
एसएसबीले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका व्याँस, दार्चुलाका जयसिंह धामीबारे सरकार मौन छ। घटना भएको ५ दिनसम्म पनि भारतीय संलग्नताबारे सरकार बोलेको छैन। बरु त्यसविरुद्ध बोल्नेलाई रोक्ने प्रयास गरिरहेको छ।
घटनापछि आएका समाचार र टिप्पणीमाथि जिल्ला प्रशासन कार्यालय दार्चुला र गृहमन्त्रालयले एउटै किसिमको विज्ञप्ति जारी गरेर तत्काल कुनै टिप्पणी नगर्न भने।
गृह मन्त्रालयको छानबिन समिति घटनास्थलतर्फ प्रस्थान गर्दैगर्दा सांसदहरुले भने एक स्वरमा सरकारलाई खबरदारी गरे।
विपक्षी दल मात्रै होइन, प्रधानमन्त्रीकै पार्टीका सांसदले पनि सरकारलाई घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरे। नेपाली कांग्रेसका सांसद गगन थापाले दार्चुलामा एसएसबीले तुइन काटेको घटनामा नेपालले बलियो भएर भारतसँग लड्नुपर्ने बताएका छन्।
दार्चुलामा तुइन काटेर बेपत्ता भएका जयसिंह धामीको केसमा भारतीय पक्षसँग नेपाल सरकारले लड्न सक्छ कि सक्दैन भनेर थापाले प्रश्न गरेका छन्।
कन्चनपुरका गोविन्द गौतमको २०७३ फागुन २६ गते एसएसबीले गोलि हानी हत्या गरेको थियो। त्यतिबेला पनि दलहरुले उक्त घटनालाई सत्ताको दाउपेच मात्रै बनाएका थिए।
उक्त घटनाका पीडितलाई एमालेले ५ लाख रुपैयाँ दिने घोषणा ग¥यो। माओवादीले एक लाख रुपैयाँ बढाएर ६ लाख रुपैयाँ दिने बतायो। कांग्रेसले पनि पार्टीका तर्फबाट एक लाख रुपैयाँ बढी अथवा ७ लाख रुपैयाँ दिने घोषणा गरेको थियो। यसबाहेक सरकारका तर्फबाट १० लाख रुपैयाँ दिइयो। तर भारतीय पक्षसँग भने कुनै पनि सरकारले कुरा उठाउन सकेन।
पीडित परिवारलाई आर्थिक सहायता दिन होडबाजी गरेका दलहरु आफू सत्तामा हुँदा मौन बस्छन्, प्रतिपक्षमा रहँदा पनि भोटका लागि मात्रै बोल्छन् र आफू सत्तामा पुगेपछि भने मुन्टो लुकाउँछन्।
५ वर्षमा भारतीय प्रहरीबाट दुई नेपालीको हत्या भएको छ। यसबाहेक पनि सीमा क्षेत्रमा ज्यादतीका थुप्रै घटना भएका छन्।
कतै भारतीय प्रहरी नेपाल प्रवेश गरेरै कुटपिट गरेको छ भने स्थानीयमाथि मेचीदेखि महाकालीसम्मकै सिमानामा भारतीय पक्षले ज्यादती गरेका घटना निरन्तर सार्वजनिक भएका छन्।
नेपाल–भारतबीच १ हजार ८ सय ८० किलोमिटर लामो खुला सीमा छ। कतिपय स्थानमा सीमांकन स्पष्ट नहुँदा विवाद आउने गरेको छ। खासगरी नेपाली भूभाग भारतले मिच्दै आएको छ भने सिमानाका नेपालीलाई दुख दिने गरेको छ।
दार्चुलाकै माथिल्लो भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतको कब्जामा छ। गत वर्ष भारतले त्यहाँ सडक बनाएपछि दुई देशबीचको सीमा विवाद चर्किएको थियो। नेपालले मिचिएको आफ्नो भूभाग समेटेर संसदबाटै नक्सा जारी गरेपछि दुई मुलुकबीच तिक्तता बढेको हो।
भारतले नेपाललाई समान नठानेका कारण नेपालीमाथि ज्यादती गर्दै आएको सीमाविद् बुद्धिनारायण श्रेष्ठ बताउँछन्।
‘तुइन काटेर नदीमा खसाल्नु भनेको गोली हान्नुभन्दा ठूलो अपराध हो। भारतीय एसएसपीको पुरा दोष छ,’ श्रेष्ठले भने, ‘धामीका परिवारलाई केही लाख रुपैयाँ क्षतिपूर्ति दिएर घटना गुपचुप राख्नु हुँदैन।’
सिमानाका नागरिकलाई सीमाबारे जानकारी गराउनु पर्ने र सशस्त्रको बोर्डर आउट पोस्ट बढाउनु पर्ने सीमाविद् श्रेष्ठको सुझाव छ।







