प्रविण अधिकारी दमक, १८ साउन

दार्चुला घटनाको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले आज झापामा विशाल विरोध प्रदर्शन गरेको छ ।

दमकको बसपार्कबाट शुरू भएको विरोध र्‍याली कार्यक्रम पशुहाट, गणतन्त्र चोक हुँदै आकाशेपुल, गोर्खा डिपार्टमेन्ट हुँदै पुनः गणतन्त्र चोकमा आएर कोणसभामा परिणत भएको थियोे । उक्त र्‍यालिमा विभिन्न नारासहितका प्लेकार्डहरू समेत प्रदर्शन गरिएको थियोे । र्‍यालीमा जयसिंहलाई न्याय दे, भारतीय हस्तक्षेप बन्द गर, दलालहरू होसियार, एमसिसी सम्झौता खारेज गर , भारतीय एसएसबी मुर्दावाद, नेपालीहरूको जिबन रक्षा गर , घटनाको सत्यतथ्य छानबिन गर, वैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद लगायतका नारा लगाइएको थियोे ।

उक्त कोणसभालाई नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कार्यालय सचिव संजय राईले सञ्चालन गरेका थिए भने सभालाई केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सुमन लिम्बूले सम्बोधन गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्ने क्रममा पार्टी केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बूले जयसिंह धामीको हत्याको सत्यतथ्य छानबिन गरी हत्यारा एसएसबीलाई हदैसम्मको कारबाहीको माग गर्दै नेपाल र नेपालीमाथि पटकपटक भारतीयहरू हस्तक्षेप हुँदासमेत भारत र अमेरिकी साम्राज्यवादका दलाल नेताहरूले चुँइक्क नबोलेर बसेको बताए । यो सत्ता र यसका सञ्चालक आफ्नो ढंगबाट नभएर विदेशी दलालहरूको इशारामा चलिरहेको बताउँदै यो संसदीय व्यवस्था पुर्ण रूपमा असफल भएको जिकिर गरे।

भारतले आफ्नो नागरिकको हत्या गर्दा समेत सरकारले घटनाको छानबिन गर्न र सत्यतथ्य सार्वजनिक गर्न आलटाल गरेको भन्दै लिम्बूले आफ्नो नागरिक प्रति जिम्मेवारी बोध गर्न नसक्ने शेरबहादुर देउवा नेतृत्वको सरकारको राजिनामा माग गरेका छन्।

नेता लिम्बूले हिजो सुकुम्बासी जनताको भोटबाट जनप्रतिनिधि बनेकाहरू नै आज सुकुम्बासी बस्तिमा डोजर चलाउन लागिपरेको, गरिब, मजदुरहरूमाथि शोषण गरेको र दलालहरूको विरूद्व अब मजदुर सुकुम्बासीले विद्रोह गर्नुपर्ने र त्यसको नेतृत्व पार्टीले गर्ने बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार