
प्रचण्डले आफु यो या त्यो ढंगले चर्चामा सधै रहिरहनका निम्ति आफ्नो अफवाहको ब्याट्रीलाई निरन्तर रिचार्ज गरिरहन्छन् । उनले बेलाबेलामा मदन भण्डारीको जस्तै आफ्नो पनि हत्या हुन् सक्ने आशंकाको अफवाह संचार माध्यममा फैलाईरहेका हुन्छन् । मदन भण्डारी हत्या काण्डको पृष्ठभूमि र प्रचण्ड स्वयम् आफैले देखेको आफ्नै हत्याकाण्ड सम्बन्धीको सपनाको पृष्ठभूमि फरक छ ।
क्युवाली क्रान्तिका नायक तथा बोलिभियाली क्रान्तिका अमर शहिद कमरेड चे, चिलीका तत्कालिन जननिर्वाचित रास्ट्रपति कमरेड साल्वादोर एलेन्डे, दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीका तत्कालिन महासचिव कमरेड क्रिस हानिलगायत संसार भरका हजारौ कम्युनिस्ट नेता कार्यकर्ताहरुको हत्या प्रतिक्रियावादीहरुले त्यही सुत्रनुसार गरेका थिए । मदन भण्डारी हत्या काण्ड पनि त्यसैको पछिल्लो कडी थियो भन्दा अन्यथा नहोला ।
दोहोर्याएर भन्न सकिन्छ, मदन भण्डारी हत्याकाण्डपछाडि धेरै स्वार्थ र उद्देश्य लुकेका छन्, त्यसमध्ये निश्चय नै देशी बिदेशी प्रतिक्रियाबादी स्वार्थ पनि एउटा हो । मदन भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनलाई हाक्का हाक्की ख्रुश्चोभीकरण गरेका थिए । कम्युनिस्ट आन्दोलनलाई ख्रुश्चोभीकरण गर्नु भनेको पुँजीवादकै सेवा गर्नु थियो । तर यो कुरा पुराना प्रतिक्रियावादीहरुको बुझाईमा परेन । पुँजीवादले साम्राज्यवादमा फड्को मारेसंगै पूराना प्रतिक्रियावादीको चेतनास्तरको विकास भै उनीहरुको बुझाईमा ,कार्यशैलीमा पनि फरकपना आउनु अस्वभाविक होईन ।
अहिले नयाँ प्रतिक्रियावादीहरुले कम्युनिस्ट पार्टी भनेर साईनबोर्ड झुन्डाएर बसेका सबै कम्युनिस्ट होइनन् भन्ने कुरा राम्ररी बुझेको छ । तीमध्ये कुन चाहि आफ्नो मित्र र कुन चाँही आफ्नो दुश्मन ? उसले सजिलै खुत्याउन सक्छ । पूराना प्रतिक्रियावादीहरुले जस्तो कम्युनिस्ट भन्ने जति सबैलाई एउटैं जातोमा पिस्न नयाँले चाहदैनन् । उनीहरुलाई थाहा छ कम्युनिस्टका खोलभित्र को को बुर्जुवा छन ? उनीहरुलाई थाहा छ शत्रुको भेषमा बसेका कहाँ कहाँ आफ्ना मित्र छन् ? उनीहरुलाई थाहाँ छ क कसले आफुलाई खत्तम गर्न आउदैछ र क कसले आफुलाई अँगालो हाल्न आउदैछ ? उनीहरु राम्ररी बुझ्दछन् क कसले आफ्नो स्वार्थ रक्षाको निम्ति काम गरि रहेकाछन् र क कसले अरुको स्वार्थ रक्षाको निम्ति काम गरिरहेका छन् ?
०४२ देखि ५२ हुदै ०६२ सम्म प्रचण्डमा रहेको उच्च क्रान्तिकारिता ०७८ सम्म आईपुग्दा पूर्णतया स्खलित भैसकेको छ । प्रचण्ड अब छबिलाल हुदै केपी बन्न सक्छन्, सीपी बन्न सक्छन्, बिपी बन्न सक्छन् तर पुन प्रचण्ड बन्न सदैनन् । प्रचण्ड अब ख्रुश्चोभ पथमा हिड्न सक्छन्, गोर्वाचोभ पथमा हिड्न सक्छन्, रायमाझी पथमा हिड्न सक्छन् र कोईराला पथमा हिड्न सक्छन् तर प्रचण्ड पथमा हिड्न सक्दैनन् । यो कुरा दुनियाँभरका प्रतिक्रियावादीहरुले अत्यन्तै राम्रोसंग बुझेका छन् । मान्छे कसैसंग डराउछ भने कसैको जिउदाल देखेर होईन उसले बोकेको बिचारसंग डराउने हो । प्रचन्डले बर्तमानमा बोकेको बिचार भनेको प्रतिक्रियाबादीहरु तर्सने र डराउने बिचार होईन बरु उनीहरु खुशी हुने र हौसिने बिचार हो । अनि प्रतिक्रियावादीहरुले प्रचण्डको हत्या किन गर्ने ? क्रान्तिकारीहरुको डर हो भने ढुक्क भएर स्मरण गरे हुन्छ क्रान्तिकारीहरु व्यक्ति हत्यामा विश्वास गर्दैनन् । आफु रास्ट्रवादी भएको ठहर गरि रास्ट्रघातीहरुको डर हो भने प्रचण्डले भन्दा बढी ज्यानलाई जोखिम भएको अनुभूति केपीले गर्नु पर्दथ्यो किनकि वर्तमानमा सबभन्दा रास्ट्रवादी त उनै होइनन् र ?
मदन भण्डारी हत्याकाण्ड र प्रचण्डको आफ्नै हत्याकाण्ड सम्बन्धी सपनाबीच तुलना के कारणले पनि गर्न मिल्दैन भने मदन भण्डारीले धेरै गर्न बाँकी थियो र उल्टो या सुल्टो ढंगले धेरै गर्ने सम्भावना पनि थियो । काउत्स्की, बर्नस्टाइन र ख्रुश्चोभ, गोर्वाचोभले अघि सारेको विचारहरुलाई भण्डारीले नेपाली सन्दर्भमा प्रयोग गरेर उनी अन्तरास्ट्रिय कदको सोशोयिल डेमोक्र्याटिक नेता बन्ने सम्भावना थियो एकातिर भने अर्कोतिर पार्टीलाई वर्तमान एमालेजनहरुले जस्तै खुल्लम खुल्ला पुँजीवादमा पतन गराएर बद्नाम र गुमनाम हुने सम्भावना पनि उत्तिकै थियो । मदन भण्डारीले यो गर्छ कि त्यो गर्छ भन्ने जनतामा त्रास र आँस दुवै थियो । प्रचन्डले देश र जनतालाई जति गर्न सक्थे त्यति गरिसके अब उनले गर्न सक्ने सम्भावना केही पनि छैन । जनतामा न प्रचण्डबाट आस छ न त्रास ।
मदन भण्डारी हत्या प्रकरणको समय सिमाभित्र उनको लोकप्रियताले हिमाल नाघेको थियो । मलाई सम्झना छ भण्डारीको हत्यापश्चात एक जना विश्लेषकले भनेका थिए भण्डारीका परिवारजन, आफन्त, पार्टी र आम जनमानसमा भण्डारीको भौतिक शरीरको अन्त्य हुनु ज्यादै दुखद कुरा हो तर उनको व्यक्तित्वको सन्दर्भमा उनको जीवनको अन्त्य ठिकै समयमा भएको छ किनकि उनको व्यक्तित्व जहाँ पुगेको थियो त्यहाँदेखि ओरालो झर्ने प्रक्रियाको संकेत देखि सकिइएको थियो मुसो बनेर बाँच्नु भन्दा सिंह बनेर मर्नु नै राम्रो । त्यसकारण मदन भण्डारीको हत्याको विविध कारणमध्ये एउटा उनको लोकप्रियता पनि थियो ।
प्रचण्डको हकमा त्यो कुरा लागु हुदैन । शान्ति सम्झौतादेखि पहिलो संविधानसभाको निर्बाचनको समयलाई नियालेर हेर्ने हो भने प्रचण्डको लोकप्रियतालाई मदन भण्डारीको लोकप्रियतासंग दाज्न सहजै सकिन्थ्यो । त्यतिबेला कसैले कतै नराम्रो घटना गराई हाल्ने त होईन भनेर सतर्क हुनु पनि अस्वभाविक होइन । तर अहिलेको अबस्था त्यस्तो होइन । प्रचण्ड अहिले रोगी, बुढो र ज्यादै कमजोर बाघ बनेका छन् । अवश्य यो अवस्थामा कसले र किन उनको शिकार (हत्या) गर्ने ? मलाई लाग्छ यो कुरा प्रचण्डले अझै बुझेका छन् ।







