तालिबानले दोस्रो प्रान्तीय राजधानीमा पनि आफ्नो कब्जा जमाउन सफल भएको छ । अफगानिस्तानमा निरन्तर आफ्नो प्रभाव बढाउँदै लगेको तालिबानले प्रान्तीय राजधानीमा नियन्त्रण कायम गर्ने क्रम जारी राखेको हो ।

उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान शहर आफ्नो नियन्त्रणमा आएको तालिबानले बताएको छ । तर अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि शहरमा रहेको र चाँडै नै तालिबान लडाकुलाई हटाउने बताएका छन् ।

यसअघि शुक्रबार तालिबानले दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्ज कब्जा लिएको थियो ।

ग्रामीण क्षेत्रमा प्रभाव रहेको तालिबानले शहरी क्षेत्रलाई पनि निशाना बनाइरहेको छ । सोही क्रममा शुक्रबार जारान्ज र शनिबार शबरगान नियन्त्रणमा लिएको हो ।

सरकारी सुरक्षा बलका लागि यो गम्भीर धक्का हो । अमेरिकीसहितका विदेशी सैनिकको अन्तिम समूह फिर्ता हुने क्रम जारी रहेका बेला तालिबानले आफ्नो प्रभाव बढाउँदै लगेको छ ।

पश्चिमको हेरात, दक्षिणको कान्दाहर र लश्कर गाहसहितका प्रमुख शहरहरु पनि तालिबानको निरन्तर दबाबमा छन् । ती क्षेत्रमा सरकारी सुरक्षा बललाई नियन्त्रण कायम गरिरहन गाह्रो परिरहेको छ ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय दूत डेब्रा लायन्सले अफगानिस्तानमा जारी युद्ध नयाँ घातक र बिनासकारी चरणमा प्रवेश गरेको शुक्रबार बताएकी थिइन् । गएको महिना मात्रै एक हजार भन्दा धेरै सर्वसाधारणको ज्यान गएको उनले जानकारी दिइन् ।

अफगानिस्तान गम्भीर विपद र विनास तर्फ उन्मुख भएको भन्दै उनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले शहरी क्षेत्रमा भएका आक्रमण तत्काल रोक्नका लागि वक्तव्य जारी गर्नु पर्नेमा जोड दिएकी थिइन् ।

अफगानिस्तानका पूर्व उपराष्ट्रपति अब्दुल रशिद दोतुस्मको प्रभाव रहेको क्षेत्र हो । त्यहाँ तालिबानविरुद्धको युद्धमा उनका समर्थकहरु पनि सहभागी भएका छन् । सरकारी सुरक्षा बललाई सहयोग गर्न १५० जना शहरमा आएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

शुक्रबार नै तालिबान लडाकुले गभर्नरको कार्यालयको परिशर नियन्त्रणमा लिएका थिए । तर त्यसपछि सुरक्षा बलले उनीहरुलाई त्यहाँबाट हटाउन सफल भएको थियो । शनिबार भने तालिबान लडाकुले पूरै शहर आफ्नो नियन्त्रणमा लिएको बताएका हुन् ।

अमेरिकाले २० वर्षदेखि जारी सैन्य अभियान अन्त्य गर्ने घोषणा गर्दै आफ्ना सैनिकहरु फिर्ता लैजान थालेपछि तालिबानको गतिविधि बढेको हो ।

अधिकांश अमेरिकी सैनिक फिर्ता भइसके पनि अमेरिकाले अफगान सैनिकको सहयोगमा हवाई आक्रमण भने जारी राखेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार