
पूर्व माओवादी नेता एवं नेकपा एमालेका नेता रामबहादुर थापा बादल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच शनिबार भेटवार्ता भएको छ ।
भेटमा नेपाल कम्युनिस्ट पार्टीका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए । पूर्वमाओवादी नेता बादललाई भेट्न विप्लव उनको निवासमा पुगेका थिए ।
उनीहरुबीच भएको कुराकानीको विषय सार्वजनिक गरिएको छैन । बादल र विप्लव विगतमा सँगै सशस्त्र युद्धमा सहभागी भएका थिए । तत्कालिन नेकपा माओवादीबाट मोहन वैद्य समूह अलग हुँदा बादल र विप्लव दुवैले वैद्यलाई साथ दिएका थिए ।
तर त्यसको एक वर्ष नपुग्दै विप्लवले अर्को पार्टी गठन गरेर गए भने बादल नेकपा माओवादी केन्द्रमा फर्किए । हाल बादलले माओवादी केन्द्र पनि छाडेर नेकपा एमालेमा रहेका छन् ।
आजैं महासचिव नेत्र विक्रम चन्द विप्लवले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पनि भेट गरेका थिए ।








