
नेकपा एमालेका नेता वामदेव गौतमले अध्यक्ष केपी ओली प्रति आक्रमक रुपमा पेश भएका छन् ।
एमाले केन्द्रीय समिति बैठकअघि ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको हलमा आयोजित बैठकमा गौतम ओलीप्रति आक्रमक भएका हुन् ।
गौतमले आफ्नो धारणा राख्दै यसबीच पार्टी अध्यक्षले मनपरी गरेका विषयलाई उठाएका थिए ।
विधान संशोधन प्रस्तावमा ‘अध्यक्षका यी अधिकारहरू’ भन्ने शीर्षकमा केही अधिकार थप्नुपर्ने कुरा गौतमले उठाए । त्यसमा उनले ‘हाम्रो पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार हुनेछ’ र ‘पार्टी अनुशासनात्मक कारबाही’ शीर्षकअन्तरगत पनि केही बुँदाहरु थप्नुपर्ने भन्दै व्यंग्य गरेका थिए ।
‘पार्टी अनुशासन उल्लङ्घन गर्नेहरूमध्ये प्रकृति हेरेर कतिलाई अपराधी भन्न सकिनेछ, कतिलाई गद्दार भन्न सकिनेछ र कतिलाई देशद्रोही पनि भन्न सकिनेछ’ यो प्रस्ताव पनि थपौँ गौतमले भनेका थिए ।
गौतमले के सन्दर्भमा यो विषय उठाए भने कम्युनिस्ट पार्टीमा माथि उल्लेख भएका विषयहरू कुनै पनि देशका कुनै पनि कम्युनिस्ट पार्टीका विधानमा उल्लेख हुँदैनन् र आरोप पनि लगाइँदैन ।
‘अहिले नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्यक्ष केपी ओलीले माधव नेपाललाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही पनि भन्नुभयो । अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा व्यवस्था गर्नुप–यो’, गौतमले बैठकमा भने, ‘बोल्नुहुँदैन भने किन बोल्नुभयो ? यस्तो मनपरी गर्न पाइँदैन ।’
गौतमले पार्टीमा कसैले गल्ती ग–यो भने राजनीतिक कारबाही हुने भन्दै अध्यक्षले नै गल्ती गर्दा कारवाही हुने कि नहुने भन्दै थप प्रश्न गरेका थिए । वामदेवले यस्तो धारणा राख्दा स्थायी कमिटी बैठकस्थल सन्नाटा छाएको थियो ।
स्थायी कमिटीमै खटपट परेपछि गौतम केन्द्रीय कमिटीको बैठकमा सहभागी नभई घरतिर लागेको एक नेताले जानकारी दिए ।







