर्नेमा आश्वस्त-विश्वस्त हुन्छौं !

अझ त्यति मात्र होइन,
निभेको आगो बाल्न खोज्नेहरुलाई उल्टै
नोकर, भोंकर र जोकर बनाएर
अबूझ, असक्षम र असफल ठहराएर
हेप्छन्, चेप्छन् र खिसीट्युरी गर्छन्
हँसीमजाक गर्छन् र हाँसोमा उडाउँछन् मानिसहरु !
तर आफूहरु सफल र असल भएकोमा गर्वले पाहा फुलेझैं फुल्छन् तिनीहरु
र फुल्दाफुल्दै कतिबेला बड्याङ्ग फुट्छन् त्यो भने पत्तै पाउँदैनन् उनीहरु !

तैपनी तिनै पाहाहरुका ट्वाँहा-ट्वाँहालाई आहा-आहा-आहा भन्दै
विचार-आचार, नीति-नैतिकता
र कर्तव्य-सर्तब्य सबै भुलेर
बलेकै आगो ताप्छन् सबैले !
तर निभेको वा निभ्नै लागेको आगोलाई बाल्दैनन् कसैले !
तर बलेको आगो ताप्नु भनेको
अल्छिपन हो र कामचोरी हो !
लाछीपन हो र लाचारी हो !!
लम्फू हुनु हो र लम्पट हुनु हो !!!
र यसरी बलेको आगो ताप्दाताप्दै
लेण्डुपपथमा पुग्ने खतरा मोल्नु पनि हो !!!!
***

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार