
नेकपा एमालेभित्र केपी ओली समुह र माधव नेपाल समुहबीच अन्ततः विभाजन भइछाड्ने भएको छ । माधव नेपालले ओलीको क्षमादानलाई ठाडो रुपमा खारेज गरेपछि विश्लेषकहरुले भन्न थालेका छन्, अब एमाले एक रहँदैन ।
एमाले स्रोतका अनुसार, केपी ओलीले माधव नेपालसँग भेट्न चाहेको एक हप्ता भयो । तर, माधवले केपीको प्रस्तावलाई वेवास्ता गर्दै आएका छन् । केपी–माधव भेट्घाटका लागि सुवास नेम्वाङ र भीम रावलले निक्कै प्रयास गरे । तर, माधवले आफ्ना प्रस्तावहरु स्वीकार गरेर, त्यसलाई कार्यान्वयन गर्ने विश्वसनीय वातावरण नबनेसम्म ओलीसँग नभेट्ने खबर पठाएको बताएको छ ।
गत विहीबार विहानै सुवास नेम्वाङमार्फत केपीले माधवलाई भेट्नका लागि समय मागेका थिए । तर, त्यही दिन दिउँसो पुष्पलाल स्मृति दिवसको एक कार्यक्रममा बोल्दै केपीले एकतामा आउन चाहनेलाई ‘आममाफी’ दिएको भनेपछि माधवले भेट्न चाहेनन् । भोलिपल्ट पनि माधवलाई भेट्नका लागि केपीका दूतहरुले खबर पुर्याए । तर, त्यसदिन ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित कार्यक्रममै ४ बजेसम्म बसेर माधवले केपीको चाहनालाई वेवास्ता गरिदिए । अघिल्लो दिन केपीले घोषणा गरेको ‘आममाफी’ लाई व्यंग्य गर्दै माधवले भने, ‘महाराजधिराजबाट आममाफी हुकुम भयो, हामी खुशीले गद्गद् भयौँ, एमनेष्टी इज ग्रान्टेड…।’
सर्वोच्च अदालतले असार २८ गते गरेको फैसलापछि ओली गुटलाई छोड्ने एमाले सांसदहरुको संख्या बढ्दो छ । माधव नेपाल पक्षलाई दल विभाजनका लागि आवश्यक पर्ने ४० प्रतिशतभन्दा बढी संख्या पुगिसकेको एमाले स्रोतले बताएको छ । ती सांसदहरुले दल विभाजनको गोप्य कागजमा हस्ताक्षर गरिसकेको स्रोतको भनाइ छ । अब कुनै पनि बेला माधव पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता वा दर्ता भएकै दलमध्ये कुनै दलमा प्रवेश गरेको सूचना आयोगलाई दिन सक्ने अवस्था छ ।
यदि, ओली पक्षले संयुक्त हस्ताक्षरको मागलाई यो साताभित्र स्वीकार नगरेको अवस्थामा माधव पक्षले चाल्ने निर्णायक कदममा केही नेताहरु छुट्ने र धेरै नेताहरु अट्ने आंकलन गरिएको छ । ओलीतिर रहेका कतिपय नेताहरु माधव पक्षमा र माधव पक्षका कतिपय नेता ओली गुटमा जाने विषयमा दुवै समूहभित्र अनुमान र सम्भावनाबारे चर्चा हुन थालेको छ ।
माधव पक्षले योगेश भट्टराई, भीम आचार्यसहितका नेता उक्त समूहको निर्णायक कदममा समावेश हुने आशा गरेको छैन । अर्कातिर, ओली पक्षले भीम रावलले माधव नेपाललाई छाड्ने कुराको विश्वास गर्न सकेका छैन । सुरेन्द्र पाण्डेले एमाले र सूर्य चिन्हका नाममा ओली कित्ता रोज्दा चितवनमा जगन्नाथ थपलियाहरुको पेलानमा पर्ने खतरा विद्यमान रहने भएका कारण उनी माधव समूहको निर्णायक कदममा जाने विश्लेषण गरिएको छ ।







